नेताको क्रसर अनि प्रहरी प्रशासनको संरक्षण

काठमाडौँ । राजनीतिक, प्रशासनिक आडमा मनलाग्दी ठाउँमा क्रसर उद्योग सञ्चालन गर्नु अनौठो कुरो त होइन । प्रहरी प्रशासनले कहिले काँही क्रसर उद्योग व्यवसायीलाई लाइनमा ल्याउनलाई देखावटी रुपमा कारवाहीको नाटक गरेपनि अन्ततः जति बदमासी गरेपनि, जति नियम मिचेपनि कारवाही भएको एउटा पनि उदाहरण छैन । लाइन नमिल्दा अनुगमन लाइन मिलेपछि नदीको जति दोहन गरेपनि हुन्छ । धुलो जति उडाएपनि हुन्छ ।
मोरङ जिल्लाको एउटा सानो ठाउँमा चार वटा क्रसर उद्योग सञ्चालनमा आउँदा स्थानीय बासिन्दा हैरान भएका छन् । क्रसरबाट उड्ने धुलो, उद्योग चल्दा हुने ठूल्ठूलो आवाज अनि चल्ने सवारी साधनले बाटोघाटो बिगारेको देख्दा त देशमा नियम कानून चलाउने नै क्रसर उद्योगका मालिक हुन जस्तो भान हुने गर्छ । उद्योगका कारण नजिकका विद्यालयको पढाई समेत नकारात्मक असर पर्न थालेको छ । दैनिक जसो उड्ने धुलो तथा चर्काे आवाजले विद्यालयको पढाई ठप्प जस्तै हुँदा समेत न त प्रहरी प्रशासन न त राजनीतिक दलका नेताको आँखा खुल्न सकेको छ ।
उर्लाबारी– १ सानो वडामा मात्रै पञ्चेश्वर क्रसर उद्योग, पूर्वेली क्रसर उद्योग चलिरहेका छन् भने थप दुईवटा देवीस्थान क्रसर उद्योग र सिद्धार्थ क्रसर उद्योग सञ्चालनको अन्तिम तयारीमा छन् । दुई वटा क्रसरले दर्जनौँ समस्या पारिरहेका बेला थप अरु दुईले समस्या चौगुना बढाउनेमा स्थानीय बासिन्दा त्रसित हुँदै गएका छन् ।
थप दुई क्रसर उद्योग प्रधानमन्त्री केपी शर्मा ओलीका नातेदारका पनि पनि नातेदार रहेको चर्चा मोरङ जिल्लामा चलेको छ । स्थानीय महेश भट्टराइका अनुसार त्यति ठूलो मान्छेलाई अब कसले हल्लाउन सक्ने ? हाम्रो आवाज कसले सुन्ने हो र ?
भट्टराईका शब्दमा हाल स्थापना हुन लागेका नयाँ क्रसर उद्योगमा प्रदेश सभाका सांसदकै लगानी छ भन्ने सुनिन्छ । अझ त यहाँको नामुद गुण्डाको समेत नाम जोडिएकोले अब कसैले बोल्न सक्ने अवस्था छैन । गोविन्द भट्टराईलगायतको समूहको पूर्वेली क्रसरमा, प्रकाश खड्गीलगायतको समूहको पञ्चेश्वर क्रसरमा, बबी राईको देवीस्थान मिनिरल्स क्रसरमा र उर्लाबारी ५ का वडा सदस्य सचिन शाक्यलगायतको समूहको सिद्धार्थ क्रसर उद्योगमा लगानी छ ।
चारवटै क्रसर उद्योग मापदण्ड विपरित नुनसरी खोला र बक्राह खोलाकै किनारमा र वस्तीसंँगै सञ्चालन भइरहका छन् । सार्वजनिक स्थल, खोला र मानव वस्तीभन्दा दुई किलोमिटर नजिक क्रसर सञ्चालन गर्न नपाइने मापदण्ड भए पनि त्यो मापदण्ड मिचेर क्रसर सञ्चालन भइरहेका छन् । सञ्चालन भइरहेको र निर्माणाधिन अवस्थाका सबै क्रसर खोला र मानववस्ती छेउमै छन् । क्रसरका कारण आजित बनेका स्थानीयले वडा कार्यालय, नगरपालिका हुँदै घरेलु तथा साना उद्योग कार्यालयमा पनि उजुरी दिएका छन् । तर कतै कहि केही सुनुवाई भएको छैन ।

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here