निकुञ्जभित्रको कुनै काम पनि रोकिदैन : वन मन्त्री महतो

काठमाडौँ । शुक्रबार लगानी बोर्डको ५५ औँ बैठक डाकिएको थियो । प्रधानमन्त्री पुष्पकमल दाहालको अध्यक्षतामा सो बैठक बस्दैथियो । बैठकको मूख्य एजेण्डा २२ मेगावाटको रोल्वालिङ खोला, ६३ मेगावाटको छुजुङ्ग खोला, ४९.९५ मेगावाटको दानाखोला र ४४.५२ मेगावाटको सानीभेरी जलविद्युत् परियोजनाका लागि लगानी स्वीकृत गर्नुपर्ने थियो । बैठकले सो परियोजनाका लागि ३६ अर्ब ३७ करोड रुपियाँ लगानी स्वीकृत पनि गरयो ।

बैठकमा निकुञ्जभित्र रहेका केही अरु जलविद्युत् आयोजनाको काममा भएको ढिलाईका बारेमा पनि कुरा उठ्यो । प्रधानमन्त्री दाहालले लगानी बोर्डमा पदेन सदस्य रहेका वन तथा वातावरण मन्त्री बीरेन्द्रप्रसाद महतोलाई निकुञ्जभित्र परेका आयोजनाका काम किन ढिलाई भइरहेको बारे जिज्ञासा राख्दा मन्त्री महतोले निकुञ्जभित्रका कुनै पनि काम अब नरोकिने जवाफ दिएका थिए ।

बैठक सकिएपछि वन मन्त्री महतो आफैले प्रधानमन्त्री दाहाललाई एक छिन समय मागेर वन मन्त्रालयले हाल गरिरहेका काम बारे बेलिबिस्तार लगाए । उनले निकुञ्जभित्र निर्माण हुने कुनै पनि आयोजनाको बाँकी काम अब नरोकिने, निकुञ्जमा काम गर्न सक्ने महानिर्देशकको नियुक्ति भइसकेकोले काम गर्न अब सहज हुने र तराईको निकुञ्जभित्र बाघको संख्या निकै बढेकोले विदेशीलाई शिकार गराएर भएपनि आक्रमण गर्ने बाघको संख्या घटाउने योजना आफूले बनाइरहेको बताए । उनले प्रधानमन्त्री दाहाललाई बाघको शिकार गर्ने विषयमा संरक्षण साझेदार संघ,संस्थाको समेत सहयोग रहने बताए । त्यसो गर्दा बाघको शिकार गरेरै भएपनि संरक्षणमा हुने खर्च उठाउन सकिने तर्क उनले गरे ।

राष्ट्रिय बाघ संरक्षण समितिका अध्यक्ष समेत रहेका प्रधानमन्त्री दाहाललाई बाघको शिकार गर्न संरक्षण साझेदार संस्थाको समेत सहयोग रहने बताएपछि नजिकै रहेका हालका ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्री तथा पूर्व वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतले माननीय मन्त्री ज्यूले कन्भिन्स गर्न सक्नु भएछ ल राम्रै भयो, यस्ता क्रियटिभ काम अगाडि बढाउनुपर्छ भनेर टिप्पणी गर्दै वन मन्त्री महतोलाई थप हौसला थपेका थिए । उनले एनटीएनसीका केही साथीहरुले आफूलाई पहिल्यै देखि यो योजना सुनाउँदै आएको समेत बताए ।

लगानी बोर्डको ५५ औँ बैठक


एनटीएनसीको नेतृत्वले मन्त्री महतोसँग यस अघिको ब्रिफिङमा निकुञ्ज विभागका पदाधिकारी काम नगरेर बस्ने गरेको, विदेश घुम्न पैसा मात्र माग्ने, सहज र गर्न सकिने काम पनि नगर्ने र निकुञ्ज विभागको हरेक कामको बोझ एनटीएनसीले बोक्नु पर्ने बाध्यता रहेको बताएको थियो । सो ब्रिफिङपछि निकुञ्ज विभागप्रति जहिले पनि झर्किने र त्यो विभागले प्रमोटरलाई अल्झाउने बाहेक अरु केही गर्दैन भन्ने सम्मको टिप्पणी मन्त्री महतोले गर्दै आएका छन् । संरक्षणमा खासै लगाव नदेखिएका कृषि मन्त्रालयका क्याडर वर्तमान वन सचिव रेवतीरमण पौडेलसँगको छलफलमा मन्त्री महतोले निकुञ्ज विभागको सबै काम एनटीएनसीले गर्ने भएपछि विभागको औचित्य के समेत भनेका थिए ।

