माननीय वन मन्त्रीलाई खुला पत्र

माननीय मन्त्री ज्यू,
वन तथा वातावरण मन्त्रालय
सिंहदरबार, काठमाडौँ।

विषय : बाघ शिकार योजना स्टन्ट कि यथार्थ ?
महोदय,
यहाँले व्यक्त गर्नुभएको बाघ शिकार सम्बन्धीको भिडियो नेपाल मात्र नभई विश्वभरी भाईरल भयो । सबैले जिब्रो टोके, मन्त्री जस्तो मान्छेले के बोलेको होला भनेर । यद्दपी मैले पत्याईन । एक पटक भाइरल भइसकेको बिचार फेरी यहाँको मुखारबिन्दबाट विश्व बाघ दिवसको दिन दोहो¥याएर आयो । अनि म यो कुरा पत्याउन बाध्य भए । साथै निकै ठूलो पीडा बोध पनि भयो ।

माननीय मन्त्री ज्यू, अनि सहन नसकेर यहाँलाई यो पत्र लेख्दैछु । आराम छु, त्यता पनि आरामको कामना गर्दछु । म त सेवानिवृत मानिस, यस्तै दिनचर्या चलिरहेको छ । त्यतातर्फ काम राम्रै चलेको होला भन्ने विश्वास पनि लिएको छु । लामो समयसम्म मैले संरक्षण क्षेत्रमा मुलुकको सेवा गर्ने मौका पाए, जंगल घुमे, खोला तरे, बर्खा भनिन, हिउँद भनेर अल्छि गरिन । निकै सकसपूर्ण जागिरे जीवन बिताइयो, किन भन्दा त्यही वन्यजन्तुको रक्षार्थ, सुराक्षार्थ ।

यहाँ मन्त्री भएको धेरै दिन भएको छैन, मुश्किलले दुई महिना पुग्यो जस्तो लाग्छ । यो अवधिमा यहाँका धेरै बिबादस्पद अभिव्यक्ति नेपाली जनताले सुन्न अवसर पाए । पछिल्ला दिनमा बाघको शिकारको अभिव्यक्तिले त जग हल्लायो । प्रथमत यो बिचार हो कि यहाँले गर्न खोजेको स्टन्ट हो ? मजाले अडेर, हेरेर, बिचार गरेर टार्गेटमा कि हावामा हानेको गोली ? अहिले चलन चल्तिको सामाजिक खपतलाई हो कि विकास र समृद्धिलाई ? यो कुरामा म अलि प्रष्ट हुन सकिन ।

हिजो यहाँ के हुनुहुन्थ्यो ? के पेशा अपनाउनु भएको थियो । त्यसले खासै महत्व राख्दैन । अहिले राजकाज चलाउने ठाउँमा तपाई हुनुहुन्छ । तपाईका बोली, व्यवहारले मुलुकले निर्देशित हुने कुरालाई यहाँले बिचार पुरयाउनु भएको छ कि छैन । पछिल्लो यो अभिव्यक्ति मुलुक र जनताको हितमा छैन । यो पक्कै पनि सुबिचार होइन । विगतका हाम्रा संरक्षण राष्ट्रिय नीति, कानुन र अन्तर्राष्ट्रिय सन्धी, महासन्धी एकतर्फ छन् तर तपाईका अभिव्यक्ति ठिक त्यसका विपरित आउने गरेका छन् । यस्तो गर्न तपाईलाई छुट छ ? यो तपाईको स्टन्ट नै हो भने पनि यस्तो खालको स्टन्ट गर्ने छुट यो धर्तिमाताले तपाई दिएको छैन ।

माननीय मन्त्री ज्यू,

के विद्यमान ऐन कानुनहरु गलत भइसकेका हुन् । ती सबै खारेजीको प्रक्रियामा लैजादै हो ? होइन भने हिजो अस्तिको दिनमा बाघको संख्या दोब्बरको संकल्प गर्ने प्रधानमन्त्री, मन्त्रीहरु गलत थिए त ? बाघ दोब्बर गर्न त्याग गर्ने संरक्षणकर्मी, संरक्षण साझेदार संघ,संस्था र स्थानीय समुदायहरु सबै दोषी हुन् त ? यो के भनेको ? के बोलेको ? अरु ठाउँमा यस्ता बाणीहरु बिक्री भएपनि संरक्षणकर्मीको माझमा यस्ता शब्दहरु खासै बिकाउ होलान् जस्तो मलाई लाग्दैन । नबिक्ने कुरा यहाँले नगर्दा नै वेश होला । हुन त यहाँ विद्यावारिधि समेत गरेको व्यक्ति हुनु हुदो रछ । मैले यहाँलाई सिकाउनु पर्ने अवस्था छैन तर पनि यहाँको विद्यावारिधिले के यस्तै भन्छ, अब नेपालमा बाघको शिकार गरेर मुलुकको अर्थतन्त्र उकास्ने ।

