अमर शिक्षक चिरञ्जिवी थापाप्रति श्रद्धासुमन

अनुवंश खड्का

आदमी मुसाफिर हैं, आता हैं, जाता हैं ।
आते–जाते रस्ते में, यादें छोड् जाते हैं ।।

नेपाली शिक्षण इतिहासको जाज्वल्यमान ताराको रुपमा आफूलाई स्थापित गरेका आदरणीय चिरञ्जिवी थापा एक असल जीवनसाथी, समर्पित पिता, जिम्वेवार नागरिक, बालबालिका, प्रकृति प्रेमी र एक इमान्दार तथा निस्वार्थ क्षवि भएका शिक्षक थिए । सामाजिक असमानता, अनैतिकता, अन्याय, शोषण, गरिबी, कुरीति, रुढीबादीता आदिले हाम्रो समाजलाई विकासको मार्गमा बढ्न नदिएको अवस्थामा यी तत्वहरुलाई जरैबाट उखेल्नुपर्छ भन्ने मान्यता राख्ने मानवतावादी शिक्षक थिए चिरञ्जिवी थापा ।

सिर्जना माध्यामिक अङ्ग्रेजी विद्यालय, भरतपुरका संस्थापक हुनुहुन्थ्यो चिरञ्जिवी थापा । अङ्ग्रेजी शिक्षक श्री चिरविक्रम थापा र राणा पुत्री श्रीमति बाबा हजुर थापा राणाको कोखबाट यो धर्तीमा जन्म लिएका थापा विद्यार्थीहरुको सबैभन्दा प्यारा शिक्षक थिए । सबैका आँखामा फूल झैँ बस्ने र आफ्नो ओठबाट निक्लिएका शब्दले कसैलाई नराम्रो लाग्न हुन्न भन्ने स्वभावका थापा आफ्नो परिवारमा खुसी फैलाउने एक विशेष पात्र थिए ।

प्रगतिको मार्गमा रातदिन खटिएका शिक्षक श्री चिरजिवीले पढाएका हजारौं विद्यार्थीले अहिले देश विदेश छोपी सकेका छन् र उहाँको प्रेरणात्मक स्वभावलाई सदैव आफ्नो मनमा राख्दछन् । उहाँबाट शिक्षा दीक्षा लिएका विद्यार्थी अहिले केही डाक्टर छन् त केही इन्जिनियर, कोही केही देश हाक्ने समाजवादी र राष्ट्रबादी सोच भएका नेताहरु छन् । थापाको संस्कार सिकेर उहाँका विद्यार्थीहरुले अहिले ठूलो सफलता चुमेका छन् ।

उहाँका बुबा आफै शिक्षकले चिरञ्जिवी थापाको शिक्षा दीक्षा घरमै भएको थियो । पढीलेखि सकेपछि देशको समृद्धिको बाटोमा आफ्नो पनि भूमिका राख्न र आफुले सिकेको सीप, ज्ञान र पढेका कुरा सबैलाई सिकाउन पर्छ र ज्ञानको महासागर सबैको लागि खोल्नुपर्छ भन्ने भावले उहाँले शिक्षक बन्ने निर्णय लिनुभयो । जुन एकदम राम्रो निर्णयमा परिवर्तन भयो जसले गर्दा बिजुली पनि नभएको घरमा पढाईको दीपज्वती प्रज्वलन गर्नमा उहाँले ठुलो सफलता हात पार्नुभभयो । जीवनको अर्थ हाँस्ने र हसाउने तथा खुशी बाड्ने हो भन्ने स्वभावका शिक्षकले यो संसारमा धेरैको जीवनको मोड बदलेका छन् । सोही अनुरुप देश विकास र समृद्धिमा अहोरात्र खटिएका शिक्षक थापाको योगदान आफ्नो विद्यार्थीमा अतुलनीय र अमूल्य रह्यो ।

