काठमाडौँ । नेपालको विकासको कुरा गर्दा कर्णालीको सन्दर्भ बेला बेला उठ्ने र उठाउने गरिन्छ । कर्णालीलाई दुर्गमसँग दाँज्ने चलन पनि छ । कर्णाली प्रदेशको मुगु जिल्ला अझै पनि बिकट र भौगोलिक रुपमा दुर्गम नै मानिन्छ । मुगु जिल्लामा बसोबासका हिसाबले बढीजसो बाहुन, क्षेत्री र ठकुरीको बाहुल्यता छ । बाइसे चौबिसे राजा रजौटाका पालामा पश्चिममा ठकुरीहरुले राजकाज चलाएका हुन् । विशेष गरी बझांगी, डोट्याली, जाजरकोटी, सल्यानी राजाहरुको त्यतिबेला निकै हैकम चल्थ्यो । बझांगी राजाले त २०१७ सालसम्म आफ्नै मालपोत उठाएर राजकाज चलाएको थियो । पछि नेपालको सेना गएर बझांगी राजा रामजंग र उनको सेनालाई घेरा हालेर मारेपछि बझांग नेपालभित्र गाभिएको हो ।
काठमाडौँदेखि सुदूरपश्चिम भौगोलिक रुपमा टाढा भएपनि राणा र शाह बंशीय राजासँग पश्चिम नेपालका ठकुरीहरुको सम्बन्ध पुरानै हो । चन्द्रशम्शेरका ज्वाई तत्कालिन बझांगी राजा जयपृथ्वी बहादुर सिंहले विश्व मानवताबादको ब्याख्या गरेर हिडेको इतिहास छ । जाजरकोटी, दैलेखी, सल्यानी ठकुरीसँग राजदरबारको सम्बन्ध पछि सम्म पनि थियो । शाहज्यादी शान्ति राज्य लक्ष्मी बझांगी राजाको बुहारी भएकै कारणले गणतन्त्र घोषणा हुनु अघिसम्म नेपाल सरकारको ढुकुटीबाट सलामी स्वरुप रकम बुझ्ने गरेको इतिहास छ । यद्दपी सुदूरपश्चिका अन्य जिल्लाका ठकुरीहरुको जस्तै मुगुका ठकुरीहरुको काठमाडौँमा हुने खाने सम्भ्रान्त परिवारसँग त्यति सम्बन्ध रहेको पाइदैन ।
पञ्चायत कालमा बैतडीमा प्रधानपञ्च हुँदै जिल्ला पञ्चायतसम्म पुगेका लोकेन्द्रबहादुर चन्दलाई दरबारले हात दिएर सूर्यबहादुर थापा र मरिचमान सिँह श्रेष्ठको प्रतिष्पर्धी बनाएयो । सुदूरपश्चिम विकासको दृष्टिले पछाडी परेको भएपनि ठकुरी समुदायको राणा र राजासँगको सम्बन्धले आम मानिसले सोचेजस्तो पनि होइन । राणा र राजासँगको पारिवारिक सम्बन्धका कारणले कतिपय सुदूरपश्चिमका ठकुरीहरुले त्यतिबेलै बेलायत, जापान, रुस, नेदरल्याण्ड लगायतका मुलुकको उच्च शिक्षा लिने अवसर पनि पाएका छन् । बझांगी राजाको छोरी पौडी खेलाडी गौरीका सिंहका पिता पूर्खा बेलायतमा बस्न थालेका चार पुस्ता भइसकेको छ ।
यो पृष्ठभूमिमा मुगु अलि फरक जिल्लाको रुपमा रहेको छ । पञ्चायत कालमा २०३८ सालतिर राजाले एक जना ठकुरीलाई सहायक मन्त्री बनाएका थिए । मुगुबाट राजकाज चलाउने ठाउँमा तिनै व्यक्ति उच्च ओहोदामा पुग्ने व्यक्ति हुन । २०४६ साल अघि मुगुका जनप्रतिनिधिले खासै अवसर पाएको देखिदैन ।
पहिलो पटक बहुमतको सरकार बनाउँदा नेपाली काङ्ग्रेस नेतृत्वको सरकारमा २०४८ सालमा मुगु जिल्लाका तत्कालिन प्रनिनिधिसभा सदस्य हस्तबहादुर मल्ल शिक्षा सहायक मन्त्री बने । २०५२ सालपछि शेरबहादुर देउवाको नेतृत्वमा गठन भएको सरकारमा उनै मल्ल शिक्षा राज्यमन्त्रीमा बढुवा भए । तिनै राज्य मन्त्री मल्लका तत्कालिन स्वकीय सचिव हुने अवसर पाएका ऐन बहादुर शाही ठकुरी वर्तमान सरकारमा वन तथा वातावरण मन्त्री नियुक्त भएका छन् । संविधासभाको कालमा सिपी मैनालीको मालेबाट थोरै समयका लागि मुगुका मानबहादुर शाहीले भूमिसुधार राज्यमन्त्रीको जिम्मेवारी पाएका थिए ।
