राजा बिरेन्द्रबाट हुकुम भयो : रारामा आर्मी थप्नु पर्छ कि पर्दैन ?

लामो समय नेपालको संरक्षण क्षेत्रमा काम गरेका शिबराज भट्टसँगको आत्म मन्थनको यस अघि पहिलो अंक मन पराएर स्वदेश तथा विदेशमा रहनु भएका हाम्रा तमामौँ पाठकहरुले अत्यन्तै सकारात्मक सुझाव तथा प्रतिक्रिया व्यक्त गर्नुभएकोमा धन्यबाद दिन चाहन्छौँ । भट्टसँगको आत्म मन्थनको पहिलो अंक लाखौँ पाठकले हरेक शब्द शब्द पढेर इमेलमा प्रतिक्रिया पठाएको देख्दा नेपालकथा परिवारलाई निकै हौसला बढेको छ । व्यक्तिको चरित्रलाई सकारात्मक तवरले उजागर गर्दा समाजले निकै सुक्ष्म ढंगले हेर्दाे रहेछ भन्ने आभास हामीलाई भएको छ । अतः भट्टसँगको यो दोस्रो अंकको प्रस्तुती उहाँकै शब्दमा ।


मैले बिएस्सी फरेष्ट्री पास गरे । वाइल्ड लाइफ पढेको भएकाले म राष्ट्रिय निकुञ्ज विभाग तर्फ जागिर खोज्न हानिए । त्यहाँको डिजीसाफ विश्वनाथ उप्रेती सर हुनुहुन्थ्यो । यो २०४४ सालतिरको कुरो हो । विभागमा कसैलाई त भेट्नु पर्छ भन्ने आँट आएर म त्यहाँ गएको थिए । ठूल्दाई ( दिब्यदेव भट्ट) ले पनि जाऊ भन्नु भएको थियो । एक दिन सिँधै विभागको हाकिमलाई भेट्छु भनेर भित्रैबाट हिम्मत कसेर गए ।

डिजीसाफको बाहिरको बस्ने मानिसलाई मैले भेट्न आएको कुरा राखे, उनले मलाई चिटमा नाम लेख्न भने । लामो समय कुरेर बसे तर भित्रबाट कसैले पनि मलाई बोलाएन । धेरै बेर कुरेपछि लामो, गोरो, अग्लो मानिस भित्रबाट बाहिर निस्कियो । पिए जर्याक जुरुक उठ्नुभयो । मैले उठेर नमस्ते गरे । अनि मैले केही बोल्न नपाउँदै पिएले सरलाई भेट्न भनेर अघि देखि कुरेर बस्नु भाको थियो भने । उहाँले ए.. ए.. भन्दै मेरो नाम सोध्नुभयो । मैले आफ्नो नाम भने ।

अँ .. ल ठिक छ, हिँड भन्नुभयो । विभागको माथिल्लो कोठाबाट सिडिमा म उहाँको पछि पछि हिड्दै गए । किन बोलाउनु भयो ? चिट दिँदा भित्र नबोलाएको मान्छे । अगाडी अगाडी उहाँ पछि पछि म । उहाँ सरासर गाडीमा बस्नु भयो । फर्केर हेर्नु भयो र मलाई ल यता पछाडी बस भन्नुभयो ।

म अक्क न मक्क पर्दै गाडीमा बसे । पढाईको क्रममा म बर्दियामा एउटा रिसर्च गर्न गएको बेलामा मैले उहाँलाई भेटेको थिए । जब गाडीमा बसेर अलि कुरा भयो, उहाँलाई कता कता देखेको लाग्छ भन्दै सम्झँदै जाँदा त बर्दियामा मैले भेटेको सम्झे । अनि सोही कुरा मैले राखे । उहाँले ए… हो त नि भन्नु भयो । जुन मान्छे विभागको डिजी विश्वनाथ उप्रेती सर हुनु हुँदो रहेछ पछि पो थाहा भयो । उहाँले आफै भन्नुभयो, तिमीलाई थाहा रहेनछ, त्यो बिल्डिङको हाकिम विश्वनाथ उप्रेती भनेको मै हुँ । कलेजका ठिटाहरुलाई सबै कुरा थाहा हुदैन । अब त था भो नि भन्नुभयो, हाँसेर ।