असल जीवनसाथी

इण्डियन आर्मीको क्याप्टेन कृष्णबहादुर खड्का तथा नेपालको पहिलो निर्वाचित महिला वडा अध्यक्ष लीलादेवी खड्काको सुपुत्रीसँग विवाह गरेका थापा आफ्नो जीवनसाथीलाई हरसम्भव खुसी र सुख दिने प्रयास गर्ने पात्र हुनुहुन्थ्यो । जुन कुरामा उहाँ हरदम सफल पनि हुनुभयो । घरका बालबच्चादेखि बुढाबुढीसम्मको सामान सम्मको खरिद गर्न पनि आफ्नो जीवनसाथीलाई कहिले दुख्ख नदिई आफै निरन्तर खट्ने उहाँको असल बानी थियो ।

आफ्नो जीवनसाथीलाई हरेक दुख्ख र सुखमा साथ दिने भनेर सपथ लिनुभएका थापाले आफ्नो विवाहको केहि महिनामै भान्साको आगोको चपेटामा परेर दनदन्ति आगोमा जीवनसाथी बलेको देख्दा उहाँले त्यो अग्निमा आँफु हामफाली आफ्नो जीवनसाथीको ज्यान बचाई आफू आगोको चपेटामा पर्नुभयो । यो उहाँको एक बहादुरी काम र आफ्नो जीवनसंगिनी प्रतिको अगाध मायाको एक उदाहरण थियो ।
विवाह वर्षगाँठको २५ औ वर्ष पुग्न नपाउदैँ जीवनसाथीलाई देखिएको रोग नेपालमा राम्ररी उपचार नहुने र डाक्टरहरुले नेपालमा प्रविधि विकास नभएको भन्दा भन्दै उहाँले कहिल्यै हार नखाई जीवनभर गरेको सबै बचत र लगानी लिएर भारतमा गई रोगको उपचार गरेर जीवनसाथीलाई नयाँ जीवन दिनुभयो ।

हरेक सफल पुरुषको पछाडि एक महिलाको हात हुन्छ भनेझैँ सफल शिक्षक चिरञ्जिविको पछाडि उहाँको जीवनसाथी मुनु थापाको सधँै सयोग रहन्थ्यो । जीवनका हरेक निर्णयमा साथ दिने र हरेक कदममा साथ लिने उहाँको जीवनसाथी मुनुको बानीले उहाँलाई जीवनमा सबै सफता हात परेका हुन् ।
हुन त आप्नो श्रीमानका हरेक कदम र काममा साथ दिनु एक श्रीमतिको प्रमुख कर्तब्य हो । यो कुराको राम्रो उदाहरण थापाको जीवनमा देखिन्छ । थापाको त्यो असल जोडीले देखाएको जीवनभरका माया र सफलताले उहाँहरुको जीवन सधैँ हाँसी खुसी बित्यो ।
आफ्नो जीवनसाथीको शब्दकोषबाट दुख्खकष्ट भन्ने शब्द हटाएका थापाले हरेक क्षणमा आफुले सक्ने सहयोगको हात सँधै अघि सार्थे । आफ्नो काँधमा सबै भार बोकेर आफ्नो ठूलो ममताको छाता भित्र आफ्नो परिवारका हरेक सदस्यहरुलाई राखेका थापाले आफ्नो जीवनमा धेरै किसिमका मिठो सम्झनाहरु सम्झिनका लागि छोडेका छन् ।

समर्पित पिता
सारा चाहाना तथा इच्छाहरुलाई थाती राखेर आफ्नो बच्चाहरुको सबै इच्छा आकांक्षा पूरा गर्ने पिता मध्यका उहाँ पनि एक हुनुुहुन्छ । आफ्नो बालबच्चाको समृद्ध भविष्यको सपना बोकेका थापाले आफ्नो बालबच्चाहरुलाई आफ्नै विद्यालयमा शिक्षा दीक्षा दिनुभयो । किताबी ज्ञान मात्र होइन, पारिवारिक संस्कार, सभ्यताका कुरा सिकाउनुभयो ।
उहाँ आफ्ना बालबच्चाका लागि मात्र असल शिक्षक हुनुहुन्थेन । उहाँ त समाजभित्रका सबै घरपरिवारका बालबालिका लागि संस्कार, सभ्यता सिकाउने गुरु हुनुहुन्थ्यो ।

