काठमाडौँ । विगत २८ वर्ष अघि अर्थात् सन् १९९५ मा तत्कालीन शुक्लाफाँटा वन्यजन्तु आरक्षको रानीताल क्षेत्रमा एउटा वयस्क गैंडा देखिएको थियो । त्यति बेला संरक्षणकर्मीमा एउटा प्रश्न उब्जियो । यहाँ गैंडाको बासस्थान राम्रो हुन सक्ला र ? त्यसका लागि निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले तत्काल सम्भाव्यता अध्ययन सुरु गर्यो ।
तालतलैयादेखि चरन क्षेत्र सबै राम्रो भएकाले गैंडाको राम्रो बासस्थान हुन सक्ने अध्ययनले देखायो । त्यही अध्ययनलाई टेकेर चितवन राष्ट्रिय निकुञ्जबाट गैंडा स्थानान्तरणको योजना बन्यो । सन् २००० मा एक भालेसहित ४ वयस्क गैंडा शुक्लाफाँटामा स्थानान्तरण गरियो । १० वर्षमा यो संख्या बढेर १० पुग्यो । त्यसपछि २०१७ मा एक भालेसहित थप ५ वटा वयस्क गैंडा चितवनबाटै स्थानान्तरण गरियो ।

त्यतिबेला शुक्लाफाँटा वन्यजन्तु आरक्ष स्तरोन्नति भएर निकुञ्ज भइसकेको थियो । काठको बाकसमा राखेर ट्रकबाट एक दिन यात्रापछि यहाँ ल्याइएको गैंडालाई निकुञ्जको रानीताल क्षेत्रमै छाडियो, जहाँ २२ वर्षअघि यहाँको एक रैथाने गैंडा भेटिएको थियो । चैत र वैशाखमा डढेलो लागेको निकुञ्जको वन क्षेत्र गर्मीले उकुसमुकुस पारेको थियो । चारैतिर हात्तीले घेरेर ट्रकबाट झारेको गैंडा निकै आक्रोशित भएर हात्तीमाथि जाइलागेर भागेको थियो । यसरी स्थानान्तरित गैंडाले अहिले नतिजा दिन थालेको छ । स्थानान्तरण गरिएको दुई दशककै अवधिमा यहाँ गैंडाको संख्या दोब्बर भएको छ ।
सन् २०२१ को राष्ट्रिय गणनामा यहाँ १२ वयस्कसहित १७ गैंडा भेटिएका थिए । जसमा ३ भाले, ४ पोथी र ५ पहिचान हुन नसकेकोसहित १२ वयस्क, ४ बच्चा र एक तन्नेरी गैंडा भेटिएको निकुञ्ज कार्यालयले जनाएको छ । २०२२ मा पहिचानमा आधारित अनुगमनका क्रममा ४ भाले, ७ पोथी, ६ बच्चा र ३ तन्नेरी गरी २० गैंडा भेटिए । ‘शुक्लाफाँटामा गरिएको सबै स्थानान्तरण सफल भएका छन्,’ निकुञ्जका निमित्त प्रमुख संरक्षण अधिकृत प्रमोदकुमार यादवले भने, ‘शुक्लामा स्थानान्तरण गरिएको गैंडा र कृष्णसारको संख्या लोभलाग्दो गरी बढिरहेको छ ।’