म त झन नतमस्तक भए । वाइल्ड लाइफ पढ्दै गर्दा उहाँको नाम निकै मजाले सुनेको तर चिनजान नभाको मान्छे । बबरमहलबाट गाडी चढेर कुरा गर्दै गर्दा उहाँले मलाई पहिलो प्रश्न सोधेको मलाई ताजा रुपमा याद छ । तिमीले किन वाइल्ड लाइफलमा जागिर खाने मन गरेको भनेर सोध्नु भयो ?

मेरो यो विषयमा बढी रुची भएकोले मैले कलेजमा पनि वाइल्ड लाइफ नै पढे । बिएस्सी पनि सके । त्यसैले जागिरको लागि आएको हुँ सर भन्न नपाउँदै दुर्गममा जान सक्छौ त भन्नुभयो । त्यसको पनि मैले सक्छु भन्ने आँट गरेरै पढेको हुँ सर भने । अगाडीबाट यस्सो पछाडी फर्केर मेरो अनुहार हेर्नुभयो । फेरी सोध्नु भयो, साँच्चै सक्ने आँट छ त ? मैले सक्छु सर भने । उहाँ मुसुक्क हाँस्नु भयो ।

त्यो दिन झुम झुम पानी परिरहेको थियो । गाडी एअरपोर्ट पुगेर रोकियो । उप्रेती सरले यो भाई र तिमी यतै बस भनेर ड्राइभरलाई भन्नुभयो । करिब दुई ÷ तीन घण्टापछि उहाँ गाडीमा आउनुभयो । त्यो अवधिमा निकै बोर लाग्यो । गाडीमा बिना कामले बसेको फिल त भयो तर पनि त्यो दिनको मेरो साइत ठिकै परेको रहेछ भन्ने अहिले सम्झिने गर्छु ।
त्यो दिन गैडा विदेश पठाउने कार्यक्रम रहेछ, उप्रेतीसरको । एअरपोर्टबाट फेरी फर्केर विभागमा आएपछि उहाँले आफ्नो पिएलाई यो भाईको एउटा निवेदन लिइ राख भन्नुभयो । नूतराज खनाल सायद पिए हुनुहुन्थ्यो ।

तीर्थराज चन्द वन पैदावार विकास समितिमा काम गर्नुहुन्थ्यो । बानेश्वरमा उहाँ र मेरो डेरा एउटै घरमा थियो । मैले निवेदन दिएको केही दिनपछि उहाँले साँझ अफिसबाट आएर तपाईको जागिर भइसकेको रहेछ नि भन्नुभयो । त्यति बेलाको अस्थायी जागिर थियो त्यो । मलाई निकुञ्जमा काम दिइसकेकोले यो मान्छेलाई अन्यत्र जागिर नदिनुहोला भन्ने बोद्धार्थ विकास समितिमा गएको रहेछ र उहाँले निकुञ्जमा मेरो अस्थायी जागिर भइसकेको कुरा थाहा पाउनु भएको रहेछ ।

खासमा कुरा के थियो भने अरु ठाउँमा पाउँदासम्म निकुञ्जमा जागिर खाने कम प्रचलन थियो । हामीभन्दा अगाडि पनि निकुञ्जमा जागिर खाएर प्रभु बुढाथोकी, मनबहादुर खड्का लगायतका केही साथीहरुले निकुञ्जको जागिर छाडेर अन्य विभागमा जागिर गर्नुभएको थियो । उप्रेती सरलाई भर्खरका जागिर खाने केटाहरुलाई विभागमा टिकाउन निकै गाह्रो भइरहेको बेला यस्तो बोद्धार्थ दिने गरेको रहेछ ।

आफूसँगै एउटै घरमा बस्ने मानिसले जागिर भइसकेको भनेपछि त विश्वास पनि भयो । त्यो रात खुसीले सुत्नै सकिन । घरपरिबार टाढाको बैतडीमा थिए । चिठ्ठी पठाएर खवर पुग्थ्यो । कोलाई भन्नु हर्षको कुरो । आफै खुसी भए, आफै रमाए भन्नु पर्यो । साँच्चै त्यो रात निद लागेन । खुसीले शरिर छटपटियो पनि ।