यही साउन १२ गते बाघ दिवसलाई निकुञ्ज विभागले कुपण्डोलको होटल हिमालयमा धुमधामका साथ मनाउने योजना सहित हल बुक गरेर खानाको इस्टिमेट समेत गरिसकेको थियो । जापानमा रहेका तत्कालिन निकुञ्ज विभागका महानिर्देशक डा. महेश्वर ढकाललाई यता मन्त्रीले विभागबाट सरुवा गरेर नयाँ महानिर्देशकमा डा. सिन्धु ढुङ्गाना विभागमा हाजिर भएका मात्र थिए । एनटीएनसीको नेतृत्वले मन्त्री महतोलाई जावलाखेलस्थितको चिडियाखानाको परिसरमा बाघ दिवस मनाउनुपर्ने कुरामा दवाव दियो । बाघ दिवसको तयारीमा जुटेका विभागका उपमहानिर्देशक अजय कार्कीले विभागले गरेको तयारी सम्बन्धी कुरा पुरा भन्न नपाउँदै मन्त्री महतोले होटलको कुरा छाडेर चिडियाखानामा तयारीमा जुट्न निर्देशन दिएका थिए ।मन्त्रीले एनटीएनसीका नेतृत्वलाई सोफामा कालो कफी पिलाउँदै वन सचिव र विभागका महानिर्देशकलाई बोलाएर होटल हिमालयको बुकिङ रद्ध गर्न निर्देशन दिए । भर्खर नियुक्ति पाएका सिन्धु ढुङ्गानाले मन्त्रीको अगाडि एक शब्द पनि बोल्न सकेनन्, बरु मन्त्री ज्यू चाहाना अनुसार हामीले काम गर्ने हो भनेर बाहिर निस्किए ।

विभागका कर्मचारीले बाघ दिवसको तयारीको काम धेरै अगाडि बढाइसकेका थिए । मन्त्रीको निर्देशन अनुसार अन्तिम समयमा होटलको हल अनुसारको ब्यानर बनाउने देखि लिएर खाना, चिया खाजाको सबै अर्डर गरिसकेको काम बाध्य भएर विभागले होटलसँग माफ माग्दै रद्ध गर्नुपर्यो । अनि चिडियाखानामा आयोजना गरिएको बाघ दिवसमा मन्त्री महतोले छाति पिटेर उद्घोष गरे, हो मैले भनेको हुँ, अब नेपालमा बाघको शिकार गरेर विदेशी मुद्रा कमाउनुपर्छ भनेर । मन्त्री महतोले त्यति मात्र भनेनन्, संरक्षण साझेदार संस्थालाई अतिथीको रुपमा बोलाएर गाली समेत गरे ।

मन्त्री महतोले आफ्नो पदीय हैसियत बिर्सेर नेपालमा दर्ता भएका संस्था बाहेक अरु सबै संरक्षण साझेदार संस्थाहरु विदेशमा दर्ता भएर यहाँ रजाई गर्न आएका आरोप पनि लगाए । संरक्षण साझेदार संस्थाका प्रतिनिधिहरुलाई अगाडि राखेर औला ठड्याउँदै हिजो तिमीहरुले हामीलाई डिक्टेट गर्यौँ, अब मैले तिमीहरुलाई डिक्टेट गर्छु समेत भन्न भ्याए ।

उनले विदेशमा दर्ता भएका संरक्षण साझेदार संस्थालाई गाली गरिरहेका बेला नेपालमा दर्ता भएको संरक्षण साझेदार संस्था एनटीएनसीका नेतृत्वले टोपी ढल्काउँदै मुस्कान दिइरहेको सबैले नजिकबाट देख्न पाए । होटल हिमालयमा आयोजना हुने कार्यक्रम खोसेर आफ्नै प्राङ्गणमा आयोजना गर्दै विभाग अनि संरक्षण साझेदार संस्थालाई गाली खुवाउन र अपमान गराउन सक्षम एनटीएनसीको नेतृत्वले बाघको शिकार गराउने अभियानलाई बोकाएर वर्तमान मन्त्री महतोलाई कुन खाडलमा पुर्ने हो ? त्यो भने हेर्न बाँकी छ ।

संरक्षण साझेदार संस्थालाई यतिसम्मको गाली र अपमान गरिरहँदा तिनै संरक्षण साझेदार संस्थाले दिएको रकमबाट केही प्रतिशत प्रशासनिक खर्च काटेर पालिएको संस्था एनटीएनसी हो भन्ने हेक्का न त मन्त्री महतोलाई भयो न त सहयोगका लागि हात थाप्ने संस्थाका पदाधिकारीलाई नै । आफू र आफ्नो श्रीमति चढ्ने सवारी साधन तिनै साझेदार संस्थाका पैसाबाट खरिद गरिएका हुन भन्ने सम्मको ख्याल त पदाधिकारीहरुलाई हुनुपर्ने हो, त्यो पनि भएन, लाचार भएपछि के गर्ने ? सो घटनाका बारेमा एक संरक्षण साझेदार संस्थाका अधिकारीले टिप्पणी गर्दै भने ।

वन मन्त्रालयका एक सहसचिवले भने, यो बाघको शिकार खेलाउने खेलमा मन्त्रीलाई उचाल्ने काममा एनटीएनसीको नेतृत्व लागिरहेको हामीलाई थाहा छ । अरु कन्जरभेसन पार्टनरले यस्तो कुरा गर्नै सक्दैनन् । एनटीएनसीले निकुञ्ज विभागलाई कमजोर बनाउन यस्तो खेल खेलेको हो । निकुञ्ज विभागलाई जति कमजोर बनाउन सक्यो, त्यसैमा आफ्नो भविष्य देख्ने एनटीएनसीको वर्तमान नेतृत्वको यो सपना पुरा हुन दिनु हुन्न । विभागको विकल्पमा आफूलाई उभ्याउन खोज्नु एनटीएनसीका पदाधिकारीहरुको केटाकेटीपन हो । विभाग सरकार हो, त्यो एक गैरसरकारी संस्था हो । त्यो संस्थाका विज्ञहरुले पनि आफ्नो खुट्टा कुन धरातलमा छ भनेर हेर्न आवश्यक देख्छु मैले त ।

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here