आफनो छत्र छाँयामा हुर्काएका बालबच्चाहरुलाई थापाले यतिसम्म काबिल बनाएकी उहाँको आफ्नी छोरी मान्यता थापाले एमबीबीएस जस्तो कठिन विषय अध्ययन गर्दागर्दै मेडिकल माफियाहरुको पर्दाकफास गराएर अन्याय भएको पीडित वर्गलाई न्यायको वातवारणमा साहस लिन सफल बनाएकी थिइन् ।

उहाँको छोरीले कतै विद्रोह त कतै समानता, स्वतन्त्रता, नैतिकता, भातृत्व, न्याय र शोषणरहित सह अस्तित्वको पक्षमा वकालत गर्दै पीडित, शोषित, असहाय एवं दयनीय जीवनप्रतिको सहानभुति सहित सुधारको आकाङ्क्षा राखेर अघि बढ्ने प्रेरणा उहाँको छोरीलाई एक असल पिताको स्थानबाट दिनुभएको थियो ।
सानै उमेरमा पाको व्यवहार देखाउने क्षमता राख्ने छोरा अनुश्रुत थापाको भने आफ्नो मनको आवाजलाई खोलाई, मिहिनेत र सङ्घर्षको बाटोमा हिडाई जिल्लाकै सफल सर्वाेत्कृष्ट खेलाडी बनाउनमा पनि पिता थापाको ठूलो योगदान रहेको छ ।
आफ्नो बच्चाहरुलाई मात्र नभई सबैको बच्चाहरुलाई पढाइको महत्व र पढ्न नयाँ वातावरण सिर्जना गरेर हाँसि खुसि आफ्नो विषयवस्तु पढाउने शिक्षक थापाले आफ्नो विद्यालयलाई पनि सफल बनाउनमा निकै उल्लेखनीय योगदान दिनुभएको छ ।

इमान्दार तथा निस्वार्थ शिक्षक

पढ्नमा रुची नै नराख्ने विद्यार्थीदेखि सर्वाेत्कृष्ट विद्यार्थीसम्म सबैको लोकप्रिय शिक्षक हुनुहुन्थ्यो थापा । उहाँको पढाउने सीप र कला सायदै अहिले कुनै शिक्षकसँंग होला । अहिले पठनपाठनलाई मान्छेहरुले व्यवसाय र पैसा कमाउने बाटो बनाएका छन् ।
कुशल शिक्षक थापा काठमाडौंका बिभिन्न विश्वबिद्यालय तथा उच्च शिक्षण संस्थाका प्रधानाध्यापक तथा आइइएलटीएस र टोफेल जस्तो कोर्षमा अङ्गेजी पढाएर लाखौं पैसा कमाउने अवसर हातमा हुदा हुदैँ पनि पैसाको मुख नहेरी विद्यार्थीको भविष्यको उज्यालो अनुहार हेर्न रुचाएर रात दिन आफ्नो विद्यालयलाई कसरी अघि सार्ने र विद्यार्थीको उज्यालो भविष्य बनाउन आफ्नो सारा शक्ति लिन गरेका थिए ।

क,ख,ग,घ पनि पढ्न रुचि नराख्ने विद्यार्थीलाई उहाँले बच्चै देखि निरन्तर नौलो प्रविधिवाट पढाएर पढाईको यस्तो रस भरिदिएकी कक्षा १० सम्म आइपुग्दा हरेक विद्यार्थी उच्चतम अङ्क ल्याउन भएका छन् ।