संघर्षमय जीवन
२०२६ साल फागुनमा मुगुको सोरु गाउँपालिका २ जडेपानी गाउँमा जन्मेका नवनियुक्त वन तथा वातावरण मन्त्री ठकुरी गाउँघरमा धनीमानिका छोरा होइनन् । मुश्किलले खान पुग्ने आम नेपालीको समस्यासँग उनका घरपरिवार जुध्दै आएको हो । ठकुरी परिवारको जन्मले होला, अरु भन्दा दुई गाँस खाएरै उनले २०४४ सालतिर नेपाली कांग्रेसका व्यक्तिसँगको संगतले राजनीतिमा रुची देखाए । दुर्गम ठाउँ राजनीति गरेर मात्र खान नपुग्ने भएपछि स्थानीय विद्यालयमा शिक्षकको रुपमा पनि काम गरे । एकातिर राजनीतिक सचेतना जगाउने र अर्कोतिर शिक्षकको पेशा एकसाथ अँगाल्न नसकिने भएपछि उनले शिक्षकको पेशालाई त्यागे र सक्रिय राजनीतिमा लागे ।
मुगु भन्ने बित्तिकै सधैजसो हस्तबहादुर मल्ल जित्ने नेताको रुपमा चिनिन्थे । उनै मल्लसँग नजिक भएर राजनीति गर्ने मौका पाएका ठकुरी मल्ल जस्तै सालिन मानिन्छन् । जिल्लास्तरमा हस्त मल्लको बिडो थाम्ने नेताको रुपमा उनलाई मान्ने गरिन्छ । हस्त मल्लले ठकुरीलाई आफ्नो स्वकीय सचिव बनाए, पार्टी समितिमा काम गर्ने अवसर दिए, राजनीतिक चेतना भरिदिए र आज मन्त्री पदमा आसिन हुन पुगेका छन् वन मन्त्री ठकुरी ।
नेपाली कांग्रेसको राजनीति गर्दा गर्दै केन्द्रमा गिरीजाप्रसाद कोइराला र शेरबहादुर देउवामा मिलाप हुन नसक्दा पार्टी फुट्यो । ठकुरी देउवाको पक्षमा उभिए । तत्कालिन अवस्था नेपाल कांग्रेस प्रजातान्त्रिकका मुगु जिल्ला सभापति भएर देउवालाई दह्रोसँग साथ दिए । देउवाले कर्णाली अञ्चलमा राम्रो र नजिक मान्ने नेताहरुमा जीवन शाही र उनी पर्ने गरेका छन् ।राजनीति गर्ने क्रममा तत्कालिन जिल्ला विकास समितिको उपसभापतिमा पार्टीले उनलाई खडा गरेको थियो तर हारे ।
मुगु जिल्लाको सदरमुकाम गमगढीबाट दुई दिन पैदल हिडेर पुगिने उनको गाउँमा विकासको अवस्था अझै पनि निकै कमजोर छ । तर उनले गाउँ र जिल्ला सदरमुकामका बीच सम्बन्ध जोड्ने कामलाई टुटाएनन् । माओबादी द्वन्द्वका बेला अरु नेताहरुले गाउँ छाडे, जिल्ला छाडे तर ठकुरीले मुगुबासीसँगको सम्बन्ध तोड्न सकेनन् बरु गाउँ वस्ती डुल्ने कामलाई निरन्तरता दिए । कतिपटक ज्यान मार्ने धम्की समेत सहे ।
२०७० मा पहिलोपटक संविधानसभा सदस्यको उम्मेदवार बनेका ठकुरी झिनो मतान्तरले एमालेका मोहन बानियाँसङ्ग पराजित भए । बाँनिया केपी ओलीको अघिल्लो पालामा १३ दिने विना विभागीय मन्त्री भए, जति बेला वन मन्त्रालयमा कैलालीका नारदमुनी राना मन्त्री भएका थिए । बाँनियालाई पछि कोहलपुर घर भएकी एउटा महिलाले आफूलाई यौन शोषण गरेको आरोप लगाउँदा बिबाद फसेका थिए ।
२०७९ को आम निर्वाचनमा दोस्रो पटक प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनेका उनी आफ्ना निकटतम प्रतिस्पर्धि नेकपा एमालेका उम्मेद्वार राजबहादुर कार्कीलाई पराजित गर्दै ठुलो मतान्तरले विजयी भएका थिए । झण्डै चार हजार बढीको मतान्तरले पहिलो पटक शाही संसदमा प्रवेश गर्न सफल भए ।