शुक्लाफाँटामा वन्यजन्तुको स्थानान्तरण गैंडाबाटै सन् २००० मा सुरु भएको हो । त्यसपछि मात्रै थप गैंडा र कृष्णसारको स्थानान्तरण गरिएको थियो । ‘बासस्थान र चरन क्षेत्र राम्रो भएकै कारण गैंडाको संख्या निरन्तर बढ्दो छ,’ राष्ट्रिय प्रकृति संरक्षण कोष शुक्लाफाँटा संरक्षण कार्यक्रमका प्रमुख लक्ष्मीराज जोशीले भने, ‘यहाँ स्थानान्तरण गरिएको वन्यजन्तुको संख्या उत्साहजनक रूपमै बढिरहेको छ, यसले सबैलाई हौस्याएको छ ।’ उनका अनुसार सबैभन्दा राम्रो अनुपातमा कृष्णसारको वृद्धि भइरहेको छ ।
वन्यजन्तु स्थानान्तरण सुरु भएको १२ वर्षपछि गरिएको कृष्णसारको स्थानान्तरण पनि निकै सफल भएको छ । यहाँ २०१२ देखि १५ सम्म ४२ वटा कृष्णसार स्थानान्तरण गरिएको थियो । अहिले उक्त संख्या बढेर २ सय ६४ पुगेको छ । बर्दियाको खैरापुर र नेपालगन्जको मिनी चिडियाखानाबाट निकुञ्जको हिरापुर फाँटामा कृष्णसार स्थानान्तरण गरिएको छ ।
निकुञ्ज कार्यालयका अनुसार अहिले कृष्णसारको संख्या ८७ भाले, १ सय १७ पोथी र ६० पाठापाठी छन् । स्थानान्तरण गरिएको सुरुका वर्षमा संख्या नबढ्दा सबैलाई चिन्तित बनाएको थियो । भालेहरू आपसमा लडेर मर्ने तथा पोथीहरूसमेत रोगका कारण मर्न थालेपछि निकुञ्ज प्रशासनलाई चिन्तासमेत थपिएको थियो । तर पछिल्लो समय कृष्णसारको संख्या बढिरहेकाले स्थानान्तरण सफल बनाएको निकुञ्जकर्मीको भनाइ छ ।
कृत्रिम बासस्थानमा वृद्धि भइरहेको संख्यालाई प्राकृतिक बासस्थानमा पनि छाड्ने विषयमा छलफल सुरु भएको छ । प्राकृतिक बासस्थानमा पनि यही अनुपातमा वृद्धि गर्न सक्नु चुनौती हुने निकुञ्जको निमित्त प्रमुख संरक्षण अधिकृत यादव बताउँछन् । ‘थोरै संख्यामा स्थानान्तरण गरी ल्याएका अहिले यति धेरै भएका छन्,’ यादवले भने, ‘हामी निकै उत्साहित छौं, अब प्राकृतिक बासस्थानमा छाड्दा यही अनुपातमा वृद्धि गराउन भने चुनौती हुन्छ ।’ उनले अझै संख्या बढ्दै गएमा बिस्तारै प्राकृतिक बासस्थानमा पनि छाडिने बताए ।

घेराबारको निश्चित एरियामा चरन र अतिरिक्त आहाराको व्यवस्था गरेर हुर्काइएको कृष्णसारलाई यही अवस्थामा कहिलेसम्म राख्ने भन्ने बहस सुरु भएको छ । तिनलाई निकुञ्जमै केही स्थानमा खुला छाड्ने वा अन्त स्थानान्तरण गर्ने भन्ने विषयमा छलफल चलिरहेको छ । अन्यत्रबाट शुक्लाफाँटामा गरिएको वन्यजन्तुको स्थानान्तरण सफल भए पनि यहाँबाट अन्यत्र गरिएको स्थानान्तरण भने त्यति सफल हुन सकेन । शुक्लाफाँटाबाट चितवन र बर्दियामा बाह्रसिंगाको स्थानान्तरण गरिएको आजको कान्तिपुरमा समाचार छ । बर्दियामा केही हदसम्म सफल भए पनि चितवनमा भने असफल भएको छ ।
चितवनमा २०७४ मा २ भाले र ५ पोथी स्थानान्तरण गरिएको थियो । अहिले एउटा पनि बाह्रसिंगा छैन । बर्दियामा २ भाले र ३ पोथी स्थानान्तरण गरिएको थियो । बर्दियामा यसअघि पनि बाह्रसिंगा भएका कारण त्यसमै घुलमिल भएको सहायक संरक्षण अधिकृत यादव बताउँछन् । ‘चितवनमा त बाह्रसिंगा स्थानान्तरण सफल भएन, बर्दियामा ठिकठिकै भयो,’ उनले भने, ‘अहिले बर्दियाको बघौरा फाँटामा बाह्रसिंगाको देखिन्छन् ।’