पाठेघर उपचारमा शिविरकै भर

अछाम — उमेर बल्ल २७ वर्ष । साथमा ५ छोरी । तीन पटक गर्भपतन गराइसकेकी । अछामको दुर्गम ढकारी गाउँपालिका–५ की नन्दा (नाम परिवर्तन) को १४ वर्षको उमेरमा विवाह भयो ।

बिहेको १३ वर्षमा उनी ५ छोरीकी आमा भइसकिन् । गर्भमा भएका ३ भ्रूण पनि छोरी नै भएको थाहा पाएपछि उनले भारतको लखनउ गएर गर्भपतन गरिन् । उनलाई फेरि छोरा पाउनैपर्ने दबाब छ ।

एक वर्षदेखि पाठेघर खस्ने समस्याले पीडित उनलाई आफ्नो स्वास्थ्य ठिक नभएको महसुस धेरै पटक भयो । योनिमार्गमा केही भारी वस्तु आएर बसे जस्तो हुने, तल्लो पेट, कम्मर दुख्ने र तिघ्रादेखि खुट्टासम्मै दुख्दा अप्ठ्यारो हुने गरेको छ । ‘यस्ता समस्या देखिन थालेपछि जिल्ला अस्पताल मंगलसेन गएँ । त्यताबाट ठूलो अस्पतालमा गएर जाँच गर्न भनेका थिए,’ उनले भनिन्, ‘छोरी धेरै जन्मेको भन्दै श्रीमान्, सासूससुराले पनि वास्ता गर्दैनन् । उपचार गर्न एक्लै जान सकिँदैन ।’

मंगलसेन नगरपालिका–१३ बस्तीकी ४१ वर्षीया रत्ना (नाम परिवर्तन) को पाठेघर खसेको आठ वर्ष भयो । सुरुका केही वर्ष समस्या लुकाएर बसेकी उनले रोगले च्याप्दै गएपछि भने उपचार गराइदिन परिवारसँग समस्या राखिन् । श्रीमान् कामको सिलसिलामा भारतमा भएका कारण उनलाई अस्पताल जान सजिलो थिएन । श्रीमान्ले समय मिलेका बेला भारतमै बोलाएर उपचार गराउने भनेपछि उनी समस्यासँग जुधिरहिन् । यहीबीच चार वर्षअघि पाठेघर खसेका महिलाको उपचारका लागि मंगलसेनमा शिविर आएपछि उनले त्यतै शल्यक्रिया गराइन् । शिविरमा डाक्टरले बेलाबेलामा स्वास्थ्य जाँच गराइराख्न सुझाएका थिए । ‘म एक्लैले कहाँ गएर जँचाउनु । समस्या फेरि उस्तै छ । श्रीमान् बम्बैमा छन् सबैसँग भन्न पनि सकिँदैन,’ उनले भनिन्, ‘फेरि शिविर आए त्यतै देखाउँला भन्ने सोचेकी थिएँ, शिविर नै आएन ।’

नन्दा र रत्ना जस्तै अछाममा धेरै महिला यो समस्यासँग जुधिरहेको जिल्ला अस्पताल अछामका डा। अतुल भारद्वाज बताउँछन् । उनका अनुसार पाठेघर खस्नु भनेको गर्भाशयलाई बाँधेर राख्ने नसा कमजोर भएर त्यससँग जोडिएका अंग बिस्तारै तल खस्नु हो । पाठेघर खस्नुका अन्य कारण कम उमेरमा विवाह हुनु, छोटो जन्मान्तरमा बच्चा जन्माउनु, बच्चा जन्मिसकेपछि चाँडै साल झर्न बल प्रयोग गरी साल निकाल्नु, सुत्केरी अवस्थामा बढी शारीरिक श्रम गर्नु र पोषिलो कुरा नखानु हो ।

पाठेघर खसेको समस्या ल्याएर आएका महिलाको उपचार जिल्ला अस्पतालमा गर्न नसकिने र सुविधासम्पन्न अस्पतालमा पठाउनुको विकल्प नरहेको डा। भारद्वाजले बताए ।

जिल्लामा महिलाको स्वास्थ्य उपचारलाई लक्षित गरेर अन्य शिविर सञ्चालन भए पनि पाठेघर खसेको समस्याका लागि केही वर्षयता शिविर सञ्चालन गर्न नसकिएको स्वास्थ्य कार्यालय अछामका प्रमुख झनक ढुंगानाले बताए ।

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here