भोलीपल्ट कतिखेर नौ, दश बज्ला भइरहेको थियो । निकै रहर गरेर विभाग गए । पिए शाखामा पुग्ने बित्तिकै थाहा पाइसके कि जागिरको चिठ्ठी बनिसकेको रहेछ भनेर । मैले जागिरका लागि निवेदन छाडेको थिए, ती पिएले पनि मलाई बधाई दिए ।


मैले ती पिएले मलाई निकै मिठो ढंगले डिजी साफको कोठामा पसाए । केही दिन अघि जागिरका लागि मेरो निवेदन समातेका पिएले चिया समेत खुवाए भित्र पस्नु अघि । भित्र पसे, उप्रेती सरले हाँसेर ल अब काम सुरु भयो तिम्रो भन्नुभयो ।उप्रेती सरले बोलेको पहिलो बाक्य ल कान्छा अब जागिर पायौ, अन्यत्र जाने होइन नि भनेको मलाई याद छ ।

उप्रेती सरले त्यही दिनमै चिठ्ठी बुझेर चितवनमा काम सिक्ने भन्नुभयो । त्यतिबेला आफ्नो ओड्ने, ओछयाउने आफैले बोकेर जानु पथ्र्याे । मैले बानेश्वर डेरामा भएको ओछयान, बिस्तरा बाँधेर चितवनको सहायक वार्डेनको जागिरमा हिडे । विभागले रेडियो सेटबाट चितवन अफिसलाई नयाँ कर्मचारी त्यहाँ आउन थालेको खबर दियो ।

काठमाडौँबाट ओछ्यानको पोका पन्तुरा बोकेर बसमा भरतपुर पुगे । भरतपुरबाट कसरा जाने यातायातको सुविधा थिएन । त्यतिबेला रामप्रित यादव सर मेरो पहिलो हाकिम हो । रामप्रित सरले गाडी पठाइदिनु भयो । साँझ कसरा पुगे ।
वारी जगतपुरमा निकुञ्जको गाडी राख्ने एउटा टहरो बनाएको थियो । पारी जान पुल थिएन । काठको डुँगा तरेर कसरा पुगे ।
करिब दुई हप्तामा कसराको अड्डामा काम सिके । विद्यार्थीबाट अड्डामा काम गर्ने भइयो । निकै चाख लागेर काम सिके । पछि सौराहा पठाइयो मलाई ।

सौराहामा त रेञ्जर, गेमस्काउटको हाकिम भइयो । जीवन हो, कताबाट कता पुगिदो रहेछ । सबैले त्यहाँ हाकिमसाफ भनेको सुन्दा आफै अचम्ममा पनि परियो । (हाँस्दै…) म सिकाईको दौरानमा थिए । मैले सौराहामा रेञ्जरबाट धेरै काम सिँके । सौराहामा होटलबाला छन्, एनटीएनसीको कार्यालय छ । घाँस, दाउरा समातेका मुद्धामा के गर्ने भन्ने कुरा रेञ्जरलाई सोधेर निर्णय लिन्थे । कुन चिठ्ठीमा तोक लगाउँदा के लेख्ने भन्ने पनि मैले रेञ्जरबाट सिकेको हुँ ।

निकुञ्ज भनेको हाम्रो हो, गाईबस्तुलाई भित्र छिर्न दिनै हुँदैन भन्ने मूख्य मूलमन्त्र मानेर काम गर्ने गरिएको रहेछ, त्यहाँ । मैले पनि त्यही मन्त्र अनुशरण गरे । दैनिकजसो सयौँ गाईबस्तु निकुञ्जबाट लेखेटेर बाहिर निकाल्ने काम गरे । अहिलेको जस्तो चोरी शिकारको समस्या त्यतिबेला खासै सुनिदैन पनि थियो । गाई बस्तुलाई भित्र छिर्नै दिन हुन्न र गाई वस्तु छाड्नेलाई थुन्ने, थर्काउने जस्तो थियो जागिर त्यतिबेलाको ।

