बाबुकृष्ण कार्की
विगत दुई वर्षयता नेपाल १० वर्षमा बाघको संख्या दोब्बर गराउन सफल भएकोमा विश्वभरी चर्चाको शिखरमा थियो । विगत दुई महिना यता बाघको शिकार गराएर मुलुकलाई समृद्धिमा लैजाने वर्तमान वन तथा वातावरण मन्त्री बीरेन्द्र महतोको अभिव्यक्तिले फेरी चर्चाको शिखर छुन थालेको छ । बाघको संरक्षणमा सरकार, स्थानीय समुदाय, संरक्षण साझेदार संस्था लगायतका विश्वको साथ र समर्थन थियो भने बाघको शिकार खेलाउने कुरामा मन्त्रीलाई न त अरु सरकारी निकायले साथ दिएका छन् । न त स्थानीय समुदाय र संरक्षण साझेदार संस्थाहरुले । साथ छ त केबल औकात नभएरै ठूलो कुर्शीमा पुगेका एकाध व्यक्ति जो संरक्षणलाई भजाएर खान रुचाउँछन् र मन्त्रीलाई घेरामा हालेर यस्तै उट्पटयाङ कुरामा रुमल्यारहन्छन् । हुने काम गर्नुको सट्टा नहुने काममा अल्झाइरहन्छन् । ती व्यक्तिलाई यस्तो कुरामा अल्झाउँदा राम्रो लाग्छ, जसको क्षमता छैन, उसले यस्तै काम गरेर आफ्ना दिन बिताउने ध्याउन्नमा हुन्छन् । अहिले वन मन्त्री महतो त्यस्तै बिचौलियाको घेराको परिवन्दमा परिरहेका छन् ।
हरेक व्यक्तिका आआफ्ना चरित्र र बानी व्यवहार हुन्छन् नै । वर्तमान वन मन्त्री त पढेलेखेको मान्छे, बोल्दा पनि झर्काे नमानेर सभ्य भाषा बोल्ने अपेक्षा राख्छन् उनीबाट सबैले । तर उनीबाट यो अपेक्षा आजको दिनसम्म पुरा हुन सकेको छैन । संरक्षणको विरुद्ध योजना लिएर मन्त्रालयभित्र छिर्नेलाई कारवाही गर्नुको सट्टा रातो कार्पेट बिछयाएर उल्टो आफ्ना कर्मचारीलाई हप्काउने, दप्काउने काम वर्तमान मन्त्रीले किन गरिरहेका होलान् भन्ने बुझ्न निकै कठिन हुन थालेको छ ।
हाल नेपालमा भइरहेको संरक्षणको जे जस्तो दृश्य देखिरहेको छ । यो केही सिमित व्यक्तिको प्रयत्नले मात्र भएको होइन भन्ने कुरामा मन्त्रीलाई ज्ञान होला कि नहोला ? संरक्षणको महाअभियानमा कति पुस्ता बितिसके भन्ने कुराको हेक्का हाल मन्त्रीको वरीपरी हिड्ने र उस्काउने औकात नभएका, दौरा सुरुवाल लगाएर ढाका टोपी ढल्काउनेहरुलाई थाहा होला कि नहोला ? तिनले लगाउने टाइ, सुटमा संरक्षण प्रतिको कुनै माया ममता होला कि नहोला ? न रहे बाँस र नबजे बासुरी । हुन त मौकाले पाएको जागिर, यही बेला हो मोजमस्ती लुट्नु पर्ने, भोलिका दिनमा कुन नेताको तलुवा समातेर कुन निकायमा जागिर खाने हो ? यस्ता ठेगाना नभएको टाइ, सुटधारी तोरी लाउरेलाई संरक्षणको के माया के दया । त्यसैले ती बिचौलिया तोरी लाउरेहरुले यस्तै काम गरिरहन्छन्, अर्काको कद होचो बनाएर आफु असल हुन खोज्छन् ।
मन्त्री भएकै भोलिपल्ट बाघको शिकारको पासा पालेर रमाउने खोजेका वर्तमान वन मन्त्रीको आगामी बाटो सबैले बडो गम्भीर ढंगले हेर्न जरुरी भएको छ । पुस्तौँदेखि सुरुवात गरेको संरक्षणको प्रतिफल राम्रोरी व्यवस्थापन गर्नुपर्ने बेला मन्त्रीका यस्ता बोलीबचनले अन्तर्राष्ट्रिय संरक्षण समुदायले के भन्लान ? संरक्षणका लागि लामो इतिहास बोकेको ऐतिहासिक खम्बा नेपाली सेनाको मनोबल कस्तो होला ? आफु मरेर पनि वन्यजन्तु बाच्नुपर्छ भन्ने सन्देश दिएका स्थानीय समुदायले मन्त्री र मन्त्रीका वरीपरी कहिले टाई सुट त कहिले दौरा सुरुवालमा ढाका टोपी लड्काउँदै हिड्ने प्रमुख सल्लाहकारका हैसियत बारे के सोच्दा होलान् ?