‘ढुङ्गाको काप फोडेर पनि उम्रन्छ पीपल, सिर्जना शक्ति यो संसारमा कहिले हुदैन विफल’ भन्ने भनाई उहाँले सबै विद्यार्थीको मस्तिष्कमा घुसाएका थिए र आफु जहाँबाट भएपनि जस्तो घर परिवारको भएपनि सोचि सकेका कुरा गर्न सक्ने आत्मवल उनले हरेक विद्यार्थी भित्र भर्ने काम गर्थे । सामान्य विद्यालयमा खाजा बेच्ने तथा आर्थिक विपन्न परिवारको बालबालिकाहरुमा पढाईका ज्योती बालेका थापाले अहिले उहाँका विद्यार्थीहरु विदेशमा राम्रो राम्रो स्थानमा जागिर खाइरहेका छन् । निस्वार्थ भावका थापाले धेरै विद्यार्थीको जीवन बदल्नेकामन गर्नुभएको छ ।

जिम्मेवार नागरिक
अहिलेको युगमा मान्छेहरु विदेश जान तछाड मछाड गरि रहेका भेटिन्छन् । तर थापाले थुप्रै अवसर पाउँदा पाउदैंमा पनि विदेशको मोहलाई त्यागी नेपाली भूमिमा कर्म गर्नुभयो र शिक्षाको ज्योती फैलाउनुभयो ।

थापा दम्पत्तीले मिलेर विभिन्न देशका उच्चस्तरीय शिक्षक तथा अरु व्यवसायमा लागेका विदेशी पर्यटकहरुलाई आफ्नो घर निम्त्याएर निशुल्क सेवा तथा देशको कुनाकुना घुमाउने जिम्मेवारी निर्वाह गर्नुभयो ।

विभिन्न दक्ष उच्चस्तरीय विदेशी पर्यटकहरुबाट आफ्नो विद्यालयमा बोलाई विद्यार्थीलाई नयाँ नयाँ कुरा सिकाउने अवसर थापाले प्रदान गर्दै आएका थिए ।
विदेशी मुलुकका पर्यटकहरुलाई आफ्नो देश नेपालको अविष्मरणीय सांस्कृतिक, भौगोलिक, ऐतिहासिक, धार्मिक, पौराणिक ठाउँको भ्रमण गराई त्यसको महत्व झल्काएका थापा धेरै विदेशीको लोकप्रिय पात्र बन्न सफल हुनुभयो ।

बालबालिका, प्रकृति तथा संगीत प्रेमी
साना बच्चादेखि ठूल्ठूला पदका मान्छेहरुसंँग घुलमिल हुने थापा सबैका लोकप्रिय थिए । उहाँको पवित्र निस्वार्थ स्वभाव र कपट बिनाको बोली व्यवहारले सबैलाई मोहित पाथ्र्याे । जो कसैको पनि जीवनमा आएका बाधा अर्चनालाई फुकाउन हर सम्भव सहयोग गर्ने उहाँको धेरै मध्यको एक विशेषता हो । बालबालिकामा खुसी देख्ने र सदैव उनीहरुसंँग हाँसी खुसी हुने थापाले एकदम चन्चले देखि आज्ञाकारी बच्चाहरु सबैको मस्तिष्कमा ज्ञानको महासागर भर्ने काम गर्नुभएको थियो । शिक्षक थापाको आँखामा सबै व्यक्ति एकै समानका हुन्थे । कामलाई भगवान ठानेर परिश्रम गर्नेहरुले थापाको मुटु चोर्थे, विद्यालयको प्रधानाध्यापक भएर गेटपालेको रातदिनको मिहिनेत देखेर आफ्नै हातको चिया बनाएर सँगै बसेर जीवनको सुख दुख्खको कुरा गर्दै चिया पिउने प्राधानाध्यापक सायदै होलान् ।

