पेरिस । संयुक्त राष्ट्र संघको एउटा प्रतिवेदनले सन् २०२२ मा सबैभन्दा बढी जलवायु परिवर्तनको असरले बिस्थापित हुनेको संख्या अधिक रहेको देखाएको छ ।
जलवायु परिवर्तनको असर पछि द्वन्द्व, विपत्ति जस्ता त्रासदीका कारण विश्वका दशौँ लाखको सङ्ख्यामा मानिस आफ्नो देशभित्र वा बाह्यरूपमा विस्थापित भएको कुरा प्रतिवेदनमा देखाइएको छ ।
संयुक्त राष्ट्रसङ्घीय शरणार्थी निकाय (युएनएचसीआर) ले आफ्नो वेबसाइटमा भनेको छ, “यो आगामी जाडो विश्वभरका लाखौं आप्रबासी शरणार्थीका लागि निकै चुनौतीपूर्ण हुनेछ । हाम्रो विश्वले आन्तरिक विस्थापनको सङ्कटको सामना गरिरहेको छ । द्वन्द्व, विपत्ति र जलवायु सङ्कटजस्ता त्रासदीका कारण विश्वका उच्च सङ्ख्यामा मानिस आफ्नो देशभित्र विस्थापित भएका छन् ।”
संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसले गत जुन महिनामा संयुक्त राष्ट्रसङ्घले अन्तर्राष्ट्रिय विस्थापनसम्बन्धी कार्ययोजना सार्वजनिक गर्दै सहयोगको खाँचो रहेका मानिसलाई सहयोग पु¥्याउनु सबैको जिम्मेवारी भएको बताउनुभएको थियो ।
उनले भने, “आन्तरिक रूपमा विस्थापित व्यक्तिहरूको दुर्दशा मानवीय मुद्दाभन्दा बढी छ । यसले विकास, शान्ति स्थापना, मानव अधिकार, जलवायु कार्य र विपद् जोखिम न्यूनीकरणका प्रयासहरूको संयोजनमा एकीकृत दृष्टिकोण ल्याउँछ ।”
संयुक्त राष्ट्रसङ्घीय शरणार्थी निकाय (युएनएचसीआर) ले सन् २०२२ मा विश्वका एक करोड मानिस आफ्नो घर छोड्न बाध्य भएको जानकारी गराएको छ । संयुक्त राष्ट्रसङ्घले विभिन्न तरिकाले खाँचोमा परेकालाई सहयोग गरिरहेको पनि उक्त निकायले जनाएको छ ।
युएनएचसीआरका प्रमुख फिलिप्पो ग्रान्डीले यो आँकडालाई कहिल्यै स्थापित हुन नहुने सङ्ख्या भनेका छन् । यो सङ्ख्या सन् २०२१ मा नौ करोड रहेकोमा यस वर्ष १० करोड पुगेको छ । युक्रेन, इथियोपिया, बुर्किना फासो, सिरिया र म्यान्मारलगायत विश्वका धेरै भागहरूमा हिंसा, गरिबी र लामो द्वन्द्व आप्रवासन प्रमुख कारकहरू थिए ।
संयुक्त राष्ट्रसंघीय निकायले भनेको छ, “हजारौं हताश आप्रवासीहरूले युरोपलाई आफ्नो रोजाइको गन्तव्यको रूपमा हेरेका छन् । मानव तस्करहरूको हातमा आफ्नो जीवन थमाएका छन् र भूमध्यसागर पार गर्नेगरी खतरनाक यात्रामा निस्केका छन् ।”
यमनमा लामो द्वन्द्व सुरु भएको सात वर्ष भन्दा बढी भइसकेको छ । जसले मानवीय विपत्ति निम्त्याएको छ । ४३ लाखभन्दा बढी मानिसहरूलाई आफ्नो घर छोड्न बाध्य बनाएको छ ।
