पोखरा । कास्की जिल्लाको पोखरा महानगरपालिका वडा नम्बर २२ पुम्दि भुम्दी बस्ने खोबहादुर थापालाई वन्यजन्तु चितुवाको जस्तो देखिने छाला, दाँत र विभिन्न हातहतियार सहित प्रहरीले पक्राउ गरेको छ ।
थापाले अवैध रुपमा वन्यजन्तुको छाला घरमा लुकाई राखेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरिएको हो ।
उनको घर तलासी गर्दा चितुवाको जस्तो देखिने छाल १ थान, २ वटा दाह्रा सहितको दाँतको भागको टुक्रा १ थान र दुई नाले कार्तुस बन्दुक १ थान, सोही बन्दुकमा लाग्ने प्रयोग भइसकेको खालि खोका ४५ थान, धातुका छर्रा १९१ थान, बारुद ३१५ ग्राम, धातुका सानो छर्रा १५० ग्राम, छर्रा बनाउन प्रयोग हुने सिसाको धातुको विभिन्न आकारको डल्लो पदार्थ २ किलो ९०५ ग्राम र सानो पटाका रहेको रातो रंगको पत्ता १ थान सहित फेला पारी उनलाई पक्राउ गरेको हो ।
हाल उनी उपर जिल्ला अदालत कास्कीबाट हातहतियार तथा खरखजाना सम्बन्धी कसूरमा ७ दिन म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
