प्रकृतिप्रेमी शिक्षक थापा प्रकृतिलाई महसुस गरेर, प्राकृतिक हिमाल, पहाड खोलानाला आदिको अवलोकन गर्न घण्टौ सफर गर्नुहुन्थ्यो । साहित्यका पुजारी थापाले अनेकौ पुस्तक अध्ययन गरि त्यसको भाव आफ्नो विद्यार्र्थीरुलाई सुनाई सक्षम बनाउने हरसम्भव प्रयत्न गर्नुहुन्थ्यो ।
बिहान ३ बजे उठेर ध्यान गर्ने थापाले जिन्दगीको उद्धेश्य खुसी रहने, अरुलाई चोट नदिने, हाँसि खुसी बाच्ने रहेछ भनेर बुझ्नु भएको थियो ।


कोरोनासँगको युद्ध

२०७७ सालमा कोरोना महामारी फैलियो । कोरोना विरुद्ध हामीले सकारात्मक रुपले लड्नु पर्ने र त्यसलाई हामीले हराउन सकिन्छ भन्ने उहाँको सोचाई थियो । २०७८ सालमा पनि कोरोनाको महामारीमा उहाँले आफुले गर्न सक्ने हरसम्भव कारोना पीडितहरुलाई मद्धत गर्नुभयो ।

दुर्भाग्य नै भन्नुपर्छ, २०७८ असार १५ गते उहाँमा नै कोरोना देखियो । यद्धपी उहाँ सदैव आफूले यो भाइरसलाई हराउने र छिटैं आफ्नो पुरानो जस्तै काममा फर्किने हिम्मत लिएर कोरोनासँग लड्नुभयो ।

संसारमा भाइरसको कारणले पारेको प्रकोपको बारे बुझेका थापाले आफूलाई भित्र जति गारो भएता पनि आफ्नो जीवनसाथी, बालबच्चाहरु र सबै आफन्त तथा इस्टमित्रलाई केहि नभएको र छिटै भाइरसलाई जित्ने हिम्मत दिँदै आउनुभएको थियो ।

म अब छिटै सन्चो हुन्छु र घर फर्कन्छु भन्दै अस्पताल तथा त्यहाँको भेन्टिलेटर छिरेका थापालाई चितवनबाट काठमाडौं पनि ल्याइयो भाइरससँग लड्दा पनि उहाँको सबै अङ्गले साथ छोडेका थिएन । तर छातिमा निमोनिया देखियो । थापालाई भाइरसले सामान्य रुगा खोकी, ज्वरो देखि अस्पतालको भेन्टिलेटर हँुदै कलिलै उमेरमा शारिरीक जीवन छाड्न बाध्य पा¥यो । कहिल्यै नसोचेको दृष्य आँखा सामुन्ने भएको देख्दा समाजका सबै व्यक्तिको आँखाबाट रोकिएन । के विद्यार्थी, के शिक्षक के घरपरिवारका व्यक्ति ।

उहाँले बालेको शिक्षा दीक्षाको दीपज्योती हामी सबैको मनमा रहने र सदैव उहाँ हामीसँग केहिन केहि रुपमा रही रहनुहुनेछ । हामी सबैको मन मस्तिष्कमा उहाँको हाँसो सदैव हाँसी रहने छ, उहाँको तस्विर मनमा सदैव टाँसिरहने छ । उहाँको बोली कानमा गुन्जिरहने छ । उहाँको हातको ममता सदैव मनमै रहिरहनेछ । उहाँको याद सदैव हामीलाई रहिरहनेछ । उहाँ यतैकतै कुनै रुपमा रहनु हुनेछ ।

सदैव हामीसंग

टालोदेखि टालोसम्मको यो जिन्दगीको यात्रामा थापाले विभिन्न उल्लेखनीय र उदारणीय कामहरु गरे । जसमध्ये निम्न आय भएका घरपरिवारको बालबालिकाको मनमा पढाईको दीप बाल्नु भयो । आफुलाई यो संसारकै महत्व तथा जीवनको रथ हाँक्न सिकाउने मान्छे आफू साथ शारिरीक रुपमा नहुँदा उहाँको अभाव हामीसँंग सधै हुनेछ । शारिरीक रुपमा हामीसँंग नहुँदा पनि थापाले सिकाएका हरेक कुरा मस्तिष्कमा राखेर उहाँको विद्यार्थी सधैं अगाडि बढ्नेछन् ।

