वन मन्त्रीका सय दिनका उपलब्धी : हात्ती आयो हात्ती फुस्सा

काठमाडौँ । वन तथा वातावरण मन्त्री बीरेन्द्रप्रसाद महतोले आफ्ना सय दिनका कामहरुको फहरिस्ता सार्वजनिक गरेका छन् ।

उनले आफ्ना एक सय दिनका उपलब्धी भनेर दावी गरिएका अधिकांश कुराहरु अघिल्लो वर्ष चुनाव अघि वन मन्त्रीको समेत नेतृत्व समालेका तत्कालिन प्रधानमन्त्री शेरबहादुर देउवाका पालामा सुरु भएर प्रक्रियागत ढङ्गले अगाडि बढ्दा पछिल्लो चरणमा स्वीकृत भएका कामहरुलाई समेत आफ्नो कार्यकालका उपलब्धीका विषय भनेर समेटिएका छन् ।


त्यति मात्र नभई उनी वन मन्त्रीमा नियुक्त हुनु भन्दा अघिको समयमा वन मन्त्रीको समेत नेतृत्व समालेका वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहालले सुरु गरेका कामहरु पनि आफूले सुरु गरेर एक सयदिन भित्रै प्रतिफल निकालेको दावी पनि गरेका छन् ।

त्यति मात्र नभई उनले नेपाल वन सेवा ( गठन, समुह तथा श्रेणी विभाजन र नियुक्ति) नियमहरु २०८० दोस्रो शंसोधनलाई पनि आफूले फत्ते गरेको कामको पहिलो बुँदामा समेटेका छन् । सो कामका लागि मन्त्रालयले लामो सयमदेखि तयारी गरिरहेको र बिभिन्न चरण पार गरेर मन्त्री परिषदले पारित गरेको विषय हो । उनी मन्त्री हुनु भन्दा लामो समयदेखि तयारी भएर अन्तिम चरणमा पुगेको कामलाई पनि उनले आफ्नो सय दिने उपलब्धीमा दावी गरेका छन् ।


२१ बुँदामा समेटिएका उनका काम कारवाही हेर्दा उनले आफ्ना र आफ्ना व्यवसायिक गृहको शेयर लगानी भएका केही जलविद्युत् आयोजनाका काम बाहेक अरु खासै केही काम गरेका छैनन् । गत जेठ १० गते मन्त्री पदको सपथ लिएका महतोले पहिलो निर्णय आफ्नै लगानी भएका तीन वटा जलविद्युत् आयोजनाको वातावरणीय प्रभाव मूल्याङकनको फायल सदर गरेका थिए ।


जेठ १९ गते शुक्रबारका दिन वन मन्त्रालयका कर्मचारीलाई साँझ ६ बजेसम्म काममा दलाएर उनले माथिल्लो पिलुवाखोला जलविद्युत् आयोजनाको फायल सदर गरेका थिए भने साँझ फायल सदर गरेपछि काम नलाग्ने कर्मचारीको कारणले यति अबेर जनताको काम गर्नुपर्छ भनेर गाली समेत गरेका थिए ।


उनको लगानीको अर्काे जलविद्युत् आयोजना साँगु खोला पनि हो । उनले सो जलविद्युत् आयोजनाको फायललाई असार २९ गते शुक्रबारकै दिन सदर गरेका थिए । सो आयोजनाको काम गर्दा मन्त्रालयका निकै दौडधुप चलेको थियो । सो फायलको काम मन्त्रीका मानिसले टेबल टेबलमा पुर्याएर एकै दिनमा काम फत्ते गरिएको थियो । सो दिन मन्त्रालयका सचिव डा. रेवतीरमण पौडेललाई घर ननिस्किन निर्देशन थियो । मन्त्री महतोले आफ्नो सचिवालयको सबै संयन्त्रलाई टेबल टेबलमा परिचालन गरी काम गराएका थिए । जब सचिवको टेबलमा फालय पुग्यो, सचिवले आइतबार गरौला नि के हतार छ भनेर मन्त्री महतोको कारिन्दालाई जवाफ मात्र के दिएका थिए ।


केही छिन पछि त मन्त्रीले सचिवलाई आफ्नै चेम्बरमा बोलाएर आजै फायल अगाडि बढाउन निर्देशन दिए । फायल सचिवको टेबलबाट तल मन्त्रीको कोठामा आइपुग्यो, पाँच मिनेटमा सो फायल सदर भयो । अघिल्लो दिन असार २८ गते बिहीबार माथिल्लो सुरीखोलाको फायल पनि सचिवलाई आजै गरिहाल्नु पर्ने भन्दै सदर गराएका थिए । ती तिनवटै जलविद्युत् आयोजना मन्त्री महतोका लगानी भएका व्यावसायिक योजना हुन् ।


मन्त्री महतोले आफूले गरेका कामको सूचीमा अन्तर्राष्ट्रिय फोरमहरुका नेपाली प्रतिनिधित्व भएको कुरालाई प्रमुखताका साथ उल्लेख गरेका छन् । आइपीसीसी र आइपीबीइसमा नेपालका तर्फबाट भएको प्रतिनिधित्वमा गराउनमा पनि आफ्नै भूमिका रहेको उल्लेख गर्न भ्याए ।


हरेक वर्ष नेपाली सेनाले गर्ने हिमाल सफाइ अभियानलाई समेत आफूले गरेको काम कारवाहीको सूचीमा राखे । जब कि महतो मन्त्री नहुँदै नेपाली सेनाले आवश्यक तयारी पूरा गरी सकेको थियो ।