तीन पटक पार्टी सभापति
देउवाले नेतृत्व गरेको प्रजातान्त्रिक कांग्रेस नेपाली कांगेसमा मिल्यो । ठकुरी मुगु जिल्लाको मिलेको कांग्रेसका दुई पटक सभापति हुने अवसर पाए । अचेल पनि उनी जिल्ला पार्टी सभापति नै छन् । शिक्षा शास्त्र संकायमा उच्च शिक्षा हासिल गरेका नवनियुक्त वन मन्त्री शालिन, भद्र र एकदमै कम बोल्ने व्यक्तिका रुपमा जिल्लास्तरमा र पार्टीस्तरमा बुझ्ने गरिन्छ ।
देउवा दाइना भए
देउवाका सारथी भएर मुगुमा राजनीति गरेका ठकुरी केपी ओलीले नेतृत्व गरेको सरकारमा कांग्रेसको तर्फबाट जाने कुराले निकै चर्चा पायो । पार्टी सभापति देउवासँग निकै भिजेका ठकुरीले पहिलो पटक संसद छिरेर पहिलो पटकमै संघीय मन्त्रालयको जिम्मेवारी पाउन सफल भए ।
कांग्रेस भित्र मन्त्री बन्ने मापदण्ड निर्धारण गरिँदा भूगोललाई पनि प्राथमिकता दिने भनियो । भूगोलमा शेखर कोइराला पक्षबाट सुर्खेतका ह्रदयराम थानीको नामले चर्चा बटुल्यो । देउवा काम गर्न सहज पात्रको खोजीमा थिए, नजरमा परे, मुगुका यिनै ठकुरी । पार्टी विभाजनदेखि हालसम्म निरन्तर देउवाको विश्वासपात्र र सहज व्यक्तिको रुपमा काम गर्दै आएका ठकुरीलाई संघीय संसदमा पहिलो पटक प्रवेश गरेकै बेला मन्त्री पद उपहार मिल्यो ।
आकांक्षी धेरै भएपछि मन्त्री पदका लागि आफ्नो समुहबाट नाम दिन सकस भइरहेका बेला पार्टी सभापति देउवाले शेखरलाई कर्णाली प्रदेशबाट ऐन बहादुर मल्ल ठकुरीलाई समेट्ने सूचना दिएपछि मन्त्रीको चर्चा बटुलेका थानी आउट मुगुका ठकुरी सिंहदरबार इन भएका हुन् । ठकुरीका कारणले शेखरलाई ह्रदयराम थानी बोक्न झन्झट पनि कम भयो । थानीलाई रोक्नका लागि पूर्णबहादुर खड्काले कर्णालीबाट ठकुरीको तुरुप फालेको चर्चा पार्टीवृतमा चलिरहेको छ । एकातिर थानी रोकिने र अर्कातिर कर्णालीको मन्त्री बनाएको जस पनि मिल्ने भएपछि खड्का र देउवा ठकुरीलाई मन्त्री बनाउन सहमत भएका हुन् ।
कांग्रेसलाई किन वन मन्त्रालय
यो पटक कांग्रेसले वन मन्त्रालयलाई बढी महत्व दियो । २०७९ को चुनावी सरकारको प्रधानमन्त्री हुँदा वन मन्त्रालयको जिम्मेवारी समेत देउवाले समालेका थिए । अघिल्लो पटक प्रधानमन्त्री हुँदा केही ठूला आयोजना वन मन्त्रालयका कारणले फत्ते हुन नसकेको विषयमा जानकार देउवाले यो पटक वन मन्त्रालय कांग्रेसलाई राख्न एमालेसँग सहमति गरेका हुन् । वन मन्त्रालयको नेतृत्व पनि आफ्ना विश्वासपात्र राख्नुमा देउवाको स्वार्थ छ ।
विशेष गरी निकुञ्जभित्रका भौतिक संरचना निर्माणका लागि दौडधुप गरिरहेका केही व्यक्तिहरुले देउवालाई निरन्तर घचघच्याइ राख्ने गरेका छन् । हुन त त्यस्ता तत्वहरुले जो आएपनि पहुँचका आधारमा आफ्ना काम गर्ने गरेका छन् । तर यो पटक देउवालाई समात्ने समुह बलियो भएको देखिन्छ । फलस्वरुप त्यस्ता केही स्वार्थी समुहको डिजाइनमा कांग्रेसले वन मन्त्रालय र ऊर्जा मन्त्रालय राखेको छ ।