म सौराहामा करिब डेढ महिना जति मात्र बसे । रारा निकुञ्जको हाकिम मेघबहादुर पाण्डेलाई बिसञ्चो भएको खबर मैले हाम्रो रेडियो सेटमा सुनेको थिए । त्यो पनि उहाँका दाई सूर्यबहादुर पाण्डेले लामटाङ निकुञ्जबाट बोलेको । केही दिनपछि मलाई एउटा चिठ्ठी आयो, तपाईलाई रारा पठाइएको छ भन्ने व्यहोराको । त्यतिबेला विभागमा डिजी, इकोलोजिष्ट रहने व्यवस्था थियो, डिडिजी रहने व्यवस्था थिएन । इकोलोजिष्टमा सनत ढुंगेल हुनुहुन्थ्यो ।

म चितवनबाट बसमा नेपालगञ्ज गए, सौराहाको ओछ्यान बिस्तार कसेर । बडो मुश्किलले जुम्लाको तत्कालिन शाही नेपाल वायु सेवा निगमको टिकट लिए । जुम्लामा डिएफो डा. बिजय सिंह दाई हुनुहुन्थ्यो । उहाँको क्वाटरमा बसे । यो कुरा २०४५ साल बैशाख, जेठतिरको हो । त्यसपछि म हिडेर रारा आए ।

सौराहामा दिनमा एकदमै व्यस्त भइरहनु पथ्र्याे । रारामा पुगेपछि कामविहिन भएको जस्तो महसुस भयो । त्यतिबेला रारामा वार्डेन सेमिनार भएको थियो । सेमिनारले रारा बिस्तारको कुरा जोडदार ढंगले उठाएको थियो ।

त्यही कुरालाई लिएर सात दिनको जति योजना बनाएर रेञ्जर सहितको टिम लिएर राराको क्षेत्र फिल्ड हिडे । अरु सबै ठाउँमा स्थानीयले निकुञ्ज बिस्तारमा राम्रै कुरा गरे तर सिँजामा भने एकजना भद्र व्यक्तिसँग हाम्रो भनाभनै भयो ।
उहाँले जनतालाई मर्का पार्ने काम नगर्नुहोस भन्ने तर्क राख्नुभयो । उहाँले आर्मीले चेलीबेटीलाई आँखा लगाउने गर्छन भन्ने सम्मको कुरा राख्नुभयो । बादबिबाद र तर्क बितर्क धेरै भयो, उहाँले हाम्रो कुरा मान्न तयार हुनु भएन । हामी फिल्डको निरीक्षण गरेर फर्कियौँ ।

रारामा त्यतिबेला आर्मी तर्फ क्याप्टेनको दरबन्दी थियो । एकदिन क्याप्टेन साफ र म घोडा चढेर कार्यालयतर्फ फर्किदै गर्दा काठको पुलमा घोडाको खुट्टा फस्यो । भोलिपल्ट त्यही काठको पुलमा काठ ठोक्नै लागेका बेला आकाशमा हेलिकोप्टर घुमेको आवाज आयो ।

नजिकै रहेका क्याप्टेनसाफलाई हेलिकोप्टरको बारेमा सोधेको त उहाँले बिस्कुट पुरयाउन आएको होला भन्नुभयो । हेलिप्याड आँखाले देखिन सक्ने दुरीमा थियौँ । हेलिकोप्टरबाट राजा विरेन्द्र र रानी ऐश्वर्य झरेको पो देखियो । त्यसपछि त म अलि चनाखो भएर हेलिकोप्टरतिर गए । क्याप्टेन साफ त ब्यारेकतिर दगुर्नुभयो, उहाँ सामान्य पोशाकमा हुनुहुन्थ्यो । उहाँले पछि आर्मीको पोशाक लगाएर आउनु भयो ।