वन तथा वातावरण मन्त्रालयको पहिलो जिम्मेवारी संरक्षण हो, संरणलाई काँधमा राखेर विकास र समृद्धि गर्ने हो । संरक्षणबाट समृद्धि ल्याउने सरकारको दोस्रो कार्यभार हो । यति बुझेर पनि कर्मचारीको मनोबल गिराउन, व्यापारीलाई रिझाउने गरी अभिव्यक्ति दिने र सोही अनुसारको काम गर्न थालेपछि सहनै नसकेर यी टुटाफुटा केही शब्द कोर्ने जमर्काे मैले गरेको छु । यसलाई सहस्र स्वीकार गरिदिन आम पाठकवर्गलाई सविनय निवेदन पनि गर्छु ।
आशा र निराशा
हरेक मन्त्री फेरिँदा नयाँ आशा पलाउनु स्वभाविक हो । त्यही आशा थियो, वर्तमान वन मन्त्री बीरेन्द्र महतोबाट । सम्पन्न परिवार, पढेलेखेको विद्वान मन्त्री । संरक्षणका लागि नयाँ नयाँ र उत्कृष्ट नीति ल्याउलान् भन्ने आशा जागेको थियो । युवा पिढीले नेतृत्व गरेको बेला प्रकृति संरक्षण फष्टाउने, काँचुली फेर्ने र जलवायु परिवर्तनको मुद्धामा नेपालले बाजी मार्ने धेरैको अपेक्षा थियो । वन, वातावरणले ढिलो तर होनहार र गर्वयोग्य नेतृत्व पाएको पंक्तिकारको आत्मविश्वास थियो । तर जब बाघ शिकारको नयाँ विचार सतहमा छरपष्ट भयो । बाघ दिवसकै दिन बाघको शिकार गरेर नेपालीले पेट पाल्न सक्ने ‘जोगी सपना’ सुनाए मन्त्रीले । कार्यक्रममा उपस्थित सबैले मुखामुख गरे, मन खिन्न गरायो सबैको ।
समृद्धिको सपना उद्घोष गर्नुपर्ने दिनमा जोगी सपना सुनेर सबैले रित्तो हात फर्किनु प¥यो बाघ दिवसका दिन । कुपण्डोलको होटल हिमालयमा बाघ दिवस मनाउने मन्त्रालयको कार्यक्रमलाई पाँच सय मिटर जावलाखेलतर्फ सार्न लगाएर आफ्नै प्राङ्गणमा जोगी सपना बाँड्न लगाउने र संरक्षण साझेदार संस्थाहरुलाई तथानाम गाली सम्म बोल्न लगाउने व्यक्तिलाई कोटी कोटी सलाम । मान्नै पर्छ ती व्यक्तिको शक्ति र भक्तिलाई ।
मलाई त अर्काे कुरा सुनेर अचम्म लाग्यो । मेरो पूर्व कर्मभूमि बर्दिया राष्ट्रिय निकुञ्जमा भ्रमण गर्दा ढलेको रुखहरु स्थानीय निकायका प्रतिनिधिहरुलाई दिनु भन्ने मन्त्रीले निर्देशन जारी गर्नुभयो । के निकुञ्जभित्र हिजो आज मात्र रुख ढलेका हुन् ? जैविक विविधताका लागि रुख ढल्नुको अर्थ केही छैन ? यो कुराले मलाई त पीडा भयो । केही दिनदेखि लागेको रुघाखोकी झन् बल्झियो र असह्य भयो । आशा सबै निराशामा परिणत भए । पीडा बिसाउन मैले तत्काल एउटा लेख प्रकाशन पनि गरें । तालुकवाला मन्त्रालय र नेतृत्व सुधार हुनुको सट्टा झन् मात र उन्माद चढेर चौतर्फी संरक्षण पहिरो गईरहेको देखे सुनेपछि पुनः यो आलेख लेख्न बाध्य भएँ ।
गल्ती पहिचान
