काठमाडौँ । ‘बाघ भनेको बर्दिया’ भन्ने कुरा एक पटक पुनः पुष्टि भएको छ । बाघ सजिलै देख्न सकिने ठाउँका रुपमा विश्वका केही स्थानहरु मध्ये बर्दिया पनि पर्ने गरेको छ ।
विश्वमा संरक्षणका क्षेत्रमा काम गरिरहेको आधा दर्जन भन्दा बढी अन्तर्राष्ट्रिय संघ÷संस्थाको मूल्याङ्कनमा नेपालको बर्दिया राष्ट्रिय निकुञ्ज बाघ पाल्न सक्ने विश्वकै उत्कृष्ट संरक्षण क्षेत्र हुन सफल भएको छ । ती संघ÷संस्थाको नेतृत्व विश्व वन्यजन्तु कोषले गरेको छ ।
सन् २००९ को बाघको सर्वेक्षण देखि लिएर सन् २०१८ को सर्वेक्षणलाई आधार मानेर बर्दियालाई T*2 अवार्ड ( बाघको संख्या दोब्बर पुर्याउने पुरस्कार ) प्रदान गरिएको हो । सन् २००९ मा बर्दियामा बाघको संख्या १८ थियो भने सन् २०१८ मा ८७ पुगेको थियो ।
बाघ संरक्षणमा उत्कृष्ट काम भएकाले बर्दिया निकुञ्जको खाता वन संरक्षण क्षेत्रलाई यो पुरस्कार प्रदान गरिने डब्ल्यूडब्ल्यूएफ नेपालका संरक्षण कार्यक्रम निर्देशक शिबराज भट्टले जानकारी दिनुभयो ।
यो पुरस्कार सन् २०२२ को सेप्टेम्बरमा रुसमा हुने दोस्रो बाघ सम्मेलनका बेला प्रदान गरिने भएको छ ।
बर्दिया सहित भारतको सत्यम्मंगल टाइगर रिजर्भलाई पनि सोही अवार्ड प्रदान गरिएको छ । सो रिजर्भमा सन् २०११ मा २५ वटा बाघ थिए भने हाल ८० भन्दा बढी पुगेको बताइएको छ ।
यो अवार्ड प्रदान गर्ने मूख्य आधारहरुमा बाघको बासस्थान व्यवस्थापनलाई लिइएको छ । त्यसैगरी स्थानीय समुदाय सहभागिता तथा संरक्षण साझेदारहरुको सहयोग तथा समन्वयको पक्षलाई पनि आधार मानिएको छ ।
चोरी शिकार नियन्त्रणमा भएका प्रयास तथा संरचनाको निर्माण र प्रभावकारी काम, राज्यका नीति तथा तिनको कार्यान्वयनको अवस्थालाई समेत आधार मानेर बाघको संख्या बढाउने गतिविधिलाई हेरे अवार्ड प्रदान गरिएको हो ।
नेपालको प्रयासको कदर

डब्ल्यूडब्ल्यूएफ नेपालका संरक्षण कार्यक्रम निर्देशक शिबराज भट्टले यो पुरस्कार प्राप्त हुनुले नेपालले संरक्षणमा गरेको प्रयासको कदर भएको बताएका छन् ।
उनले नेपालकथासँग भने, यो त नेपालकै लागि गौरवको विषय हो । नेपाल सरकार, स्थानीय समुदाय, संरक्षण साझेदार संस्था सबैका लागि खुसीका कुरा हो । यसले नेपाललाई विश्व जगतमा थप चिनाउने काम गरेको छ ।
बर्दिया लगायतका अरु पार्कमा मानव वन्यजन्तु द्वन्द्वको चुनौती थपिदै गएका छन् । ती चुनौतीलाई समाधान गर्न थप नेपालले सहयोग प्राप्त गर्ने अवसर पाउने छ ।
उनले भने, नेपाल गरिव मुलुक भएर पनि जैविक विविधताको संरक्षणमा निरन्तर लगानी र सक्रियता देखाउँदै आएको कुरा यसअघिका धेरै घटनाले पनि पुष्टि गरिसकेको थियो । यसमा थप यो अवार्ड पाउनुले नेपालको प्रयासको विश्व जगतले स्रहाना गरेको छ । यसले नेपाललाई थप सक्रिय हुन उत्प्रेरणा दिएको छ ।
नेपालका लागि गर्व गर्ने ठाउँ भयो

बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत बिष्णुप्रसाद श्रेष्ठले यो परिघटनाले नेपालको लागि गर्व गर्ने ठाउँ बनेको बताए । उनले भने, नेपालले गरेको संरक्षणको प्रयास ग्लोबल्ली रिकोग्नाइज भएको छ ।
यसले एकातिर यहाँको समुदाय, पार्क, नेपाली सेना, संरक्षण साझेदार संस्थालाई थप उत्साहित बनाएको छ भने अर्काेतिर नेपाल विश्व समुदायमा थप चिरपरिचत हुने अवसर मिलेको छ ।
उनले भने, आउँदा दिनमा संरक्षणका काममा प्रभावकारी ढंगले लाग्न प्रेरणा मिलेको छ । यसले थप जिम्मेवारी पनि बढाएको छ । आगामी दिनमा बर्दियाको पर्यापर्यटन प्रवद्र्धनमा यसले पक्कै मद्धत गर्ने छ भने संरक्षणका लागि अन्तर्राष्ट्रिय सहयोग पाउन समेत सहयोग पुग्ने देखिन्छ ।