सुरु भयो गैँडा गणनाको प्रशिक्षण

चितवन । यस वर्षको गैँडाको राष्ट्रिय गणनामा सहभागि हुने प्राविधिकहरुलाई प्रशिक्षण दिन सुरु गरिएको छ ।

चितवनको सौराहामा शुक्रवारबाट प्रशिक्षण सुरु भएको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका इकोलोजिष्ट हरिभद्र आचार्यले जानकारी दिए ।

प्रशिक्षणमा गैँडा गणनामा प्रत्यक्ष संलग्न हुने सहायक संरक्षण अधिकृत, रेञ्जर, सिनियर गेम स्काउट, गेम स्काउट लगायतका प्राविधिक गरी ६० जनाको सहभागिता रहेको छ ।

गैँडा गणना कसरी गर्ने ? गैँडाको पहिचान गर्ने तरिका, गैँडा गणनाको विधि, डाटा सिटको प्रयोग विधि, जीपीएस सञ्चालन, नक्साको प्रयोग, गणना आचार संहिता लगायतका विषयमा प्रशिक्षण दिइएको छ ।

शनिवार गैँडा गणनामा प्रयोग हुने हात्तीको माउतेलाई प्रशिक्षण दिइने भएको छ भने शनिवार नै फिल्डस्तरमा प्रयोगात्मक काम पनि गरिने भएको छ ।

प्रशिक्षण विभाग तथा राष्ट्रिय प्रकृति संरक्षण कोष, चितवन राष्ट्रिय निकुञ्जका वरिष्ठ प्राविधिकले दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here