राजाले आफैले हेलिकोप्टर चलाएको रहेछ । अगाडिको पाइलट सिटबाट ओर्लेको मानिस नै राजा बिरेन्द्र । कोपाइलट प्रधान थरको रहेछन् । पछि चिनजानमा थाहा भयो । हेलिकोप्टरबाट बिस्तारै श्रुती, निराजन, विवेक शाह, कर्नेल शान्तबहादुर मल्ल, सुर्खेतका डिएस्सपी अशोक श्रेष्ठ लगायतका व्यक्ति देखिनुभयो । मध्यपश्चिम भ्रमणका क्रममा सुर्खेत मुकामबाट राजा बिरेन्द्र सहितको टोली बिना सूचना रारा भ्रमणमा पुगेको पछि पो थाहा भयो ।

राजासँग दर्शनभेट पछि मैले वार्डेन आफू भएको जाहेर गरे । मेरो लामो दाह्री थियो, बाक्लो ज्याकेट लगाएको थिए । राजाले आज तिमीहरुको शनिबार है हुकुम भयो । मैले हो सरकार भने । राजा बिरेन्द्रले कालो चस्मा, क्याप, खैरो स्वीटरमाथि हाफ ज्याकेट र जिन्स पाइन्ट लगाएको । अग्लो, गोरो मान्छे । रानी ऐश्वर्यलाई सारीमा देखे ।

राजाले त्यो अवसरमा तालको अवस्था, चराहरुको आउने गरेको लगायतका कुरा हुकुम भए अनुसार मैले जवाफ दिए । हेलिप्याडबाट अफिससम्म आउँदा राजा, रानीसँग कसरी हिड्ने भन्ने थाहा थिएन, सबैभन्दा पछि लागेको थिए तर राजाको एडिसी करसाफले राजासँग हिड्न भने र राजाले साधेको जवाफ दिँदै हिडे ।

हाम्रो अफिस नजिकै धारामा पानी बगिरहेको थियो । पानी बगेको देखेर राजा बिरेन्द्र आफै पानी बन्द गर्न थाल्नुभयो । पानी बन्द भएन, म निकै नर्मश भइसकेको थिए, राजा आफै पानी बन्द गर्न गएको देखेर । बन्द नभएपछि खै त पानी खेर गयो नि भनेको मात्र सुने । हेर्न सकिन राजाको अनुहार ।

लञ्च हेलिकोप्टरमा रहेछ । हेलिकोप्टरबाट कतिबेला लञ्च पाकेट आयो भन्ने मैले हेर्न पाइन । अधिराजकुमार निराजन सानै, दिपेन्द्र बाहिर पढ्ने भएर नल्याएको भन्ने कुरा थाहा पाए पछि । निराजनको हातमा क्यामरा थियो । राजालाई मैले ब्रिफ गरेको तस्बिर खिचेको मैले बेला बेला देख्थे ।

यहाँनिर मलाई खुब रोचक लागेको कुरा के भने नि निराजनले त्यो ठाउँमा जति पनि तस्बिर लिए, राजा, रानीको अनुमति लिएर मात्र पोज लिए । कति सानो कुरामा पनि संस्कार डेभल्प भएको हुँदो रहेछ भन्ने लाग्यो मलाई । लञ्च भन्दा अघिको चिया, कफी, फलफूल हेलिकोप्टरबाट ल्याएको थियो । उहाँहरुले फलफूल खाइसकेपछि मलाई पनि ब्रिफिङका लागि निर्देशन भयो । मैले टिनको टेबुलमा निकुञ्जको नक्सा बिछ्याउँदै फोल्डिङबाला टिनको दुईवटा कुर्शिमा राजा, रानीलाई राखेर आफ्ना कुरा राखेको हुँ ।

मैले राजा, रानीलाई ब्रिफ गरिरहेका बेला निकुञ्जका अरु स्टाफलाई पनि नजिकै राखिएको थियो । एउटा स्मरणीय घटना छ यो ब्रिफिङसँगको । एक जना हाम्रा सुब्बाले खल्तिमा हात हालेर उभिरहेका थिए । ती सुब्बा साफलाई राजा, रानीको अगाडि उभिएको खासै महसुस नभएको कुरा सायद सेनाका मानिसलाई लाग्यो होला । सेनाको करसाफले मलाई बोलाएर हात तल गर्न भन्न अनुरोध समेत गर्नुभयो ।