नीजी व्यवसाय चलाउन सफल भएका वर्तमान मन्त्री आफैमा नराम्रो मान्छे होइनन् । वन मन्त्रालयमा उनको अनुभव नयाँ हो । यस्तो पात्र नेतृत्व समाल्न आइपुग्दा मन्त्रालय र मन्त्रालय अन्तर्गतका विभागहरुले शीघ्र ब्रिफिङ्ग दिनुपर्ने थियो । संरक्षणको मर्म, भावना, आवश्यकता, इतिहास, वर्तमान, उपलब्धि, चुनौति, अन्तर्राष्ट्रिय दायित्व र भावी रोडम्यापका गम्भीर कुराहरु मन्त्रीसँग उचित समयमै साट्नु पथ्र्याे ।
तर यो देशको बिडम्बना । कुरो भयो उल्टो । मन्त्रीलाई हतार हतार एउटा नेपाली एनजिओले आफू अनुकूलको मस्त ब्रिफिङ्ग दियो । टाइ, सुट लगाएका व्यक्तिले छेउमै बसेर संरक्षणमा हामी मात्र ठिक, अरु सबै बेठिक भन्ने आशयको ब्रिफिङ्गले वन मन्त्री महतोलाई एकोहो¥याईयो । उनको नेपाली एनजिओ मात्र संरक्षणमा सर्वेसर्वा, निकुञ्ज विभाग केही पनि होइन रे । अरु विदेशी एनजीओहरु त खाली करोडौँका गाडी चढ्ने, भत्ता बुझ्ने, सरकारलाई थोरै सहयोग गर्ने भन्ने पाठ पढाइयो ।
तत्पश्चात त मन्त्रीको बोली नै फेरियो । विभाग र मन्त्रालयका पदाधिकारीले त्यो नेपाली एनजीओलाई सोधेर काम गर्नु पर्ने, दौरा सुरुवाल र ढाका टोपीसँग बैठक बसेर संरक्षणका हरेक सवाललाई टुङ्ग्याउनु पर्ने मन्त्रीको निर्देशन आउन थालेको बजारमा व्यापक हल्ला चल्न थाल्यो । एकाएक खतरनाक परिणामहरु व्यवहारमा देखिन थाले । कर्मचारीहरुलाई तीन सेकण्डमा ठिक पार्छु भन्ने सम्मको मन्त्रीका बाणी बर्सिन थाले । मन्त्रालयका काम, कारबाही ठिक नभएको र कर्मचारीहरु घुस्याहा भएको आरोप लाग्न थाल्यो । कर्मचारी चोरी सिकार र खाग तस्करीमा संलग्न भएको गुनासो आउन थाल्यो ।
बिदेशी संघसंस्थालाई काम नगरेको र डिक्टेट् गर्छु भन्ने अपमानजनक शब्दावली जताततै सुनिन थाले । जसले अर्बाै रुपियाँ नेपालको संरक्षणमा लगाएका छन् ती संस्थालाई डिक्टेट गर्ने अनि तिनै संस्थाको तलुवा मलेर पाएको भिखको कमिसनमा रमाउने नेपाली एनजीओका पदाधिकारीलाई मन्त्रीले अङ्कमाल गरेको देखियो । टाउकोले पुच्छर हल्लाएको संसारमै देखिन्छ तर यहाँ त पुच्छरले टाउको हल्लाएको देख्दा अब नेपालको संरक्षणको विषय के हुने हो भन्ने सोचनीय कुरो बन्यो ।
मन्त्रीले केही संरक्षण साझेदार संस्था ( जो सँग संरक्षणका लागि ठूलो अनुभव, रकम छ ) लाई विदेशी भन्दै गाली गर्ने अनि एकाध हैसियत नभएका नेपाली एनजीओ (जो जहिले पनि तिनै विदेशी संस्थासँग भिख मागेर कमिसन खाएर मोटाएका छन्) लाई आफ्ना छेउमै राखेर गला मिलाउने । यो दृश्यले ती नेपाली एनजीओका केही पदाधिकारीको जीवन धान्नका लागि केही दिन, केही महिना पक्कै काम गर्ला तर नेपालको संरक्षणको लामो दौडमा पक्कै राम्रो संकेत होइन ।
को हुन् बिचौलिया ?
