काठमाडौँ । बिदेशमा रहेर पनि जन्मभूमिका लागि नेपालीले सक्दो सहयोग गर्दै आएका छन् । विशेष गरी यो दौरानमा अफ्रिकी मुलुकमा रहेका नेपालीहरुले नेपालमा बढ्दो कोरोनाका कहरलाई नियन्त्रण गर्न र यसको प्रभावलाई निर्मूल पार्नका लागि बिभिन्न किसिमका सहयोग प्रदान गर्दै आइरहेका छन् ।
एनआरएन अफ्रिकाले नेपालमा देखिएको अक्सिजनको समस्यालाई केही राहत होस भन्नका लागि सहयोग गर्ने अभियान सुरु गरेको छ । यस अभियान अन्तर्गत नवलपरासी स्थित चिसापानी अस्पताललाई ७० थान अक्सिजन सिलिण्डर सहयोग गरेको छ ।
एनआरएनए राष्ट्रिय समन्वय समिति कङ्गोको आर्थिक सहयोग र लायन्स क्लब डिष्ट्रिक ३२५ बी २ एरिया ४, लायन्स क्लब अफ नवलपरासी दाउन्नेको व्यवस्थापनमा सो सामग्री चिसापानी अस्पताल र नजिकै रहेको आइसोलेसन सेन्टर नवलपरासीलाई वितवरण गरिएको हो ।

सो सामग्रीहरु सङ्घ र लायन्सका तर्फबाट लायन्स क्लव अफ नवपरासी दाउन्नेका अध्यक्ष लायन रामचन्द्र अधिकारी तथा स्थानीय समाजसेवी तीलबहादुर क्षेत्रीले चिसापानी अस्पताललाई संयुक्त रुपमा हस्तान्तरण गरेका छन् ।
सङ्घको अफ्रिका क्षेत्रीय संयोजक रोशन थापाले दिएका जानकारी अनुसार पछिल्लो चरणमा कोभिडको दोस्रो चरणले आक्रान्त बनेको नेपालका बिभिन्न १० वटा जिल्लाका बिभिन्न अस्पताल तथा स्वास्थ्य केन्द्रका लागि हालसम्म १०५ वटा अक्सिनज सिलिण्डर, ९०० थान रिफिल सिलिण्डर गरी एक हजार पाँच थान वितरण गरिएका छन् । एनआरएनएको अफ्रिकाका सबै राष्ट्रिय समन्वय समितिहरुका तर्फबाट लुम्बिनी क्षेत्रको संयोजन सङ्घका कङ्गो अध्यक्ष अमृत क्षेत्रीले गर्दै आएका छन् ।