मैले नक्सा राखेर बोलिरहेका बेला राजा बिरेन्द्रले जुम्लाबाट रारा आउने बाटो देखाउ त हुकुम भयो । मैले देखाउन त देखाए । सायद राजालाई मैले नक्सा पढ्न सक्छ कि सक्दैन भन्ने टेष्ट गरेको हुनुपर्छ जस्तो लाग्छ । मैले डराइ डराई सुरु गरेको त्यो ब्रिफिङ झण्डै एक घण्टा चल्यो । मैले राराका बारेमा जानकारी दिने भन्दा बढी राजा बिरेन्द्रबाट जिज्ञासा धेरै आए ।सगरमाथा त्यस्तो छ भने रारामा किन भएन, बर्दियामा त्यस्तो छ भने यता किन हुन सकेन भन्ने जस्ता निकै धेरै जिज्ञासा राजाबाट हुकुम भएपछि म बिस्तारै खुल्दै गए । म भित्रको एक किसिमको डर हराउँदै गयो ।

मलाई धेरै जसो रारा बिस्तारको कुरा धेरै पटक हुकुम भयो । राजा बिरेन्द्रले निकुञ्जको क्षेत्र विस्तार गरेपछि सेना बढाउने तिम्रो योजना के छ ? भनेर सोधनी भयो । मैले सेना बढाउनु पर्दैन होला सरकार भने । यो कुरा राजाबाट तीन÷चार पटक सोधनी भयो मसँग । एउटै कुरालाई धेरै पटक सोधेको म पनि अचम्ममा परे ।

हाल भइरहेको एउटा गुल्मले नौ वटा पोष्ट लिदो रहेछ । त्यसैले आर्मी बढाउनु पर्दैन सरकार भने । मैले त्यति भनिसकेपछि राजाले मलाई फेरी हुकुम भयो, तिमीलाई थाहा छ, निकुञ्जमा आर्मी किन राखेको हो ?

यति कुरा राजाको मुखबाट सुनेपछि म चुप्प लागे । मैले थप बोल्ने आँट गरिन । राजा बिरेन्द्रले त्यसो भए रारा बिस्तार पछि आर्मी थप्नु पर्छ कि पर्दैन भनेर फेरी हुकुम भयो । म चुप्प बसे । सायद राजा बिरेन्द्रले निकुञ्ज बिस्तारसँगै आर्मी थप्ने योजना मैले भन्छ भन्ने अपेक्षा राख्नुभएको थियो होला ।

तर मैले त्यो कुरा भन्न सकिन । किन कि मैले फिल्ड अनुगमन गर्दा स्थानीय बासिन्दाले निकुञ्जको भन्दा पनि सेना राख्यो भने गाह्रो हुन्छ भन्ने कुरामा निकै बिरोध गरेको पाएको थिए । पहिलो चरणमा निकुञ्जको घोषणा गरेर हेर्ने पछि सेना थप गर्नुपर्ने भएमा सजिलै गर्न सकिन्छ नि भन्ने मेरो बुझाई थियो । त्यही अनुसार बिस्तारको योजना बनाउने कोशिस गरिरहेको थिए ।

राजाले बिचबिचमा तिमिले कहाँबाट पढेको ? कति पढेको ? घर कता हो ? भनेर पनि हुकुम भयो । सायद राजाले रारासँग यसको जनजीवन कतिको भिजेको छ ? राराको भूगोलसँग यसको सम्बन्ध कस्तो छ भन्ने जान्नका लागि होला जस्तो लाग्छ मलाई । तिम्रो समस्या के छ भनेर अन्तिममा राजाले हुकुम भयो । सरकारलाई मैले एउटा कुरा भने, त्यहाँनिर । सरकार हामीले रासन पाएपछि दुर्गम भत्ता घट्यो, त्यसले हामीलाई दुर्गममा बसेर काम गर्न गाह्रो छ सरकार भनेर बिन्ति चढाए । राजाले तत्काल शान्तकुमार मल्ललाई किन यस्तो भनेर सोधनी भयो ।