बाघ संरक्षण समितिको अध्यक्ष प्रधानमन्त्री । यता त्यही समितिको एक जना सदस्य तपाईको बाघ शिकार बिचार भाईरल हुदै गएको छ । साउन १५ को दिन खिर खाने भएर होला बजारमा दूधको अभाव थियो तर जताततै तपाईको भनाई छताछुल्ल भेटियो, दूध भन्दा सस्तो भयो तपाईको बोली । । अब वन मन्त्रीले बाघको शिकार गरेर मुलुकलाई विकास गर्ने रे ? चियापसल, होटल अनि कार्यालय, चोक चोकमा बाघ शिकार र वन मन्त्रीको चर्चा नै चर्चा ।

प्रधानमन्त्री पद्धतिमा सर्बेसर्वा र सरकार भनेकै प्रधानमन्त्री हो । मन्त्री केवल प्रधानमन्त्रीको सहयोगी मात्रै । त्यसो भए के यो प्रधानमन्त्रीको विचार हो ? होइन भने तपाईको यो अभिव्यक्तिले सिङ्गो सरकार, संरक्षण अभियानको विरुद्धमा छ भन्ने म्यासेज प्रवाह गरेको छ ।

माननीय मन्त्री ज्यू,
वनको नेतृत्व फगत् एउटा व्यक्ति, दल र दलको नेता मात्र होईन । नीति निर्माता हो । जनताको प्रतिनिधि हो । अन्तर्राष्ट्रिय सन्धी सम्झौता कार्यान्वयन गर्ने निकायको कमाण्डर हो । बाघको बासस्थान वरिपरि बिषम र प्रतिकूल परिस्थितिसँग अहोरात्र जुध्ने, भिड्ने, लड्ने, अंगभंग हुने र जीउधनको क्षति व्यहोर्ने स्थानीय समुदाय र निकुञ्ज तथा वनका फिल्ड फ्रण्टलाईन संरक्षणकर्मीहरुको सहारा, अभिभावक र संरक्षक हो ।

तसर्थ त्यस्तो नेतृत्वको विचार स्वभाविक रुपमा गहन, मननयोग्य, आधिकारिक र सार्वजनिक चासोको विषय बन्छ र बन्नु पनि पर्छ । त्यस्तो व्यक्तिलाई जे पायो त्यहि बोल्ने छुट छैन र हुदैन पनि । कहाँ कसले दिन्छ बाघ शिकारलाई २५ मिलियन डलर ? आधुनिक संरक्षण ईतिहासमा कहाँ, कसले गराएको छ बाघ शिकार ? यो सुन्दर शान्त संसारमा कुन व्यक्ति बाघ मारेर कलंकित हुन चाहन्छ ?

नेतृत्वले केन्द्रमा बसेर गुड्डी हाँकिरहँदा भुँइतहमा ब्यापक शंका, सन्देह, दुबिधा, अन्यौल, बितृष्ण र नैराश्यता पैदा हुन्छ कि भन्ने कुरा ख्याल राख्नुपर्ने थियो । तर तपाईको स्टन्ट धेरै दिन टिकेन बजारमा । तपाईको यो बिचारसँग सहमत हुने यो दुनियाँमा कोही देखिदैनन् ।

गरिवीसँग जुधेर र जीउधनको माया मारेर बाघ संरक्षणमा लाग्दा मृत्युबरण गरेका १०० भन्दा बढी सैनिक, दर्जनौं गैरसैनिक संरक्षणकर्मी, दर्जनौं स्वयंसेवक युवाको पबित्र परमात्माले यो विचारलाई कति धिक्कारे होलान् । घाईते र अंगभंग भएर पनि संरक्षणमा लागिरहेका बाघप्रेमी संरक्षणकर्मीहरुको मुटु कति छियाछिया भयो होला । बाघलाई भगवान र राष्ट्रिय पूँजी मानेर वन्यजन्तु अपराध नियन्त्रणमा ज्यान जोखिममा राखेर लागि पर्ने नेपाल प्रहरी र सशस्त्र प्रहरीको आत्माले के भन्ला ? नेतृत्वलाई अप्राकृतिक, असम्वेदनशील, असामान्य, निर्दयी र निष्ठुरी हुने छुट कसले दियो ? नेतृत्वको यो कमजोर बिचारले संरक्षणमा अहोरात्र जुटेका संरक्षणकर्मी सबैको हौसला, मनोवल, उर्जाको तेजाबध गरेको छ । चोरी शिकारी र तस्करहरुलाई हौसाएको छ ।