शिक्षक थापासँंग बिताएका हरेक क्षण अमूल्य थिए र हाम्रो मुटुमा उहाँले एक महत्वपूर्ण स्थान बनाएका छन् । आँखाले देख्न नपाएपनि उहाँको आवाजले हामी सबैको कानमा एक ठाँउ बनाएको छ । उहाँको आभाषले मनमा एउटा स्थान बनाएको छ । उहाँको अनुहारले मुटुमा एउटा तस्विर कोरेको छ । उहाँको ममताले मुटुमा एउटा ठाँउ बनाएको छ । उहाँको हरेक कुरा हाम्रो मनमा रही उहाँको यादले हाम्रो जीवनमा एक ठाँउ बनाएको छ । उहाँ जता भएतापनि हामीलाई हेरेर आशीर्वाद दिनु भएको महसुस हामी सबैले गरेका छौं । उहाँले दिनु भएको ज्ञान दिमागमा राखेर हामी अघि बढ्नेछौं । उहाँले सिकाएको जीवन जिउने कलाले अघि बढ्न सदैब हौसला मिल्नेछ । उहाँले सोचेको नेपालको निर्माणमा अहोरात्र खट्ने छौं । उहाँको परिवारलाई सबै विद्यार्थीले साथ निरन्तर दिई राख्नेछौं । हाम्रो मनमा एउटा कोठा बनाएर बसेका शिक्षक थापालाई हामीले हाम्रो मुटुबाट कतै जान दिनेछैनौं ।

वर्ण र सोचभन्दा माथिको मान्छे

२०७८ साल असार ३१ गते बिहान १० बजेर २० मिनेटमा यो संसारले ज्ञानको महासागर गुमाएको छ । धेरै विद्यार्थीहरुलाई किन र कसरी अध्ययन गर्ने भनेर सिकाउने शिक्षकले आफुलाई छोडेकाले यो संसार आधा खालि भएको अनुभव गरेका छन् । उहाँको याद हाम्रो आँखा अगाडी झलझली आईरहनेछ ।

उहाँलाई आँखा अगाडी देख्छु तर छुन सक्दिन, कानले आवाज सुन्न सक्छु तर छुन सक्दिन, उहाँको हात गालामा राखेको अनुभव गर्छु तर छुन सक्दिन, उहाँको याद आउछ तर छुन सक्दिन । उहाँको अकल्पनीय याद मनमा छन् र मनमै रहिरहनेछन ।
शरीर एक उर्जा शक्ति रहेछ । जुन एक देखि अर्काेमा परिवर्तन हुदाँ रहेछ पहिला छुन सक्थ्यौं, अहिले महसुस गर्न सक्छौं । शिक्षक थापासंँग बिताएका हरेक क्षण अमूल्य थिए र हाम्रो मुटुमा त्यसले एक स्थान बनाएको छ । जीवन काँडा की फूल यो प्रश्नले निरन्तर सताएको छ । शिक्षक थापाको जीवन वर्ण र सोचभन्दा माथिको रह्यो ।


हाम्रो प्यारो शिक्षक हामी छिटै फेरि भेट्नेछौं ।
फेरिसंगै बसेर हाँस्ने छौं ।
फेरिसंँगै बसेर जीवनको कहानी गाउने छौं ।
फेरि बसेर सुमधुर गीत गुनगुनाउने छौं ।
फेरि देश निर्माणमा खट्नेछौं ।
फेरि बसेर प्रकृतिको सुन्दरतामा रमाउने छौं ।
फेरि बाइकमा घुम्नेछौं ।
हाम्रो प्यारो शिक्षक हामी छिटै फेरि भेट्नेछौं ।।
सप्रेम सम्झना
सधैं मुटुमा रहनुहुन्छ

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here