काठमाडौँ । चितवनको इच्छाकामना गाउँपालिका–१ हातिवाङ (काउले) मा रहेको पर्यटकीय स्थल सिराइचुली प्रचारप्रसार र संरक्षणको अभावमा ओझेलमा परेको छ ।
समुद्र सतहबाट एक हजार ९४६ मिटर उचाइमा रहेको सिराइचुली चितवनकै सबैभन्दा अग्लो भूमि हो । यहाँबाट बिहान सूर्याेदयको मनोरम दृश्य अवलोकन गर्न सकिन्छ । साथै सिराइचुलीबाट चितवनको तराईफाँट, तथा छिमेकी जिल्लाहरू धादिङ, गोरखा, मकवानपुर र नवलपरासीको सम्पूर्ण भूभाग तथा धौलागिरि, अन्नपूर्ण, माछापुच्छ्र«े, लाङ्टाङ, गणेश, मनास्लुलगायतका हिम शृङ्खला सजिलै देख्न सकिने पथप्रदर्शक (गाइड)को काम गर्दै आएका तिलक गिरीले बताउनुभयो ।
मौसममा लालीगुँरासले ढकमक्क भरिएको जङ्गल टाढा–टाढासम्मको रमणीय दृश्य र विविध प्रकारका चराचुरुङ्गी पनि यहाँ देख्न पाइन्छ । सिराइचुलीमा बाह्य र आन्तरिक दुवै पर्यटकहरू आउने गर्दछन् । अक्टोबरदेखि डिसेम्बरसम्म सिराइचुली यात्राका लागि राम्रो मौसम भएको गिरीले बताउनुभयो ।
पर्यटकलाई लोभ्याउने प्राकृतिक सौन्दर्यले भरिपूर्ण भए पनि प्रचारप्रसार र संरक्षणको अभावका कारण पर्यटकहरू कम आउने गरेका छन् । तर एक पटक सिराइचुली आएका पर्यटकहरू दोह¥याइ तेह¥याइ आउने गरेको उहाँले बताउनुभयो ।
भौगोलिक विकटताका कारण यहाँ पर्यटकहरू सोचेजति आउन नसकेको वडाध्यक्ष नन्दुलाल गिरीले बताउनुभयो । पछिल्लो केही वर्षयता मोटरबाटो पुगेपछि पर्यटकलाई केही सहज भएको उहाँको भनाइ छ ।
अहिलेसम्म कति पर्यटक आए भन्नेबारेमा तथ्याङ्क नराखेको घरवास सञ्चालन गर्दै आएका रामजीपुरीले बताउनुभयो । धादिङको बेनीघाट रोराङ गाउँपालिकास्थित हुग्दिखोला र चितवनको कालिका नगरपालिकास्थित शक्तिखोरबाट चितवनको पुरानो सदरमुकाम उपरदाङगढी हुँदै सवारी साधनमा पुग्न सकिन्छ ।
करीब दुई घण्टाको मोटरबाटो यात्रापछि हात्तीवाङ पुगिन्छ । त्यसपछि डेढ घण्टा पैदल हिँडेर सिराइचुली पुग्न सकिन्छ । एक दिन पहिले हात्तीवाङ गएर बास बसेर सुर्योदय हेर्न बिहान ४ बजे डेढ घण्टाको पैदल हिँडेर सिराइचुली पुग्न सकिन्छ । हात्तीवाङमा पर्यटकहरू बस्ने होमस्टेहरू(घरवास) छन् । पाहुना पर्यटकलाई पथप्रदर्शकको व्यवस्था पनि छ ।