माननीय मन्त्री ज्यू,
तपाईको दुई महिना बढीको हनिमुन पिरियड् सकिएको छ । तपाईको हनिमुन अवधि खासै सन्तोषजनक नरहेको आभास तपाईका अभिव्यक्तिबाट भइरहेको छ । तपाईको सम्बन्ध सचिव, डिजीहरुसँग खासै जम्न सकेको हैन कि भन्ने गन्ध आइरहेको छ । हनिमुनको अर्थ संरक्षण क्षेत्रको अन्तर्यमा पसेर लुकेको संरक्षण मर्म र भावनाको ज्ञान लिनु र आत्मबोध गर्नु हो । आफू मातहतका चीफ वार्डेनहरु र महानिर्देशक तथा बाघ बिज्ञहरुसँग सचिवले लिएको ब्रिफिङ्ग, पुष्ट्याँई, सिफारिस सुनेर नेतृत्वले विचार निर्माण गर्ने हो । के यहाँ सचिवले मन्त्रीलाई ब्रिफिङ्ग नगरेको हो वा गलत ब्रिफिङ्ग गरेको हो ? चेनअफ् कमाण्ड कामयावी नभएको हो ? वा नेतृत्वले ब्रिफिङ्ग नलिएको हो ? यस्तो पो शंका गरिन थालिएको छ ।

राजनीतिक नेतृत्व डाक्टर हुँदैमा बाघ बिज्ञ हुनुपर्दछ भन्ने छैन । तर, बिषय बिज्ञसँग धेरै भन्दा धेरै ज्ञान र अनुभव लिएर राष्ट्रिय अन्तर्राष्ट्रिय कानुन, नीति र मान्यता अनुकूलको परिपक्व विचार (भिजन), नीति निर्देशन दिनु संरक्षणको हितमा हुने थियो ।

आफ्ना कर्मचारीलाई शुरुमा गाली खप्की होईन, भिजन–मिसन मार्ग निर्देशन दिनुपर्ने थियो । बाघ दिवसको दिन बाघ बढाउने सारा संरक्षणकर्मीहरुलाई स्यावासी दिदै भविष्यमा बाघ संरक्षणको भिजन, योजना दिनुपर्ने दिनमा अन्तर्राष्ट्रिय संघ संस्थाहरुलाई डिक्टेट गर्ने छु भन्ने गालीको भाषा प्रयोग भयो । जसले गर्दा राष्ट्रिय र विश्व संरक्षण समुदायमा सरासर गलत सन्देश गयो । विदेशी दाताहरु जटिल र महङ्गो संरक्षण कार्यमा पवित्र मन र हातले संरक्षण सहयोग गर्न आएका हुन् । तिनकै सद्भाव, सहयोग र सहकार्यले नेपालको संरक्षण विश्वमा अब्बल र कदरयोग्य भएको हो । हाम्रो संरक्षण सिक्न आज विश्व लालायित छ । सबै फ्रण्टमा असफल राष्ट्रले प्रकृति संरक्षणको फ्रण्टमा नाम मान र शान कमाएको छ । त्यसको श्रेय ती संरक्षण साझेदार संघ संस्थालाई दिएनौं भने बाघलाई अन्याय हुनेछ ।

स्मरण होस्, ती संस्थाहरु आजका युवा पीएचडि डाक्टरहरु भन्दा जेठा छन् । सर्वमान्य, सर्वस्वीकृत र लोकप्रिय छन् । डिक्टेट्को जरुरत छैन । हो, डिक्टेट्को जरुरी राजनीतिलाई छ । बाटो विराएको राजनीति बिकृतिलाई डिक्टेट् गरेर सच्याउन सुधार्न जरुरी छ । राजनीतिले नैतिकवान, पारदर्शी र जवाफदेही भएर सुशासन दिन बिलम्ब भईसकेको छ ।

माननीय मन्त्री ज्यू,
प्रचलित ऐन कानुनको बिपरीत बोलिरहदा संरक्षणको काममा लागेका सबै सरोकारवालाहरु खनिने स्थिति आयो भने तपाईको पद, प्रतिष्ठा अनि तपाईले अघि सारेका योजनाहरु के होलान् ? आवेग र क्षणिक स्टन्टले न त तपाईको उचाई बढाउन्छ न त संरक्षणमा इटा थपिन्छ । वन मन्त्रालयमा नयाँ नेतृत्व आउने बित्तिकै बिचौलियाले घेर्ने गरेका छन् । तपाई ती बिचौलियाको चङ्गुलबाट उम्किने कोशिस गर्नुहोस् । त्यसमा तपाईको व्यक्तिगत हित हुनेछ र मुलुकले पनि नयाँ गति लिने छ ।

बाघ मारेर होईन, बाघलाई देखाएर अर्बाँैँ डलर कमाउने सपना लिएर अघि बढ्नुहोस् । बाघ बुढो, घाईते र असमर्थ हुनु स्वभाविक र सामान्य हो । तिनलाई अग्रीम पहिचान, अनुगमन गरेर बाघ र मानव दुवैलाई सुरक्षित राख्ने योजना ल्याउनुहोस् । बुढो अशक्त बाघलाई देखाएर पैसा कमाउने शुत्र अघि सार्नुहोस् ।

अन्त्यमा, प्रार्थना गरौं दुर्गा माताको बाहन तथा जंगलको राजा बाघको कानमा यो स्टन्ट भाईरल नपुगोस् । र नेपालका बाघले यो अन्यायपूर्ण, अपबित्र र अक्षम्य भाईरल रोइकराई छिमेकी मुलुक भारतका बाघलाई नसुनाउन् ।

बाबुकृष्ण कार्की
बाघ गोठालो

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here