बिचौलिया उनै हुन्, जसले इतिहासका कालखण्डमा राष्ट्रिय अनुसन्धान विभागको सुराकी हवल्दारको जागिर खान पनि भ्याए । अनि नेपाली सेनाको जङ्गी अड्डामा सुराकीको काम गर्दथे । नेपाली सेनाको किताब लेख्ने नाममा रकम उठाउने काम पनि गरे । जङ्गी अड्डाबाट मोटो रकम उठाएर पुस्तक प्रकाशन गरि त्यही पुस्तक नेपाली सेनाको फर्मेसन र युनिट सब–युनिटलाई बेचेर दोहोरो कमाई गर्दथे । हरेक प्रधानसेनापति नियुक्तिको समयमा धामी झाँक्री, माता, जासुस, सुरासुन्दरीको तागतमा बागी उम्मेदवार बोकेर तर्साउने, फकाउने, रकम उठाउने चलखेल गर्दथे ।
वर्तमान सेनापतिको विकल्पमा उहाँकै तालिम टोलीका जर्नेललाई बागी उम्मेदवार बनाएर ब्यापक दौडधुप गरेका थिए । धन्य यी बिचौलियालाई पूर्व प्रधानसेनापतिले जंगी अड्डामा पाईला हाल्न दिएनन्, सेनाको कार्यालय पूर्ण रुपले बन्द गरिदिएका थिए । माथिल्लो पदका व्यक्तिसँग एक छिन कुममा कुम मिलाएर तस्विर खिचाउने अनि तल्लो तहका कर्मचारी तर्साउने ती बिचौलियाको पुरानै रोग हो ।
अख्तियारको सूचना गोजीमा बोकेर घुस माग्ने हिडेको बेला रातो घरमा बसेको कार्कीले गलहत्याएको व्यक्ति तिनै हुन् । उनीसंग मेरो ब्यक्तिगत पूर्वाग्रह प्रतिशोध केही पनि छैन । तथापि समग्र संरक्षण र मातृ संगठनको बृहत्तर हितको लागि सत्य उजागर गरेर सचेत गराईदिनु मेरो संरक्षण कर्तव्य हुन आयो । नत्र, घिनलाग्दो चलखेलद्वारा संगठन र संरक्षण दुबै भाँडैमा जाने भए ।
वनको नेतृत्वले शीघ्र रुपमा यस्ता हैसियत नभएको, विषय विज्ञताको कुनै ज्ञान नभएका, केबल बिचौलियाको काम गरिरहने व्यक्तिलाई पूर्व प्रधानसेनापति झैँ ढोका बन्द गर्नुपर्छ । पढे, लेखेको वर्तमान वन मन्त्रीले यस्ता गति छाडा व्यक्तिको संगत छाडेर वन, वनस्पति, वन्यजन्तुविज्ञ, पूर्व प्रशासक, कर्मचारी र नौ जवान प्राविधिकहरुको रायसल्लाहमा आफू, आफ्नो पवित्र मन्त्रालय, वन सम्पदामा आश्रित आम नागरिक र मातृभूमिको हितका खातिर सर्वस्वीकार्य, लोकप्रिय नेतृत्वदायी भूमिका निर्वाह गर्दा मुलुक र स्वयम् मन्त्रीका लागि पनि लाभदायक हुन्छ । काम भन्दा चाकरी र चाप्लुसीमा रमाउने त्यस्ता बिचौलियालाई टाढा राखेर “बहुजन हिताय बहुजन सुखाय”को तारिफयोग्य र गर्वयोग्य काम गर्दा वर्तमान मन्त्रीको कार्यकाल सफल हुनसक्छ ।
सेनालाई संकट
प्रकृति संरक्षणको सम्वेदनशील जिम्मेवारी प्रति नेपाली सेना सधैँ सचेत सतर्क र गम्भीर रहँदैआएको छ । बाघ शिकार गर्ने गराउने अथवा निकुञ्जभित्रै होटल, हाईड्रोपावर, केवलकार ब्यापारीको क्रिडास्थल बनाउने हो भने यतिका वर्षसम्म संरक्षणमा दत्तचित्त भएको नेपाली सेनाको मोराल के होला ? यस्तै हो भने निजी व्यापारीले राष्ट्रिय सेनाको सुरक्षा पोष्ट माग गर्लान् निकुञ्जभित्रका होटल, जलविद्युत् आयोजना अनि केबलकारको वरीपरी । पहिले सगरमाथाको अतिक्रमित क्षेत्र क्वाङ्देको