शिबकलीको छोरीको नाउँ रामकली राखियो

ठाकुरद्धारा । बर्दिया राष्ट्रिय निकुञ्ज स्थित हात्तीसारमा रहेको नयाँ छावाको बिहीवार न्वारन गरिएको छ ।

शिवकली हात्तीको पोथी छावाको बिहीवारको शुभसाइतमा बनदेवीको मन्त्रो उच्चारण गर्दै न्वारन भएको छ ।

यही जेठ ४ गते जन्मेको पोथी छावाको बिधिवत रुपमा आज बिहान पूजाआजा गरी नामाकरण गरिएको हो । छावाको नाउँ ‘रामकली’ राखिएको छ । यो बच्चा शिवकली हात्तीको पाँचौ बच्चा हो ।

निकुञ्जका प्रमुख संरक्षण अधिकृत बिष्णुप्रसाद श्रेष्ठका अनुसार बिहान वनदेवीको पूजाआजा गरेपछि न्वारनको विधि समापन गरिएको हो ।

श्रेष्ठका अनुसार गत एक महिना अघि गैँडा गणना गर्ने क्रममा बाघको आक्रमणमा परी मृत्यु भएका हात्तीका पछुवा पुलिसराम थारुको सम्झनामा छावाको नाउँ पनि मिल्दोजुल्दो गरी राखिएको हो । हरित शहिद पुलिसरामको नाउँबाट पोथी छावाको नाउँ बोलाउन अलि असहज हुने भएकाले पुलिसरामको नामसँग जोडिएको ‘राम’ शब्दलाई आधार मानेर ‘रामकली’ राखिएको हो ।

शिवकलीले गर्भधारण गरेको २२ महिनामा छावाको जन्म दिएकी हुन् । यसको सबैभन्दा जेठो छोरा गणेशगज बाँके राष्ट्रिय निकुञ्जमा रहेको छ भने यो भन्दा अघिल्लो अढाई वर्षको बच्चा पनि बर्दियामा रहेको छ ।

हाल न्वारन गरिएको छावा पूर्णतया आमाको दूधको भरमा बाँच्ने भएकाले आमा शिवकलीलाई विशेष आहारको व्यवस्था गरिएको प्रमुख संरक्षण अधिकृत श्रेष्ठले बताए ।

आमालाई खीर, उखु, चना, भेली लगायतका पौष्टिक आहार दिइने गरिएको छ । खीरमा ज्वानु, मेथी, कालो तिल, दाल राखेर बनाइने गरिएको हात्तीसारले जनाएको छ ।

(थप फोटो फिचर)

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here