उनले आफूले काम गरेको बुँदामा समेटिएका पाँच वटा जलविद्युत् आयोजनालाई वन क्षेत्र उपलब्ध गराएको उल्लेख गरेकोमा तीन वटा आयोजना उनकै लगानी रहेको वन मन्त्रालयका एक सहसचिवले बताए । ती सहसचिवले भने, ‘‘पाँच वटा मध्य तीन वटामा त उहाँकै लगानी रहेको देखियो, अरु दुई वटामा पनि शंका नै छ । यति छिटो काम कसरी भयो भन्ने अचम्म लागिरहेको छ । वास्तवमा जनताकै काम गर्ने भए त कतिपय फायलहरु महिनौँ देखि अड्किरहेका छन् । ती फायल पल्टाउने सुरसार छैन ।’’


उनले नेपालकथासँग भने, ‘‘जुन फायलको नाम खोजी खोजी गरेर हेर्न लगाइन्छ । अनि थाहा हुन्छ कि यो काम अब छिटै हुन्छ । त्यस्ता फायलहरु हातोहात एकैदिनमा फाइनल हुने गरेका छन् ।’’


मन्त्री महतोले आफ्नो कामको सूचीमा जेठ १० गतेदेखि हालसम्म उत्साहजनक रुपमा काठ, दाउरा उत्पादन भएको समेत लेख्न भ्याएका छन् । उनले जेठ १० गते नै मन्त्री पदको सपथ लिएका थिए ।


२०८० साल जेठ १० गते भन्दा अघि किन काठ, दाउराको उत्पादन उत्साहजनक रुपमा भएन ? वा काठ, दाउरा उत्पादन बन्द थियो वा उनले १० गते सपथ लिँदालिँदै काठ दाउरा उत्पादन गर्ने विधि प्रक्रियामा भएको अवरुद्ध कामलाई खुलाए ? के कारणले जेठ १० गते देखि भदौ १६ गतेसम्म काठ, दाउराको उत्पादन उत्साहजनक रुपमा भयो भन्ने कुरा भने खुलाएका छैनन् ।


चुरे तराई मधेश संरक्षण तथा व्यवस्थापन गुरुयोजना परिमार्जिन २०७९ तयार गरिएको पनि आफ्नै कार्यकालको उपलब्धी समेटेका छन् । जब कि त्यो काम उनी मन्त्री पदमा बहाली लिँदा करिब करिब अन्तिम चरणमा पुगिसकेको थियो । बरु उनले चुरे कार्यक्रम भएको भ्रष्टाचार अनियमितताको छानविन गर्न एक अध्ययन कार्यदल बनाएका थिए । त्यो कार्यदलको प्रतिवेदन के आयो ? चुरेका कुन कुन कार्यालयमा भ्रष्टाचार भयो र ती भ्रष्टाचार गर्ने व्यक्तिलाई के कारवाही भयो र कारवाहीको प्रक्रिया कहाँ पुग्यो भन्ने कुरा आउन्छ भन्ने अपेक्षा गरिएको थियो, त्यो भने उनको उपलब्धीमा समेटिएको देखिएन ।


उनी मन्त्री हुनु भन्दा केही वर्ष पहिले देखि नै सञ्चालनमा रहेको मन्त्रालयका मातहतका बिभिन्न आयोजना, परियोजनाले नेपालको वातावरणीय सन्तुलन तथा आर्थिक, सामाजिक विकासमा महत्वपूर्ण योगदान दिएको कुरालाई पनि आफुले गरेको उपलब्धीमा समेट्न सकेका छन् ।


जेठ १० गते मन्त्री पदमा हाजिर भएका मन्त्री महतोले अघिल्लो आर्थिक वर्षभरी (साउन १ गते देखि जेठ १० सम्म) को मन्त्रालय मातहतका निकायले गरेको आर्थिक प्रगति ८० प्रतिशतको जस पनि आफैले लिन खोजेका छन् ।
प्रधानमन्त्री पुष्पकमल दाहालले वन मन्त्रीको हैसियतमा सुरु गरेको र उनी मन्त्री हुनु भन्दा पहिले नै बजेट विनियोजन भएर प्रक्रियामा गइसकेको काम ललितपुर गोदावरीस्थित अत्याधुनिक हर्वेरियम भवन निर्माणको लागि शिलान्यास गरेको कामलाई पनि मन्त्री महतोले आफ्नो कार्यकालको प्रमुख उपलब्धीको सूचीमा राखेका छन् ।


अघिल्ला मन्त्रीहरुले सुरु गरेका कामलाई आफैले सुरु गरेको र तीन महिनमै रिजल्ट दिएका दावी गरेका मन्त्री महतोले मन्त्रालय र मन्त्रालय मातहतका निकायले दैनिक गरिरहेका कामलाई प्रमुख उपलब्धीको सूचीमा समेटेर २१ बुँदा सम्म पुरयाएका छन् ।

विगत १२ महिनादेखि तलब खान नपाएर आन्दोलन स्थगित गर्दै मन्त्रालयका मुख हेरिरहेका सागरनाथ वन परियोजनाका कर्मचारीको विषय र पदस्थापना हुन नसक्दा आन्दोलनमा रहेका फरेष्टरहरुको विषयमा भएका पहलकदमी बारे भने कुनै कुरा उल्लेख गरेका छैनन् ।

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here