काठमाडौँ । आदिकवि भानुभक्त आचार्यको जन्मजयन्तीको पूर्वसन्ध्यामा जर्मनीमा रहेका नेपाली भाषीहरुबीच नेपाली भाषा, साहित्यको उन्नयनका विषयमा मन्थन भएको छ ।
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) जर्मनीसँग आवद्ध साहित्यकारहरुले नेपाली भाषा लगायतका अन्य ओझेलमा परेका भाषा, भाषी, संस्कृतिको विकास, प्रवर्धन र उन्नययनमा लाग्नुपर्नेमा जोड दिएका छन् ।

अनेसास जर्मनी च्याप्टरले जर्मनीको बाइरुथमा आयोजना गरेको वृहत साहित्य समारोहमा नेपाली भाषा झैँ मैथिली, भोजपुरी, नेवारी लगायतका अन्य भाषा, भाषी र तिनका संस्कृतिको सम्वर्धनमा जोड दिनुपर्ने कुरामा जोड दिएका छन् ।
जर्मनीका बिभिन्न सहरमा बसोबास गर्दै आएको नेपाली साहित्यकारहरुको उपस्थिति रहेको सो समारोहमा विदेशमा रहेका नेपालीहरुले नेपाली भाषा सहित ओझेलमा परेको अरु भाषाहरुलाई पनि आआफ्ना वस्ती र समाजसम्म प्रचार प्रसार र प्रयोग गर्नुपर्नेमा बिचार व्यक्त गरेका छन् ।

कार्यक्रममा डा. यज्ञराज अधिकारीले हाइकुका विषयमा चर्चा गर्दै आफ्ना केही हाइकुहरु पनि बाचन गर्नुभयो । सो कार्यक्रममा नेपाली भाषा, साहित्य, कला, संस्कृतिसँग सम्बन्धित हाजिरी जवाफ प्रतियोगितामा मनोजकुमार यादव प्रथम हुनुभयो । उहाँलाई सो अवसरमा सम्मानित पनि गरियो । सो हाजिरी जवाफ प्रतियोगिता तथा सम्वादको कार्यक्रमको संयोजन सुवासचन्द्र सापकोटाले गर्नुभएको थियो ।
आदिकवि भानुभक्त आचार्यको जन्मजयन्तीको पूर्वसन्ध्यामा आयोजना गरिएको समारोहमा अनेसास जर्मन च्याप्टरका अध्यक्ष सुजाता घिमिरे राउत, बरिष्ठ उपाध्यक्ष तथा साहित्यकार लिलाराज कार्की तथा गैर आवासीय नेपाली संघ जर्मनका अध्यक्ष निनम्मा राई आदि महानुभावहरुले आदिकवि भानुभक्त आचार्यको तस्विरमा माल्यार्पण गर्नुभएको थियो ।

सो अवसरमा च्याप्टरका सल्लाहकार तथा साहित्यकार खड्ग न्यौपानेले आदिकविको जीवनी, नेपाली साहित्यमा भानुभक्तको योगदानका विषयमा चर्चा गर्नुभयो । समारोहमा दुई दर्जन भन्दा बढी नेपाली, मैथिली भाषामा लेखिएका गीत, गजल, कविता वाचन गरिएका थिए भने नेपाली सांस्कृतिक प्रस्तुति पनि गरिएका थिए ।
अनेसास जर्मन च्याप्टरले त्यहाँका बिभिन्न सहरमा बसोबास गर्ने नेपाली साहित्यकाहरुलाई जमघट गरेर बेला बेला यस्ता किसिमका साहित्यिक कार्यक्रम आयोजना गर्दै आएको छ ।