राजा बिरेन्द्रको शुक्ष्म हेराई त्यो पटक मैले पाए । ब्रिफिङ सकिएपछि मेरो अफिसको निरीक्षण भयो र सेनाको व्यारेक हर्ने दौरानमा क्वाटर गार्ड भवन नयाँ बनेको तर टिनको छाना अलि नमिलेको थियो । राजाको नजर त्यही छानामा परिहाल्यो ।
राजा बिरेन्द्रले बोलेका शब्द मलाई याद छन् । यो त युरोप पो हो त नेपालको । यहाँ हिउँ परिरहन्छ । हिउँ अडिने गरी बनाएको घर धेरै दिन टिक्दैन नि । अलि स्लोप बनाउ फेरी ।

त्यो घरको एउटा पिलर पनि बाङ्गो रहेछ । इस्टिमेटमा पिलर नि बाङ्गो थियो ? राजाको मुखबाट यति शब्द निस्किने बित्तिकै रानी ऐश्वर्य खित्का छाडेर हास्नुभयो, पछाडीको सबै जना हाँसे । मलाई त अलि डर लागेको थियो । तर रानीको हसाईले त्यो इस्यु फुस्सा भयो जस्तो लाग्यो । पछि त्यो भवनको बारेमा माथिबाट सोधनी कसैलाई भएन । त्यसको लेखापढी गर्न परेन ।


राजासँंग राराको किनारमा
रारा ताल नजिक पुगेपछि राजा बिरेन्द्र तालको किनारमा निर्माण गरेको काठको बस्ने टेबलमा सिगार तानेर एक्लै बसिबक्स्यो । शान्तबहादुर मल्ललाई बोलाएर वार्डेनलाई यता पठाउन त भनेको सुनियो । म राजा बिरेन्द्रको नजिक गए । त्यतिबेला राजा बिरेन्द्रले रारा बिस्तारका लागि दरबारबाट एउटा अध्ययन टोली पठाई दिन्छु हुकुम भयो । मैले हस् सरकार भने । सुर्खेतको सवारीमा रारा बिस्तार गर्न हुन्न विषय राजा बिरेन्द्रसम्म पुगेको थाहा पाए ।

त्यसको डेढ महिना पछि एउटा आवा आयो, आर्मीको च्यानलबाट । वार्डेन, गुल्मपतिले जिल्ला पञ्चायत सभापति, सिडियो र प्रहरी हाकिमलाई बोलाएर राख्ने भन्ने निर्देशन आयो । हाम्रो डिजी साफ उप्रेती सरबाट पनि ज्ञानेन्द्र सरकार आउने कुरा भएको छ, म पनि आउन्छु । तयारी गर्नु भन्ने निर्देशन प्राप्त भयो ।

तत्कालिन अधिराजकुमार ज्ञानेन्द्र सहितको टोली रारा आइपुग्यो । अधिराजकुमार ज्ञानेन्द्रलाई ब्रिफिङ गर्दा निकै कडा स्वभाव पाए । केही दिन अघि राजा बिरेन्द्रसँग बिन्ति चढाउँदा एउटा स्थिति थियो । अब ज्ञानेन्द्रसँग कुरा गर्दा निकै डर लाग्यो ।

मैले फिल्ड अध्ययन गर्दा देखिको यो अवधिसम्ममा बिभिन्न मान्छेले रारा बिस्तार गर्दा सेनाले दुख्ख दिन्छन् भन्ने खालका भाषाका राजदरबारमा १४ वटा उजुरी परिसकेका रहेछन् । हाकिमले निकुञ्ज बढाउन खोज्दैछ, हाम्रो चेलीबेटीलाई गाह्रो हुन्छ, घाँस दाउरा पनि गर्न पाइदैन । यो तत्काल रोकी पाउँ भन्ने उजुरी, बिन्ति पत्रको ओइरो लागेको रहेछ ।

