काठमाडौँ । नवनियुक्त वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरीले नियम, कानूनले नमिल्ने कुरा आफूले कर्मचारीलाई दबाब दिएर नगराउने र कर्मचारीले पनि त्यता तर्फ ध्यान नदिन आग्रह गरेका छन् ।
सोमवार मन्त्रालयमा पद बहाल गर्दै उनले आफू कहिल्यै पनि नीति, नियम विपरित नजाने प्रतिवद्धता व्यक्त गरे । उनले भने, मैले कानून अनुसारको काम गर्न प्रोत्साहन गर्छु । नचाहिने काम गर्न कर्मचारीलाई दबाब दिन्न ।
मन्त्रालयमा आयोजित कार्यक्रममा उनले थप स्पष्ट हुँदै भने, पार्टी सभापति सम्मानीय शेरबहादुर देउवाले मलाई जुन विश्वास गरेर यो मन्त्रालयमा पठाउनु भएको छ, त्यसको कदर गर्छु । नियम कानूनले मिल्ने जति सबै काम गर्छु । नियम कानूनले नमिल्ने काम गर्न मैले कहिल्यै दबाब दिने छैन । तपाईहरु ढुक्क हुनुहोस् ।
उनले भने, सरकारले लिएको उद्दृेश्य पूरा गर्न म आएको हुँ । मलाई एउटै परिवार जस्तै मानेर सहयोग गर्नुहोस्, फेरी पनि भन्छु, मैले कुनै काममा दबाब दिन्न ।

उनले सम्बोधनका क्रममा भने मानव वन्यजन्तु द्वन्द्व बढ्दो छ, यसलाई कसरी समाधान गर्ने त्यसको उपाय बारे सोच्न जरुरी भइसक्यो । मन्त्री शाहीले भने, मैले त वन मन्त्रालय भनेको काठ, दाउराको काम गर्ने होला मात्र सोचेको थिए, अहिले तपाईहरुले भने पछि धेरै कुरा बुझे । यो मन्त्रालयले त वन, वनस्पति, वन्यजन्तु, जलवायु परिवर्तन, वातावरण लगायतका विषयमा काम गर्दाे रहेछ ।
मन्त्री शाहीले हौसिँदै भने,अब मेरो काँधमा ठूलो जिम्मेवारी आएको महसुस गरे । यो मन्त्रालय पहिलेदेखि मैले गरेको अनुमान भन्दा निकै फरक रहेछ । मेरो काँधमा गहन काम र जिम्मेवारी रहेछन्, मेरो नेतृत्वमा तपाईहरुको विज्ञताको सदुपयोग गर्न चाहान्छु, मलाई साथ दिनुहोस् ।
कार्यक्रमको सुरुवाती चरणमा मन्त्रालयका सहसचिव डा.बुद्धिसागर पौडेलले विश्व परिदृश्यमा वन मन्त्रालयको भूमिका र महत्व तथा अर्का सहसचिव बद्री ढुङ्गानाले मन्त्रालयको जिम्मेवारी, कार्यक्षेत्र, अवसर र चुनौतीका विषयमा प्रकाश पारे पछि मन्त्री शाहीले यस्तो धारणा राखेका थिए ।