काठमाडौँ । कोशी नदीको एक भगालोमा २० वटा गोही छोडिएका छन् । कोशी टप्पु वन्यजन्तु आरक्ष क्षेत्रभित्रको कोशी नदी क्षेत्रमा रहने गरी ती गोही छोडिएका हुन् ।
सिमसार दिवसका अवसर पारेर वन तथा वातावरण मन्त्रालयको निर्णय अनुसार कोशी नदीको सप्तरी जिल्ला तर्फको मोरियाघाट क्षेत्रमा गोही छोडिएको कोशी टप्पु वन्यजन्तु आरक्षका प्रमुख संरक्षण अधिकृत रामचन्द्र खतिवडाले जानकारी दिए ।

उनका अनुसार १७ वटा पोथी र ३ वटा भाले गोही भगालोमा अस्थायी इन्क्लोजर बनाएर छाडिएका छन् । एक महिनासम्म गोही भगालोमा निर्माण गरिएका अस्थायी इन्क्लोजरमा राखिने र एक महिनापछि सबै गोही कोशी नदीमा प्रवेश गर्ने गरी संरचना बनाइएको छ ।
हालको अस्थायी इन्क्लोजरमा माछा छिर्न सक्ने तर गोही बाहिर जान नसक्ने गरी निर्माण गरिएको प्रमुख संरक्षण अधिकृत खतिवडाले बताए ।
वन तथा वातावरण मन्त्री रामसहाय प्रसाद यादव, मधेश प्रदेश प्रमुख हरिशंकर मिश्र, मधेश प्रदेशको वन मन्त्री शत्रुधन महतो, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक डा. रामचन्द्र कँडेलले लगायतले गोहीलाई रिलिज गरेका हुन् ।

रामचन्द्र खतिवडा
चितवनको कसरास्थित गोही प्रजनन केन्द्रमा हुर्किएका पाँच वर्ष बयस्क गोहीलाई कोशी नदीमा छोड्ने निर्णय यस अघि सरकारले गरेको थियो ।
यस अघि कोशी नदीमा बिभिन्न पटक गरेर ९५ वटा गोही छोडिएका छन् । करिब १२ वर्षपछि यस पटक कोशी नदीमा गोही छा्ेड्ने काम भएको हो । कोशी नदीमा सन् १९८२ मा पहिलो पटक ४२ वटा गोही छोडिएका थिए ।
त्यसपछि सन् १९८६ मा फेरी ४३ वटा गोही छोडिएका थिए । ती छाडिएका गोही सबै खेल्दै बग्दै भारत पुगेपछि अनुगमन गर्दा कोशी नदीमा गोही नभएको तथ्य सार्वजनिक भएको थियो । त्यसपछि सन् २०१० मा १० वटा गोही छोडिएका थिए ।
कोशी नदीमा निर्माण भएको कोशी ब्यारेज वातावरणमैत्री नभएकाले नेपालका भूभागमा छोडिएका सबै गोही खेल्दा खेल्दै तर भारतीय क्षेत्रमा पुगेपछि फर्किन नसक्ने स्थिति छ ।
यस अघि छोडिएका सबै गोही भारत पुगेका छन् । हाल कहिलेकाँही कोशी टप्पु क्षेत्रमा दुई÷चार वटा गोही मुश्किलले देखिने गरेका छन् ।
नेपालका गोही भारतमा बास
कोशी नदी होस् कि चितवनको नारायणी र राप्ती । हालसम्म ती नदी क्षेत्रमा छोडिएका सबै गोही भारतमा पुग्ने गरेका छन् । नेपालले चितवनको कसरा र बर्दिया राष्ट्रिय निकुञ्जको ठाकुरद्धारामा गोही प्रजनन केन्द्रमा हुर्काएर प्राकृतिक बासस्थानमा छोड्न गरेको छ । तर कालान्तरमा ती सबै गोही भारतसम्म पुग्ने र नदी प्रणालीमा भएका बाँधका कारण फेरी फर्केर नेपाल आउन नसक्ने हुँदा सबै गोही भारतमै बस्ने गरेका छन् ।