मैले त राजा बिरेन्द्रको अगाडि गरेको झैँ ब्रिफिङ गर्न के थालेको थिए, अधिराजकुमार ज्ञानेन्द्रबाट त तिमीले जनतालाई तर्साइ राखेको छौ रे नि भन्ने हुकुम भयो । म त अक्क न बक्क परे ।
मैले त्यस्तो त गरेको छैन सरकार मात्र भने । अधिराजकुमार ज्ञानेन्द्र र हाम्रो डिजी साफ उप्रेती सरको आँखा जुधेको जस्तो लाग्छ सायद त्यति बेला । अनि उप्रेती सरले यो भर्खरको केटो हो, त्यस्तो तसाई हाल्ने बानी परिसकेको छैन होला सरकार भनेको मैले सुने ।

अधिराजकुमार ज्ञानेन्द्रले जनतालाई रिझाएर काम गर्नुपर्छ भन्ने शब्द बोलेको सुनेपछि मैले हस् सरकार भने । त्यति बेला उप्रेती सरलाई राजदरबारले निकै ठूलो विश्वास गरेको हुन्थ्यो । मैले त्यहाँ भन्न, बोल्न नसकेको कुरा पनि उप्रेती सरले भनेपछि अधिराजकुमार ज्ञानेन्द्र ए…ए.. भनेको मैले त्यहाँ सुने । अधिराजकुमार ज्ञानेन्द्रको अधिकांश कुरा अंग्रेजी भाषामा हुन्थ्यो । त्यो टोलीले स्थानीय नेता, भद्रभलादमी सबैसँग राय लियो । बिस्तारमा बिरोध आयो ।

जुम्ला क्षेत्रमा निकुञ्जको भाग बिस्तार गर्ने योजना मेरो थियो । त्यो बिस्तारको योजना १४ वटा उजुरीसँगै तुहियो । मेरो जागिरको सुरुवाती दिनको कुरालाई मैले अब यो उमेरमा आएर सम्झिदा मैले रारा बिस्तार हुन नसक्नुमा आफ्नै कमजोरी हो भन्ने ठानेको छु ।

नेपालका कुनै पनि निकुञ्ज जनतालाई सोधेर घोषणा भएका छैनन् । मैले पनि जनताको घरघरमा गएर यो कुरा नभनेर आफ्नो प्रक्रियामा गएर रारा बिस्तार गरेको भए, आजसम्म रारा बिस्तार भइसक्थ्यो होला । तर मैले सबै जनताको मनोभावना बुझ्ने कोशिस गरे । त्यसका बिरुद्धमा राजदरबारमा १४ वटा उजुरीको चाङ लाग्यो ।

अहिले मलाई त्यो कुरा याद आइरहन्छ कि राजा बिरेन्द्रसँग त्यो दिनको ब्रिफिङमा किन सेनाको संख्या थप्ने कुरालाई धेरै पटक सोधनी भएको थियो भन्ने कुरा । त्यतिबेला दरबारले रारा बिस्तारको उजुरी हेरिसकेको रहेछ । तर अर्काे कुरा पनि सत्य हो कि म भन्दा पछिका वार्डेनले त्यो प्रयास गरे कि गरेनन् ? प्रयास गरेर हुन नसकेको हो वा प्रयास नै नभएको हो ? यो बिचारणीय कुरो हो ।

करिब तीन दशकको जागिरे जीवनमा मैले सबैलाई खुसी पार्न सके त भन्न सक्दिन । बिगार पनि गरेको छैन जस्तो लाग्छ । तर पनि रारा बिस्तारको योजना तुहियो, राजासँग आधा घण्टा एक्लै कुरा गर्ने मौका पाए, रारा बिस्तारको योजना बुझाउन नसकेको हुँ कि जस्तो लाग्छ ।

तत्कालिन राजदरबारले चाहेको भए त बिस्तार हुन सक्थ्यो भन्ने कुरा पनि कहिले काँही मनमा खेल्ने गरेको छ । बिस्तार गर्न खोजेको क्षेत्र पछि मध्यवर्ती क्षेत्रमा त आयो तर पनि कोर एरिया बनाउन सकेको भए, रारा अझै मिठो रारा, निको रारा र ठूलो बगैचाको रारा हुन्थ्यो । रारा बिस्तारकोे सपना मेरो सपनामै रह्यो ।

(भट्टसँगका थप रोचक कुरा आगामी तेस्रो अंकमा )

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here