सडकको पर्खाइमा मकरीगाड हाइड्रोपावर

दार्चुला । अपी हिमाल गाउँपालिकाको वडा नं ५ मकरीगाडमा निर्माण हुने १० मेगावाट मकरीगाड हाइड्रोपावर सडकका कारण निर्माणमा ढिलाइ भएको छ । जनवरीबाटै आयोजना शुरु गर्ने तयारी गरेको मकरीगाड जलविद्युत् आयोजना सडक नपुगेको कारण ढिलाइ भएको हो । अहिले आयोजना सडक सञ्जालको पर्खाइमा छ ।

आयोजनाका लागि कूल दुई अर्ब पाँच करोड लागत अनुमान गरिएको छ । आयोजनाले सन् २०१९ मा विद्युत् उत्पादन गर्ने लक्ष्य लिइए पनि हालसम्म सडकका कारण ढिलाइ भएको मकरीगाड हाइड्रोपारका इञ्जिनीयर उपेन्द्रबहादुर चन्दले बताउनुभयो ।

नेपाल विद्युत् प्राधिकरणको बलाँचस्थित १३२ केभी सवस्टेशनमार्फत राष्ट्रिय विद्युत् प्रणालीमा जोडिने जनाइएको हो । अहिले विटुले पारिबगर खण्डेश्वरी सडक निर्माणको काम भइरहेको छ । सडकको ओखल क्षेत्रमा चट्टानका कारण ढिलाइ भएको छ । सडकको ट्र्याक खुल्न अझै ओखलमा एक महीना लाग्नेछ ।

हाइड्रोपावरका कर्मचारी विगत छ महीनादेखि मकरीगाडमा कार्यालय स्थापना गरी बसेका छन् । मकरीगाडसम्म अस्थायी ट्र्याक खुलाए पनि ओखलमा सडक रोकिएको छ । सडक पुग्ने बित्तिकै मकरीगाड हाइड्रोपावरले काम थाल्ने गरी तयारी भएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here