होटलले मागे जस्तै । त्यसैले यस्तो कुरामा यी टाई सुटधारी बिचौलियाले बिभिन्न व्यापारीहरुलाई बोकेर बिभिन्न नेताको दैलोसम्म पु¥याउने गरेका छन् । त्यसतर्फ मन्त्रीले सचेत रहनुपर्छ । यदि यी ढाका टोपी ढल्काउँदै बिचौलिया कारोबारीको फन्दामा परियो भने निकुञ्जभित्र ऐन कानुन मिचेर ब्यापार गर्न खोज्ने बिचौलियाहरुको उद्देश्य नेपाली सेनालाई निःशुल्क दास बनाउनु हो । यो भन्दा ठूलो दुर्भाग्य अरु केही हुनेछैन ।
वनको नेतृत्व र प्रशासनले बुझिदिनुपर्ने गहिरो कुरा यही हो । यी बिचौलिया पाँच वर्ष अघि कसको चाकरी गरेर कुन निकायको कुन पदमा थिए, कसरी कुन कुन निकायबाट ककसले के आरोपमा निकालिए । यिनको इतिहास धेरै लामो छैन, दुइ मिनेटमै थाहा भइहाल्छ । राम्रो विश्वविद्यालयमा राम्रो शिक्षा लिएका भए किन बिचौलियाको काम गर्थे होला ? क्षमता भएको भए बिहानाभरी नेता नेताको दैलो र दिउँसो कर्मचारीको ढोका किन चाहार्थे होला ? क्षमता भएका कुन संरक्षण साझेदारका पदाधिकारीले यति सम्मको हैसियत फालेर काम गरेका छन् ?
दोश्रो कुरा, संरक्षणको छाता संगठन निकुञ्ज प्रशासनभित्र चरम राजनीतिकरण र लेनदेनबाट सरुवा गर्ने प्रवृति निकुञ्जको सुरक्षामा दत्तचित्त भइ खटिएको सेनालाई चिन्तित तुल्याएको छ । राजनीतिक भन्दा टाढा बसेर काम गर्ने सेनाको अराजनीतिक चरित्र र व्यावसायिक छबि बिपरीतका कुनै पनि कुराहरु नेपाली सेनाले सहन सक्दैन । र सहनु पनि हुँदैन ।
के नेपाली सेनाको काम राजनीतिक विकृति, अपराधिकरण र तस्करहरुको अबैध ब्रम्हलुटको निरीह साक्षी भएर टुलुटुलु हेरेर बसिरहनु मात्र हो त ? अथवा, सैनिक युनिफर्मको आडमा राजनीतिक नेतृत्व र उसको लेनदेनको नियुक्तिले नीतिगत भ्रष्टाचार गरेर प्राकृतिक श्रोत साधन कब्जा गर्ने र वास्तविक हकदार स्थानीय समुदाय र तिनको सेना मुकदर्शक भई बसिदिनुपर्ने हो त ? ज्यादै अशोभनीय र लज्जास्पद धर्म संकटको स्थिति आउने देखिन थाल्यो ।
तसर्थ, यो धर्म संकटलाई चिर्न सेनाले वनको नेतृत्वलाई निम्न सुझाव राख्नुपर्दछ । बाघ शिकार गराउने तर्क र बहसले संरक्षण सहीदहरुको अपमान गर्छ । यो त राष्ट्रिय रुपमा बदनाम भएको र सर्वत्र आलोचना समेत भएर लखेटिएको टाइ सुटधारी बिचौलियाले मन्त्रीको कानमा सुनाई दिएको कुरालाई ठाडै इन्कार गर्नुपर्छ र वर्तमान परिस्थिति अनुसारको नयाँ बिचार ल्याउन सहयोग गर्नुपर्छ ।
बाघको शिकार होइन, बाघलाई सहजै अवलोकन, अध्ययन तथा अनुसन्धान गर्न सकिने केन्द्र अथवा बाघ पार्क खोल्ने काममा सघाउनुपर्छ । सौराहा होस् वा बीसहजारी ताल क्षेत्रमा यस्तो बाघपार्क खोल्न सकिने विषयमा अध्ययन गरी कम लागत र मितव्ययीताको लागि सैनिक ईन्जिनियर्सले यस्तो पार्क निर्माणको कार्यमा योगदान गर्न सक्ने देखिन्छ । यसमा लगानी गर्न दातृ निकाय तम्तयार छन् । यता तर्फ काम अगाडि बढाएर पर्यटन व्यवसायबाट करोडौँ डलर कमाउने योजनाका लागि सल्लाह दिनुपर्छ ।
