ठाकुरद्वारा, बर्दिया । दुई दिन सम्म यहाँ सञ्चालन भएको मानव हात्ती द्वन्द्व न्यूनीकरण र मानव हात्ती सहअस्तित्वका लागि नेपाल भारत अन्तरसीमा समन्वय बैठक बुधबार सम्पन्न भएको छ ।
मङ्गलबार र बुधबार यहाँ सञ्चालन भएको दुई देशीय संयुक्त बैठकले आगामी दिनमा मानव वन्यजन्तुबीच हुने द्वन्द्व न्यूनीकरण गर्न र मानव वन्यजन्तु सहअस्तित्वका लागि एकापसमा सूचना आदान प्रदान गर्ने, सफल विधि र प्रविधिलाई हस्तान्तरण तथा अनुभव सिकाईका लागि आपसी समन्वय तथा सहयोग गर्ने, दुई देशका बीच स्थानीयस्तरमा निरन्तर अन्तक्रिया, छलफल र सहयोगका लागि कार्यक्रम गर्ने लगायतका निर्णयहरु गरी बैठक सम्पन्न भएको कुरा आयोजक संस्था उज्यालो नेपालका कार्यकारी निर्देशक रमेशकुमार थापाले जानकारी दिए ।
दुई मुलुकमा हात्ती लगायतका वन्यजन्तु द्वन्द्व न्यूनीकरणमा काम गर्ने स्थानीय अगुवा, युवा तथा महिलालाई अझ सक्रिय रुपमा सहभागी गराउने विषयमा गम्भीर बहस
बर्दियामा आयोजना गरिएको मानव हात्ती द्वन्द्व न्यूनीकरण र मानव हात्ती सहअस्तित्वका लागि नेपाल भारत अन्तरसीमा समन्वय पहिलो बैठकले यस्तो निर्णय पारित गरेपछि आगामी अर्काे अन्तरसीमा समन्वय बैठक भारतमा गरिने भएको छ ।
अन्तरसीमा बैठकमा नेपाल र भारतका गरी ५० जना भन्दा बढी संरक्षणकर्मी, विज्ञ, हात्ती मेरो साथीका अभियानकर्ता, गजमित्र अभियानकर्ता, अनुसन्धानकर्मी तथा संरक्षण साझेदार संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
नेपालका तर्फ उज्यालो नेपाल हात्ती मेरो साथी अभियानकर्ता, बर्दिया राष्ट्रिय निकुञ्ज कार्यालय, मधुवन, गेरुवा, राजापुर र ठाकुरबाबा नगरपालिकाभित्रका अगुवा संरक्षणकर्मी र भारतका तर्फबाट नेचर इन्भारमेन्ट एण्ड वाइल्डलाइफ सोसाइटी (न्यूज) का प्रतिनिधि, गजमित्र अभियानकर्ता, कतरनिया वाइल्डलाइफ सेन्चुरी वरीपरीका संरक्षण अभियानकर्मीहरुको सहभागिता रहेको थियो ।

दुई दिनसम्म सञ्चालन भएको बैठकमा दुवै देशमा मानव वन्यजन्तु द्वन्द्व न्यूनीकरणका लागि भएका परम्परागत ज्ञान र शीपको प्रयोग, आधुनिक विधि र पद्धती र व्यवहारहरुको शिकाई बारे अनुभव आदान प्रदान गरियो ।
सो बैठकमा भारतीय क्षेत्रमा वन्यजन्तुले गरेको हानी नोक्सानीबाट बच्न र बचाउन अपनाएका विधि र कार्यक्रमहरुको बारेमा छलफल भएको थियो भने नेपालका तर्फबाट बर्दिया राष्ट्रिय निकुञ्ज र निकुञ्जको मध्यवर्ती क्षेत्र, खाता जैविक मार्ग क्षेत्रमा निकुञ्ज कार्यालय, डिभिजन वन कार्यालय र संरक्षण साझेदार संस्थाहरुले अवलम्वन गरेका कार्यक्रमहरुका बारे अनुभव साटासाट गरियो ।
वन्यजन्तुको चोरी शिकार नियन्त्रणका लागि स्थानीयस्तरमा सूचना आदान प्रदान गर्ने, संरक्षण अभियानमा सफल देखिएका कार्यक्रमहरु बारे एक अर्कालाई सक्दो सहयोग गर्ने विषयमा पनि छलफल
दुई दिनसम्म सञ्चालन भएको बैठकमा मानव वन्यजन्तु द्वन्द्व न्यूनीकरणका लागि दुबै देशमा सञ्चालन भए, गरेका सफल प्रयासहरुका बारेमा छलफल भयो । बैठकको दोस्रो दिन नेपाल तर्फ भएका असल अभ्यासको भारतीय पक्षका सहभागीहरुलाई स्थलगत अवलोकन गराइएको उज्यालो नेपालले जनाएको छ ।
बैठकमा दुबै मुलुकका द्वन्द्व न्यूनीकरण गर्न अपनाइएका सफल कार्यक्रमलाई सार्वजनिक तथा छलफल गरियो । दुबै देशमा सफल देखिएका कार्यक्रमका अनुभव साटासाट गर्ने, स्थानीय स्तरमा वन्यजन्तु सम्बन्धी सूचना आदान प्रदान तथा अन्य सहयोग आदान प्रदान गर्ने विषयमा पनि छलफल भएको उज्यालो नेपालका अध्यक्ष नवराज न्यौपानेले नेपालकथालाई जानकारी दिए ।

बैठकले वन्यजन्तुको चोरी शिकार नियन्त्रणका लागि स्थानीयस्तरमा सूचना आदान प्रदान गर्ने, संरक्षण अभियानमा सफल देखिएका कार्यक्रमहरु बारे एक अर्कालाई सक्दो सहयोग गर्ने विषयमा पनि छलफल भएको कुरा भारतका तर्फबाट सहभागी नेचर इन्भारमेन्ट एण्ड वाइल्डलाइफ सोसाइटी (न्यूज) का प्रतिनिधि अभिशेकले नेपालकथालाई बताए ।
दुई मुलुकमा हात्ती लगायतका वन्यजन्तु द्वन्द्व न्यूनीकरणमा काम गर्ने स्थानीय अगुवा, युवा तथा महिलालाई अझ सक्रिय रुपमा सहभागी गराउने विषयमा पनि छलफल भएको उनले बताए । कार्यक्रमको समापनका अवसरमा उज्यालो नेपालका कार्यकारी निर्देशक रमेशकुमार थापाले वन्यजन्तुबाट हुने हानी नोक्सानी कम गर्न दुबै देशमा भए, गरेका असल र सफल अभ्यासलाई आगामी दिनमा समुदायस्तरमा आदान प्रदान गरिने जानकारी दिए ।
सो बैठकमा बर्दिया राष्टिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत डा. अशोककुमार रामले सीमावर्ती क्षेत्रमा देखिएको वन्यजन्तुका समस्या सीमावर्ती क्षेत्रका स्थानीय, निकुञ्ज प्रशासन, संरक्षण साझेदार संस्थाहरुको संयुक्त प्रयासले समाधान गर्नुपर्ने बताए । कार्यक्रममा उनले भने, वन्यजन्तुको राजनीतिक सीमाना नहुने र वन्यजन्तुले नेपाल भारत दुबै देशमा समस्या सिर्जना गरिरहेकाले यसको समाधानका लागि स्थानीय तहमा समुदायस्तरमा सूचना आदान प्रदान र सहयोग विस्तार गर्नुपर्छ ।