वन डढेलो नियन्त्रण तथा व्यवस्थापन सप्ताह सुरु : सामूहिक पहलका लागि आह्वान

काठमाडौँ । बिभिन्न कार्यक्रमका साथ आजदेखि देशभर वन डढेलो नियन्त्रण तथा व्यवस्थापन सप्ताह सुरु भएको छ । सरकारले सबै सरोकारवाला निकाय तथा स्थानीय समुदायलाई सप्ताहमा सक्रियताका साथ सहभागी हुन आग्रह गरेको छ ।


“वन डढेलो नियन्त्रणमा प्रभावकारिता : तीन वटै तहका सरकार र समुदायको सक्रिय सहभागिता” भन्ने मूल नाराका साथ सप्ताहभरी देशैभरी वन डढेलो नियन्त्रण र व्यवस्थापनका कार्यक्रम सञ्चालन गरिने भएका छन् ।

वन डढेलोको बढ्दो जोखिमलाई प्रभावकारी रूपमा नियन्त्रण गर्न सामुहिक प्रयास, सबै सरोकारवालाबीचको सुदृढ सहकार्य तथा सामूहिक जिम्मेवारी अत्यन्त आवश्यक


वन तथा वातावरण मन्त्रालय तथा वन तथा भू–संरक्षण विभागले वन डढेलो नियन्त्रण तथा व्यवस्थापनका लागि सबै सरोकारवालाहरूलाई एकीकृत रुपमा सामूहिक प्रयास थालनी गर्न आह्वान गर्दै वनमा डढेलो लगाउन हुन्न भन्ने कुरामा सचेत रहन र वनमा डढेलो लगाउने काम कानून विपरित भएकोले त्यस्ता कामहरु कानूनी दायरामा ल्याउन सरकार प्रतिवद्ध रहेको कुरा समेत जनाएको छ ।

गर्मी बढ्दै जाँदा वन डढेलोको समस्या थप देखिन सुरु भइरहेका बेला सरकारले सप्ताह मनाउन थालेको छ । नेपालमा प्रत्येक वर्ष सुख्खा यामसँगै वन डढेलोको जोखिम बढ्दै जाने गरेको छ। वन डढेलोका कारण मानव जीवन, वन्यजन्तु, जैविक विविधता तथा भौतिक सम्पत्तिमा ठूलो क्षति पुग्नुका साथै वातावरणीय सन्तुलनमा समेत गम्भीर असर पर्ने गरेको बिभिन्न अध्ययन अनुसन्धानहरुले देखाएका छन् । वन डढेलोले वन क्षेत्रको उत्पादनशीलता घटाउने, माटोको उर्वराशक्ति नष्ट गर्ने तथा वायु प्रदूषण बढाउने जस्ता समस्या पनि सिर्जना गर्ने गर्दछ ।

धीरेन्द्रकुमार प्रधान

वन तथा वातावरण मन्त्रालयले वन डढेलो नियन्त्रणका लागि संघ, प्रदेश र स्थानीय तहका निकायहरू, सामुदायिक वन उपभोक्ता समूहहरू, सुरक्षाकर्मी, सरोकारवाला संस्थाहरू तथा स्थानीय समुदायको सक्रिय सहभागिता जरुरी भएको बताएको छ । वन क्षेत्रमा हुने लापरवाहीजन्य गतिविधि, खुला आगो बाल्ने काम तथा अन्य सम्भावित जोखिमपूर्ण व्यवहारबाट सचेत रहन आम नागरिकलाई सरकारले अनुरोध पनि गरेको छ ।

वन क्षेत्र राष्ट्रको महत्वपूर्ण प्राकृतिक सम्पदा भएकाले यसको संरक्षण र दिगो व्यवस्थापनमा सबै नागरिकको साझा जिम्मेवारी रहेको मन्त्रालयले स्पष्ट पारेको छ। त्यसैले वन डढेलो नियन्त्रण तथा व्यवस्थापन सप्ताहको अवसरमा वन डढेलो रोकथाम तथा नियन्त्रणका लागि सबै निकाय र समुदायलाई सक्रिय रूपमा सहभागी हुन अपिल गरिएको छ ।

वन तथा वातावरण मन्त्री माधवप्रसाद चौलागाइँले वन डढेलो नियन्त्रण तथा व्यवस्थापन सप्ताहको अवसरमा एक सार्वजनिक अपिल जारी गर्दै वन डढेलो व्यवस्थापनमा तीन वटै तहका सरकार र समुदायको महत्वपूर्ण भूमिका हुने कुरा उल्लेख गरेका छन् । मन्त्री चौलागाइँले सुख्खा याममा आम नागरिकलाई सचेत रहन र वन डढेलोबाट हुने हानी नोक्सानीबाट बच्न र बचाउन सबैसँग आग्रह समेत गरेका छन् ।

वन तथा भूसंरक्षण विभागका महानिर्देशक धीरेन्द्रकुमार प्रधानले वन डढेलोको बढ्दो जोखिमलाई प्रभावकारी रूपमा नियन्त्रण गर्न सामुहिक प्रयास, सबै सरोकारवालाबीचको सुदृढ सहकार्य तथा सामूहिक जिम्मेवारी अत्यन्त आवश्यक भएको बताएका छन् ।

महानिर्देशक प्रधानले प्राकृतिक विपत्तीका रुपमा रहेका वन डढेलोको रोकथाम र नियन्त्रणका प्रयासहरूलाई थप प्रभावकारी बनाउन सबै सरोकारवाला पक्षहरूले हातेमालो गर्दै साझा प्रतिबद्धताका साथ अघि बढ्न समेत आग्रह गरेका छन् ।

वन तथा वातावरण मन्त्री माधवप्रसाद चौलागाइँले जारी गर्नुभएको अपिल

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here