विगतमा किन निकुञ्जभित्रका सात वटा होटलहरु हटायो ? त्यसको मर्म र धर्र्मलाई वर्तमान नेतृत्वले राम्रोरी बुझ्नुपर्छ । थप अध्ययन गरेर मात्र काम अघि बढाउनुपर्छ । त्यतिबेला टाईगरटप्स र अरु होटललाई एउटै बोरामा हालेर फ्याक्नु हुँदैन थियो । त्यो एउटा गल्ती सच्याउनु संरक्षणको र राष्ट्रको हितमा हुनेछ ।
जलविद्युत निर्माणको काम पनि निकुञ्ज भित्र कोर एरियामा निर्माण गर्न उपयुक्त नहुने मुलुकलाई बिपतबाट जोगाउन हरित अर्थतन्त्र र हरित विकास अपरिहार्य भएकोले वन जंगल मासेर होईन, जोगाएर र बढाएर बिपद् न्यूनीकरण गर्न सकिने नजीर पेश गर्नेका लागि सुझाव दिनुपर्छ ।
निकुञ्ज विभागलाई सुझाव
प्रकृति संरक्षण भनेको अनुशासन, पारदर्शीता, जवाफदेहीताको सुसंस्कार हो । संयुक्त र समावेशी टिमको समझदारी, समन्वय, सहकार्यको जगमा उभिएको राष्ट्रिय ढुकुटीको खरखजना वन,वस्पति र वन्यजन्तु हुन् । यिनको उचित व्यवस्थापन गर्नु नै सच्चा रुपमा संरक्षण हो । मातृभूमिको प्राकृतिक, सामरिक र आर्थिक महत्वको सम्बेदनशील क्षेत्रको प्रयोग र सदुपयोग सतर्क र सावधानीपूर्वक गरिनुपर्दछ । संरक्षण र विकासमा सन्तुलन कायम हुनुपर्दछ । संरक्षणको लामो इतिहास, अग्रजको पसिना र बलिदानी तथा संरक्षण मूल्य मान्यतालाई तिलाञ्जली दिएर सम्बेदनशील क्षेत्र तहसनहस हुने गरि व्यापारिक प्रयोजनको लागि निकुञ्ज तथा संरक्षण क्षेत्रहरु व्यापारी र तस्करहरुलाई कब्जा गर्न दिनु हुँदैन ।
मन्त्री केही दिन, महिनाका लागि आएका हुन् । यिनको सेवा अवधि कर्मचारीको जस्तो हुदैन । त्यसैले छिटो छिटो केही गरिहाल्न खोज्छन् । तर स्थायी सरकारको रुपमा रहेको कर्मचारीले सचेत हुनैपर्छ । पुर्खाले आर्जेर राखेको वन, वनस्पति र वन्यजन्तुलाई हानी नोक्सानी हुने गरी निकुञ्ज नियमावली तयारी हुने क्रममा रहेको सुनिन थालेको छ । त्यसमा बदमासी कर्मचारीले ग¥यो भने भावी पुस्ताले धिक्कार्नेछन्, बोल्न नसक्ने जीवजन्तुको सराप लाग्नेछ । गरिव, विपन्न, सिमान्तकृत स्थानीय समुदायले जोखिम मोलेर जोगाएको हीरा मोती जस्तो प्राकृतिक सम्पदालाई एकै दिन लैजाउ भनेर दिने हो भने त गरिव विपन्नको आशुले विभागको नेतृत्वलाई सराप्नेछ ।
त्यसैले संरक्षण भनेको खुला छाती खोलेर हुने चिज होइन, कन्जुस हुनैपर्छ, यदि सही रुपमा संरक्षण गर्ने हो भने । अग्रजले जस्तो चट्टानी अडान लिन विभागले चुक्नु हुँदैन । नेतृत्वलाई ऐन, कानुन, नीति, नियम, नजीर जानकारी गराउनु, अद्यावधिक राख्नु, निकुञ्ज भ्रमण गराएर निकुञ्जको महत्व बुझाउनु र संरक्षणप्रेमी, संरक्षणकर्मी बनाउनु विभागको दायित्व हो ।
