नवनिर्मित संसद भवन परिसरमा रुख रोपण, वातावरणमैत्री कानून निर्माणको अपेक्षा

काठमाडौँ । अन्तर्राष्ट्रिय वन दिवस २०२६ का अवसरमा सिंहदरबारस्थित नवनिर्मित संसद भवन परिसरमा वृक्षरोपण गरिएको छ ।

नवनिर्वाचित सांसदहरुले संसद प्रवेश गर्ने पूर्वसन्ध्यामा बिभिन्न प्रजातिका बिरुवा रोपण गरेर सरकारले संसदभवनबाट हरित अभियानको सुरुवात गरेको छ ।

यही बिहिबार नवनिर्वाचित संघीय सांसदहरुको नवनिर्मित संसद भवनमा सपथ ग्रहणको कार्यक्रम तय भएको छ । नीति निर्माण गरिने भवन परिसरमा यसरी सुभारम्भ गरिएको हरित अभियानले भविष्यमा बन्ने नीति नियमहरु वातावरणमैत्री बन्ने अपेक्षा गरिएको छ ।

संसद परिसरमा रोपिएका यी प्रजाति बिरुवाहरूले सकारात्मक ऊर्जा तथा आध्यात्मिक वातावरण सिर्जना गर्न सहयोग पुर्‍याउने विश्वास गरिएको छ ।


सन् २०१२ मा संयुक्त राष्ट्र संघद्वारा घोषणा गरिएअनुसार अन्तर्राष्ट्रिय वन दिवस हरेक वर्ष मार्च २१ मा विश्वभर मनाइँदै आएको छ। वनको संरक्षण, दिगो व्यवस्थापन तथा यसको बहुआयामिक महत्वबारे जनचेतना अभिवृद्धि गर्न यो दिवस नेपालले पनि हरेक वर्ष बिभिन्न कार्यक्रमका साथ मनाउँदै आएको छ । वनस्रोत प्रति सकारात्मक धारणा पैदा गर्नु यस दिवसको प्रमुख उद्देश्य हो।


सिंहदरबारस्थित नवनिर्मित संसदभवन परिसरमा वन तथा वातावरण मन्त्रालयद्वारा आयोजित वृक्षरोपण कार्यक्रममा सरकारका मन्त्रीहरुले बिभिन्न जातका विरुवा रोपेका छन् । अर्थमन्त्री रामेश्वर खनाल, गृह मन्त्री ओमप्रकाश अर्याल, स्वास्थ्य मन्त्री सुधा गौतम, परराष्ट मन्त्री बालानन्द शर्मा लगायतले बिरुवा रोपेका छन् ।


संघीय संसद भवन परिसर विशेष महत्वको स्थान भएको र सो स्थलमा बिरुवा रोपणमार्फत भविष्यमा निर्माण हुने नीति तथा कानुनहरूले वन संरक्षण र विकासलाई सँगसँगै अघि बढाउनुपर्ने सशक्त सन्देश प्रवाह गर्ने उद्देश्य रहेको वन तथा वातावरण मन्त्री माधवप्रसाद चौलागाईले बताए ।


संघीय संसद भवन परिसरमा गरिएको वृक्षारोपण कार्यक्रममा सामी, कपूर र रुद्राक्ष जस्ता धार्मिक तथा आकर्षक देखिने प्रजातिका बिरुवाहरू रोपिएको जानकारी वन तथा भूसंरक्षण विभागका महानिर्देशक धीरेन्द्रकुमार प्रधानले दिए । संसद परिसरमा रोपिएका यी प्रजाति बिरुवाहरूले सकारात्मक ऊर्जा तथा आध्यात्मिक वातावरण सिर्जना गर्न सहयोग पुर्‍याउने विश्वास गरिएको महानिर्देशक प्रधानले बताए ।

यस वर्षको अन्तर्राष्ट्रिय वन दिवसको नारा वन र अर्थतन्त्र रहेको छ। हरियो वन, नेपालको धन भन्ने नेपाली समाजको जनजिब्रोमा रहेको भनाईलाई यस वर्ष विश्वभर अंगिकार गरिँदै छ । सो नाराले वन र अर्थतन्त्रबीचको गहिरो तथा अन्तरसम्बन्धलाई उजागर गर्दछ।


वन क्षेत्रले वातावरणीय सन्तुलन कायम राख्नुका साथै मुलुकको अर्थतन्त्रमा महत्वपूर्ण योगदान पुरयाउने कुरालाई यस वर्षको नाराले जोड दिएको छ । वनस्रोतबाट रोजगारी सिर्जना, आयआर्जन वृद्धि र समग्र जीवनयापनमा महत्वपूर्ण योगदान पुर्‍याउँदै आएको छ।

यसका अतिरिक्त वनले पर्यटन, कृषि, ऊर्जा, खानेपानी तथा उद्योगका लागि आवश्यक कच्चा पदार्थको आपूर्ति गरी राष्ट्रिय अर्थतन्त्रमा प्रत्यक्ष योगदान दिने गर्दछ । वन सम्पूर्ण चराचरको जीवन र जगतसँग जोडिएको विषय भएकाले यसको प्रत्यक्ष र अप्रत्यक्ष लाभ व्यापक र दीर्घकालीन रहँदै आएको छ ।

मावन सभ्यताको जननी मानिने वनजंगलले सम्पूर्ण प्राणीजगतसँग अन्योन्याश्रित सम्बन्ध राख्दछ । जीवित चराचरलाई चाहिने अक्सिजन प्रवाह गर्ने रुखबिरुवाले कार्बनडाइअक्साइड साटासाट गरी जीवन्त चराचरको यो पृथ्वीमा अस्तित्व बचाएको छ । आज वनजङ्गललाई मानवले आफ्नै समुदायभित्रको सदस्यका रूपमा लिएका छन् ।

पछिल्लो अध्ययन अनुसार विश्वका ३० करोड आदिवासी प्रत्यक्ष रूपमा वनजङ्गलमाथि आश्रित भएको तथ्याङ्क सार्वजनिक भएको छ । वनजङ्गल जलवायु परिवर्तनको प्रभावलाई कम गर्ने प्रमुख आधार पनि हो । वनजंगललाई ब्रह्माण्डको सञ्चालक समेत भनिन्छ ।

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here