यो कुरालाई पार्टीभित्र शेखर समुहले बढी उठाइ राखेको छ, आफ्नो समुहकालाई किन ऊर्जा र वन मन्त्रालय दिइयो भनेर शेखर समुहमा छलफल चलेको छ भने एमाले पार्टीले ऊर्जालाई नछाड्ने भने पनि अन्तिममा ऊर्जा मन्त्रालय कांग्रेसलाई छाड्नु परेको बताइन्छ । यो कुरा ऊर्जा र वन मन्त्रालयमा नियुक्त भएका पात्रको चरित्र र व्यवहार हेर्दा छर्लंग हुने गर्छ । वन नियमावली संशोधन भइसकेको छ, नवनियुक्त वन मन्त्री ठकुरीले त्यसलाई छिटै कार्यान्वयनको चरणमा लैजाने छन् । त्यसका लागि उनले धेरै ढिलो नगरीकन मन्त्रालयका अधिकारीहरुलाई निर्देशन दिने सम्भावना छ ।
२०४८, ०५१ देखि ०५३ मा तत्कालिन शिक्षा राज्यमन्त्री मल्लको स्वकीय सचिव भएर सिंहदरबारभित्रका राजकाजका विषयमा दौडधुप गरेका ठकुरीले पदबहालको दिनमा नियम कानूनले नमिल्ने कुरामा कर्मचारीलाई कुनै दबाब दिन्न भन्ने उद्घोष गरेका छन् । तर वन नियमावली संशोधन भइसकेको कुराको राम्रो जानकार मन्त्री ठकुरीले यो पनि भनेका छन् कि हुन सक्ने र नियमले मिल्ने कामलाई कुनै कर्मचारीले पनि आनकानी गर्न पाउदैन र बहानाबाजी मलाई मन पर्दैन । यसको मतलब नियमावलीलाई छिटै कार्यान्वयन गरिनुपर्छ । विगत लामो समयदेखि माग हुँदै आएका निकुञ्ज, आरक्ष भित्रका भौतिक संरचना निर्माणका लागि कोही पनि बाधक हुनु हुदैन भन्ने कुरा मन्त्री ठकुरीले पद बहालकै बेला बोलिसकेका छन् ।
पारिवारिक स्थिति
मन्त्री ठकुरीका तीन छोरा र एक छोरी छन् । उनका दुईवटा पत्नी छन् । एउटा छोरालाई जापान र अर्काेलाई क्यानडा पठाएका ठकुरीले एउटा छोरा आफैसँग राजनीति गर्न हिँडाउने गरेका छन् । नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्य रहेका छोराले मन्त्री ठकुरीलाई राजनीतिक तथा पारिवारिक रुपमा साथ दिँदै आएका छन् । उमेरले ५५ बसन्तमा हिड्दै गरेका ठकुरीले राजनीति बाहेक अरु पेशा, व्यवसाय गर्ने खासै आँट भने गरेका छैनन् । पार्टी कार्यकर्तासँग साधारण जीवनशैलीमा हिड्न, खान, बस्न रुचाउने भएकाले ठकुरीलाई जिल्ला तहमा विपक्षी पार्टीका नेता तथा कार्यकर्ताले पनि औला ठड्याउने गरेका छैनन् ।
कामको सुरुवात राराबाटै
सोमबार मन्त्री ठकुरी पद बहाल गर्न वन मन्त्रालय नपुग्दै रारामा होटल खोल्ने प्रक्रियामा गएको एक समुहका व्यक्तिहरु दलबल सहित सिंहदरबार छिरिसकेको थिए, उक्त समुहले गैर आवासीय नेपालीको लगानी भित्रयाएको दावी गरेको छ । पजेरो गाडी कानून मन्त्रालयको पसिसरमा राखेर मन्त्री ठकुरीलाई भेट्न प्रतिक्षामा बसेको समुहले नेपालकथासँग भन्यो, आज भेट्नै पर्ने भएको छ, लगानी गर्ने व्यक्ति भोली बाहिर जाँदैछन्, सकभर आज भेटेर केही फाइनल टच गराउनु पर्ने भएर आजै आइयो ।
रारामा अहिले पनि कानून विपरित दुईवटा होटल सञ्चालनमा छन् । कानून विपरित छ भन्ने निकुञ्ज विभागदेखि मन्त्रालयसम्म सबैलाई थाहा छ, तर स्थायी र दीर्घकालिन निकाशका लागि कोही पनि अग्रसर नभइरहेका बेला मुगुकै मन्त्री आएपछि उनले पहिलो काम राराबाट सुरु गर्ने संकेत गरेका छन् ।