औकात र क्षमता नभएका केही दौरा सुरुवाल र ढाका टोपीधारीको कुनै पनि पुस्ताले यो मुलुकको संरक्षणमा कुनै पनि तहको योगदान दिएका छैनन् । पदले पेशा निर्धारण हुने होइन, कामले पेशा थाहा हुने हो । पद जेसुकै होस् काम बिचौलिको छ । त्यसैले ती बिचौलिया नै हुन् । बिचौलियाको धर्म अरुलाई कालो देखाएर आफू गोरो हुँ भन्नु नै हुन्छ । कति पढे, लेखेको छन् तिनले ? संरक्षणमा के योगदान छ तिनको वा तिनको कुनै पुस्ताको ? तिनले गर्ने भाषणका शब्द केलाएर हेर्दा नै थाहा हुन्छ, दक्ष, अदक्ष, अर्ध दक्ष वा काम नलाग्ने । काम नलाग्ने व्यक्तिलाई एउटा महत्वपूर्ण कुर्शीमा राख्दा कति असर पर्छ भन्ने कुरा तिनै बिचौलियाका काम कारवाहीले थाहा भइसकेको छ । विदेशी संरक्षण साझेदार संस्थाले दिएको भिखको कमिसनमा बाँचेका ती भोकाहरुलाई निश्चित दुरीमा राखेर तिनले ती निकायमा गरेका गैर कानूनी कामलाई नियन्त्रण लिन विभाग सक्षम हुनुपर्छ ।
संरक्षण साझेदार संस्थाको हैसियत हेरेर व्यवहार गर्न सक्नुपर्छ विभागले । नेपालको संरक्षणमा दातृ निकायले दिएको आर्थिक, प्राविधिक योगदानको अवमूल्यन विभागले गर्नुहुदैन । संरक्षण साझेदार संस्थाको नेतृत्वको क्षमता, दक्षता, योगदान, पढाई लेखाई, विज्ञता पनि सम्बन्ध सुधारका आधार हुनसक्छन् । ती आधारहरु केलाएर कोलाई नजिक र कोलाई टाढा भन्ने सिद्धान्तलाई विभागको नेतृत्वले अवलम्बन गर्न सक्नुपर्छ ।
विदेशी विश्वविद्यालयको पढाई, विदेशी संघ, संस्थामा काम गरेको अनुभव र स्वदेशमा बसी बिचौलियाको काम गरेको अनुभवमा पक्कै पनि फरक देख्ने क्षमता विभागको नेतृत्वले राख्नुपर्छ । त्यो कुरालाई विभागको नेतृत्वले सैद्धान्तिक, व्यावहारिक र प्रयोगात्मक ढंगले कार्यान्वयनमा ल्याएको खण्डमा अहिले जस्तो अवस्था कहिले पनि नआउने कुरा तर्फ विभागको समयमै ध्यान जान जरुरी छ ।
फिल्डलाई सुझाव
केन्द्र कमजोर भएको समयमा फिल्ड मजबुत हुनुपर्दछ । त्यो दिगो संरक्षणको मान्यता र धर्म हो । संरक्षणको मूल्य मान्यता र अग्रजको पसिना तथा बलिदानीलाई आत्मसात् गरेर चुस्त व्यवस्थापन र दुरुस्त संरक्षण गर्न फिल्ड फ्रण्टलाईन स्टाफहरुले ईख लिएर त्याग गर्नु सक्नुपर्छ । केन्द्रको टिम भताभुङ्ग भएपनि फिल्डको टिम एकढिक्का हुनुपर्दछ । र, प्रकृतिको कडा ढाल भएर व्यवस्थापन र संरक्षण चुस्त दुरुस्त बनाउन दृढ संकल्प लिदिनुपर्दछ ।
अन्तमा, वन मन्त्रीलाई सुझाव
निकुञ्ज विभागको मात्र कुरा गर्दा विभागको नेतृत्व देखि फिल्डमा तैनाथ गेमस्काउट सम्मको भावना र रगतमा उच्च संरक्षणभाव, उच्च अनुशासन, नम्रता, भद्रता, मिजास, शिष्ट भाषा, सु–संस्कार, पारदर्शीता र जबाफदेहीता पक्कै छ । संरक्षणमा समर्पित तल्लो तहका कर्मचारीलाई नेतृत्व दिन आएका व्यक्ति त्यो भन्दा झन सरल, सालीन र सु–संस्कारले निहुरिएको हुनुपर्दछ, निहुरिनु पनि पर्छ । के का लागि भन्दा संरक्षणको अभियानलाई सफल पार्नका लागि ।