गत मे महिनामा संयुक्त राष्ट्रसङ्घको आप्रवासन एजेन्सी आईओएम र युरोपेली सङ्घको मानवीय सहायता शाखा इकोले द्वन्द्वका कारण विस्थापित भएका तीन लाख २५ हजारभन्दा बढी आप्रवासी र उनीहरूलाई आश्रय दिने समुदायको आवश्यकता पूरा गर्ने प्रयासलाई तीव्रता दिने घोषणा गरेको थियो ।
यमनस्थित आईओएम अभियानका प्रमुख क्रिस्टा रोटेनस्टाइनरले भने, “यमनमा आप्रवासीहरू र विशेष गरी महिलाहरूको लागि स्थिति अझ खराब हुँदै गइरहेको छ । उनीहरूले यमनमा आफ्नो जीवनमाथि थोरै नियन्त्रणको साथ गम्भीर अवस्थामा बाँचिरहेका छन् ।”
सिरियामा युद्धले ११ वर्षदेखि जनजीवन अस्तव्यस्त बनाइरहेको छ । सिरियामा जन्मिएका करिब ५० लाख बालबालिकाले कहिल्यै पनि देशलाई शान्तिपूर्वक चिनेका छैनन् ।
झण्डै ८० हजार भन्दा बढी सिरियालीहरूले जोर्डनको विशाल जातारी शिविरलाई घर भन्छन् र तिनीहरूमध्ये धेरैले तत्कालका लागि आफ्नो देश बाहिर बस्नुपर्ने हुन सक्छ । जोर्डनको राजधानी अम्मानमा युएनएचसीआरका प्रतिनिधि डोमिनिक बार्ट्सले हालै बताए अनुसार तत्कालका लागि उनीहरूको स्वदेश फिर्तीको सम्भावना आशाजनक देखिँदैन ।
उनले भने, “हामीले सिरियामा स्वदेश फिर्तीका लागि अनुकूल वातावरण देखिरहेका छैनौं ।”
समग्रमा जोर्डनले सिरियाबाट लगभग छ लाख ७५ हजार दर्ता भएका शरणार्थीहरूलाई आश्रय दिन्छ र तिनीहरूमध्ये अधिकांश स्थानीय समुदायहरूको बीचमा जोर्डनको शहर र गाउँहरूमा बस्छन् । केवल १७ प्रतिशत मात्र दुई मुख्य शरणार्थी शिविरहरू, जातारी र अजराकमा बस्छन् ।
पाँच वर्षअघि म्यानमारमा हजारौं रोहिङ्ग्याहरू आफ्नो घर छोडेर भागेका थिए । छिमेकी देश बङ्गलादेशको सीमापारी रहेको विशाल कक्स बजार शिविरमा करिब १० लाख शरणार्थी बस्छन् । यसै वर्षको मार्चमा, संयुक्त राष्ट्रसङ्घले शरणार्थीलाई घर फर्काउने आफ्नो नवीनतम योजना सुरु गरेको थियो ।
शरणार्थी र छिमेकी समुदायहरू (पाँच लाखभन्दा बढी बङ्गलादेशीहरू) को लागि ८८ करोड १० लाख अमेरिकी डलर भन्दा बढीको लागि आह्वान गरेको थियो । यो सहायतामा अत्यधिक निर्भर छन् ।
संयुक्त राष्ट्रसंघीय शरणार्थी निकायको तथ्याङ्कअनुसार डिसेम्बरसम्ममा युरोपभरि ७८ लाखभन्दा बढी युक्रेनी शरणार्थी रहेका छन् ।
सन् २०२० को नोभेम्बरमा सुरु भएको इथियोपियाको टिग्रे क्षेत्रमा सशस्त्र द्वन्द्वका कारण लाखौं मानिस विस्थापित भएका छन् । यस वर्षको अन्त्यसम्ममा अन्तर्राष्ट्रिय मध्यस्थतामा एक नाजुक युद्धविराम कायम भएको जस्तो देखिन्थ्यो र महिनौंसम्म दुर्गम उत्तरी क्षेत्रहरूमा सहायता फिर्ता भइरहेको थियो । साथै धेरै जना आफ्नो बिग्रिएको जीवनको पुनर्निर्माण गर्न घर फर्केका थिए ।