काठमाडौं । सामुदायिक वन उपभोक्ताहरुको हित विपरीत संघीय सरकार र प्रदेश सरकारले नयाँ वन नियमावली ल्याउन थालेपछि आन्दोलनरत महासंघका कार्यक्रममा प्रहरीको हस्तक्षेप हुन थालेको छ ।
नयाँ नियमावलीको खारेजीको माग गर्दै आन्दोलनरत महासंघको मंगलबार भएको शान्तिपूर्ण कार्यक्रममा प्रहरीले हस्तक्षेप गरेको छ भने महासंघका अध्यक्ष भारती पाठक सहित १४ जना पदाधिकारीलाई हिराशतमा लिएको छ ।

महासंघले आफ्ना माग पूरा गराउन तेस्रो चरणको आन्दोलन सुरु गरेको छ । महासंघले संघीय सरकार र सात वटै प्रदेश सरकारले ल्याएको वन ऐन र नियमावलीभित्र रहेका कतिपय बुँदा वन उपभोक्ता हित प्रतिूकल रहेकाले खारेज गर्नुपर्ने मुख्य मागसहित आन्दोलन गर्दै आएको छ ।
वन उपभोक्तालाई लगाइएका बिभिन्न १३ प्रकारका कर खारेजी, वन पैदावारको ५० प्रतिशत जिल्ला आपूर्ति समितिलाई दिइनुपर्ने लगायतका वन नियमावलीको व्यवस्थालाई खारेज गर्नुपर्ने महासंघको भनाई रहेको छ ।