हेर्दा टाइ, सुट अनि दौरा सुरुवाल र ढाका टोपीमा चिटिक्क । बिहानै सबै नेताको घर घरमा चाहार्ने र शक्तिको पुजारी हुने तर काम चाँही बिचौलियाको गर्ने दलाल, ठेकेदार, तस्करलाई आफ्नो निवास र मन्त्री च्याम्बरमा खुट्टा हाल्न दिनुहँुदैन । वन विज्ञानको क्षेत्र धेरै गहिरो र व्यापक छ । त्यसको ज्ञान बढाउन बिचौलियाको होईन, आफ्ना कर्मचारीहरु र विषयविज्ञहरुको संगत, राय सल्लाह, सुझाव लिनु शोभनीय हुनेछ ।
नेपालको सरकारको इतिहास हेर्ने हो भने एक वर्ष भन्दा बढी समय वन मन्त्रीमा टिकेको धेरै जना छैनन् । यिनै दौरा सुरुवालधारी नेपाली एनजीओका पदाधिकारी र तिनको संस्थामा काम गर्ने हनुमानको कुरामा पत्याएर तपाईले कुनै निर्णय लिनुभयो र भोलिका दिनमा सर्वोच्च अदालतले उल्ट्याईदिने अवस्था आयो भने के हुन्छ ? भोलि अर्को मन्त्रीले रद्दीको टोकरीमा फ्याँक्ने अवस्था आयो भने तपाईको कार्यकालको मूल्याङ्कन कसरी गर्ने भावी पुस्ताले ? यो विषयमा ध्यान दिन जरुरी छ, वर्तमान मन्त्रीले ।
वन मन्त्री ज्यू, तपाइलाई जुन, जुन व्यक्तिले अहिले घेरामा हालेर बसेका छन् । एक दिन समय निकालेर यिनको विगत हेरिदिनुहोस् । विगतमा यिनले कति सम्मका बदमासी गरेर ती संस्थाबाट बर्खास्त भएका थिए ? विदेशी विश्वविद्यालयबाट शिक्षा आर्जन गरेका तपाईले मन्त्री हुने अवसर प्राप्त गर्नुभएको छ । तपाई जस्तै विद्धत वर्ग तपाईको वरीपरी किन अझै आउन सकेको छैनन् ? त्यो पनि एक पटक ख्याल गर्नुहोस् । गम्भीर भएर हेर्नुहोस्, किन आएनन् यो देशका संरक्षणविज्ञहरु तपाईको वरीपरी । कारण एउटै हो, उनीहरु बिचौलिया होइनन्, उनीहरुले तपाईको चाकरी गरेर आफ्नो पद टिकाउनु पनि छैन । जो आएका छन्, ती असक्षम छन्, चाकरी गरेर हिजो नियुक्ति लिए, चाकरी गरेरै आज त्यो पदमा टिकिरहन चाहान्छन् ।
जसले जे सुकै भने पनि नेपालको संरक्षण नीतिलाई सघाउने साझेदार संस्थाहरुको योगदान र मिहिनेतलाई कम आँकलन गर्दै गाली गर्ने अधिकार तपाई जत्तिको पछिल्लो पुस्ताको मन्त्रीसँग छैन । राणकालिन समयमा संरक्षणका बीउ रोपिएको बोटबाट अहिले फल लागेको छ, फूल फूलिरहेको छ ।
यो फल र फूल मास्ने अधिकार र हैसियत तपाई हाम्रो पुस्ताको छैन । त्यसो नगरौँ मन्त्री ज्यू, सके सपारौँ नसके यत्तिकै हुन दिउँ । तपाईको मन्त्री पद पनि धेरै वर्ष टिक्दैन होला, तपाईले सपार्न सक्नुहुन्न र यस्तै टाई सुटधारी नेपाली एनजीओको बिचौलियाको लहलहैमा लागेर काम बिगार्ने तर्फ नलाग्नुहोस् । बिचौलियाका केही व्यक्तिगत स्वार्थ होलान् तर तपाई त देशको मन्त्री हो, तपाईको स्वार्थ त राष्ट्रिय स्वार्थ हुनुपर्छ ।
तपाई संरक्षणमा खास योगदान दिन सक्नु हुन्न भने भोलि आउने अर्काे मन्त्रीले नेपालको संरक्षणका लागि नयाँ योजना थालनी गर्न सक्ला । त्यसका लागि तपाईले अहिले बाटो नबिगारिदिनुहोस् । संरक्षणको बाटोको डिजाइन फेरबदल नगरिदिनुहोस । यही अनुरोध छ । लामो समयसम्म संरक्षणमा लागेको सामान्य व्यक्तिको हैसियतबाट अनुनय विनम्र अनुरोध छ ।