काठमाडौँ । झण्डै पाँच वर्ष पछि हुन थालेको गैँडाको राष्ट्रिय गणनाको तयारी अन्तिम चरणमा पुगेको छ । यस अघि सन् २०१५मा गणना गरिएको थियो । त्यस बेला नेपालमा ६४५ वटा गैँडा रेकर्ड गरिएका थिए ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक डा. दिपक खरालका अनुसार यही चैत ९ गते चितवन पर्सा कलष्टरबाट गैँडा गणनाका लागि तयारी अन्तिम अवस्थामा पुगेको छ । गणनाको शुभारम्भ विशेष समारोहको साथ गरिने भएको छ ।
गणना शुभारम्भ समारोहलाई वन तथा वातावरण मन्त्री प्रेम आले र वन सचिव डा. विश्वनाथ ओलीले सम्वोधन गर्ने र संरक्षण साझेदार संस्था, सुरक्षा निकायका प्रमुखको पनि उपस्थिति रहने कार्यक्रम रहेको छ । पर्सा राष्ट्रिय निकुञ्जको प्रतापपुरबाट गणनाको शुभारम्भ गरिने कार्यक्रम रहेको महानिर्देशक डा. खरालले बताए ।

विभागको एक टोली बुधवार नै चितवन पुगिसकेको छ । विभागका इकोलोजिष्ट हरिभद्र आचार्यको नेतृत्वमा खटिएको प्राविधिक टोलीले चितवन राष्ट्रिय निकुञ्जलाई आवश्यक सहयोग, समन्वय गरेर गणनाको अन्तिम तयारीको व्यवस्थापन गर्ने भएको छ । गैँडा पाइने बर्दिया राष्ट्रिय निकुञ्जमा चैत १७ गतेबाट र शुक्लाफाँटामा १९ गतेबाट सुरु गरिने निकुञ्ज विभागले जनाएको छ ।

हामी तयारी अवस्थामा छौँ
बिष्णुप्रसाद श्रेष्ठ
प्रमुख, बर्दिया राष्ट्रिय निकुञ्ज
बर्दियामा चितवन भन्दा अलि दिनपछि गणनाको कार्य हुने कार्यक्रम रहेको छ । केही दिनदेखि बाघले मानवीय क्षति पुगेको घटनाले केही समय त्यतैतर्फ खर्चिनु परेको छ । एउटा बाघलाई डार्ट गर्न सफलता मिलेपनि अर्काे स्थानको समस्याग्रस्त बाघलाई समात्ने कोशिस गरिरहेका छौँ । यद्धपी हामीले गैँडा बस्ने क्षेत्रको पहिचान, गरिसकेका छौँ । ती क्षेत्रहरुमा हाम्रो निरन्तर अनुगमनमा भइरहेको छ । विभागको निर्देशन बमोजिम हामीले फिल्ड तहमा गर्नुपर्ने करिब सबै तयारी पुरा गरिसकेकोले अब जुनसुकै दिनबाट पनि बर्दियामा गणना गर्न सकिने अवस्था भएको छ । हामीले यहाँ दुई वटा क्षेत्र कर्णाली तटीय क्षेत्र र बबई उपत्यकामा त्यसका लागि तयारी गरिरहेका छौँ । बर्दियामा भएका हात्तीको प्रयोग गरेर गणना गरिने भएको छ ।

तयारीको अन्तिम चरण पुग्यौँ
अणनाथ बराल
प्रमुख, चितवन राष्ट्रिय निकुञ्ज
हामीले गैँडा गणनाका लागि प्रयोग हुने हात्ती र गणकको छनौट गरिसकेको छौँ । अनि भोली पर्सि देखि नै तालिमको आयोजना गरिँदैछ । ४० वटा हात्तीको प्रयोग गरिने भएको छ । अहिलेसम्मको कार्यक्रम अनुसार पर्सा राष्ट्रिय निकुञ्जको प्रतापपुरबाट गणनाको सुरु गरिने भएको छ । गणना राष्ट्रिय महत्वको कार्यक्रम भएकाले आउने पाहुनाको व्यवस्थापन, कर्मचारीको व्यवस्थापनका लागि पनि काम भइरहेको छ । २९ गते सम्म सबै निकुञ्जमा गणना गरी सक्ने गरी तयारी भइरहेको छ ।

तयारी अवस्थामा बसेका छौँ
दिल पुन
प्रमुख, शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज
हामीले विगतका वर्षहरुबाट आइडी बेस राइनो मोनिटरिङ गरिरहेका छौँ । जसले गर्दा हरेक वर्ष गणना नभएपनि गैँडाको सामान्य अवस्था छ हामीलाई थाहा भइरहन्थ्यो । यो पटक त राष्ट्रिय गणना भएकाले घाँसे मैदानको व्यवस्थापन, बाटोघाटो सुधार लगायतका कामहरु भइसकेका छन् । यहाँ चैत १९ गतेबाट गणना सुरु गर्ने कार्यक्रम तय भएकाले अझै बाँकी समयमा बाँकी कामहरु सम्पन्न गर्ने कार्यक्रम रहेको छ । गणनामा खटिने कर्मचारीलाई अहिले देखि नै दैनिक निकुञ्जको अनुगमनमा पठाउने काम भइरहेको छ । यहाँ भएका हात्तीको प्रयोग गरिने भएको छ ।