सात कस्तुरी पासोमा, चारवटा ‘विना’ लगियो

काठमाडौँ । सगरमाथा राष्ट्रिय निकुञ्जको कोर एरिया क्याङ्जु क्षेत्रको जंगलमा शिकारीले पासोमा पारी सात वटा कस्तुरी मृग मारेको छन् । पासोमा परेर एउटा ठूलो गिद्ध समेत मरेको छ ।

सात वटा कस्तुरी मध्ये दुई वटा कस्तुरीको मासु कुहिएकोले त्यसको ‘विना’ लगेको हो वा ती पोथी हुन् भन्ने कुरा एकिन भइ नसकेको निकुञ्जका प्रमुख संरक्षण अधिकृत भूमिराज उपाध्यायले बताए ।

पासोमा परी मृत अवस्थामा भेटिएको एउटा पोथी भएको र त्यसलाई पनि खुकुरी हानेर मारिएको छ । एउटा भाले कस्तुरी ‘विना’ सहित मृत अवस्थामा फेला परेको छ बाँकीको ‘विना’ काटेर लगिएको छ । ‘विना’सहित फेला परेको कस्तुरीमृगको बिना निकुञ्ज हेडक्वाटरमा लगेर निकालिएको छ ।

घटना कसरी थाहा भयो ?

सगरमाथा राष्ट्रिय निकुञ्जको कोर एरिया भित्र खुम्बु पासाङ गाउँपालिका रहेको छ । यो क्षेत्रमा खुम्जुङ, खुन्दे, नाम्चे, त्याङबोचे, क्यान्जुमा लगायतका गाउँ रहेका छन् । आइतवार शेर्पा समुदायको पूजाको लागि चाहिने मालुङ्गो (निगालो ) काट्न जंगल छिरेकी एक महिलाले केही मरेर गन्ध आएको थाहा पाइन् । अलि जंगलभित्र पस्दैजाँदा तल भिरमा धेरै कस्तुरी पासोमा परेर मरेको देखेपछि गाउँमा खबर गरेकी थिइन् ।

तत्कालै स्थानीय मध्यवर्ती सामुदायिक वनका पदाधिकारी गएर हेर्दा सात वटा कस्तुरीमृत र एउटा गिद्ध मरेको अवस्थामा फेला परेपछि निकुञ्ज कार्यालय र नेपाली सेनालाई खवर गरेका थिए ।

सोमवार दिउसो टेलिफोन सम्पर्क गर्दा प्रमुख संरक्षण अधिकृत उपाध्यायले घटनास्थल तर्फ जाँदै गरेको जानकारी दिए । उनले भने, म निकुञ्जको हेडक्वाटरबाट हिडेर नेपाली सेनाको मेजर सहित त्यतैतिर जाँदैछु । बिस्तृत बुझेर खबर गर्छु ।

३० वर्ष पछिको ठूलो घटना

सगरमाथा राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष सोनाम गोल्ज्यान शेर्पाका अनुसार यति ठूलो घटना विगत ३० वर्षयताकै ठूलो हो । उनले सोमवार दिउँसो नेपालकथासँग भने, मैले पनि तेस्रो कार्यकाल खान थालिसके । मैले यति ठूलो घटना पहिलो पटक देखे । ३० वर्ष यता म निकुँञ्जको संरक्षण अभियानमा सक्रिय हुँदै आएको छु । फाट्टफुट्ट कहिलेकाँही एक, दुईवटा कस्तुरी सम्म परेको थाहा छ । तर यति ठूलो संख्या पासोमा पारेर मारेको पहिलो पटक हो ।

उनले भने, खै अहिले गस्ती पनि त्यति छैन । पहिले जस्तो सेना पनि देखिदैन, न निकुञ्जको कर्मचारी देखिन्छ । पहिले त गस्ती भएको हुन्थ्यो अनि मानिसहरु डराउन्थे । अहिले महिनाको एक पटक पनि नदेखिएपछि चोर कसरी डराउन्छ ?

तपाई मध्यवर्तीको अध्यक्ष हो, निकुञ्जलाई घच्घच्याउनु पर्यो नि ? नेपालकथाको प्रश्नमा उनले भने, हामीले त पहिले देखि नै सचेत गराइराखेको छौँ । कुनै वार्डेनलाई भन्नै पर्दैन, कसैलाई जति भने पनि हुदैन ।

उनले भने, घटनास्थल अप्ठ्यारो ठाउँमा छ । एकदमै भिरालो, मानिसको आवत जावत नहुने ठाउँमा पासो थापिएको छ । त्यो दिन पनि जनावर कुहिएको गन्ध आएपछि मात्र ती महिलाले त्यो डरलाग्दो भीरमा हेरेको रहेछ । अनि बल्ल थाहा भयो ।

घटनास्थल वरपरबाट ६० वटा पासो पनि बरामद गरिएका छन् । लकडाउनका बेला मानिसहरु घरबाट बाहिर ननिस्केको मौका छोपेर पासो थापेको उनले बताए ।

को होलान् त शिकारी ?

गाउँ नजिकै राखेको पासोका बारेमा स्थानीय व्यक्तिलाई थाहा हुन सक्छ नि ? भन्ने जिज्ञासामा मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष शेर्पाको दावी यस्तो थियो, नेपालको राष्ट्रिय निकुञ्जको इतिहासमा चोर शिकारीका घटनामा मध्यवर्ती क्षेत्रको बासिन्दा अहिले सम्म पक्राउ नपरेको एउटै मात्र निकुञ्ज यही हो । चितवन, बर्दिया लगायतका अन्य निकुञ्जमा मध्यवर्ती क्षेत्रका बासिन्दा चोरी शिकारमा संलग्नता देखिएको छ । तर हाम्रोमा त्यस्तो छैन ।

अनि यस्तो लकडाउनका बेला कता बाट आए त शिकारी ? उनले भने, हेर्नुहोस्, कस्तुरीको ‘विना’का व्यापारी काठमाडौँ बसेको हुन्छ । त्यस्ता व्यापारीले कसैलाई टे«किङको बहानामा कसैलाई होटलमा काम गर्ने बहानामा त्यता पठाएको हुन्छ । त्यस्ता व्यक्तिले दिउसो एउटा काम गर्छ राती यस्तै काम गरेर बस्छ । त्यस्ता व्यक्तिको काम गर्नका लागि त्यता गएका हुदैनन् । व्यापारीले खेताला प्रयोग गरिरहेको हुन्छ । त्यो निकुञ्जमा अहिलेसम्म जति पनि गलत काम गरेर पक्राउ पर्नेमा मध्यवर्ती क्षेत्रको मानिस कोही पनि छैन । सिजनका बेला ७७ जिल्लाका मानिसहरु गएका हुन्छन् । बिभिन्न बहानामा त्यहाँ बसिरहेका हुन्छन् ।

निकुञ्जको लापरवाही नै हो त ?

प्रमोदकुमार भट्टराई त्यहाँबाट सरुवा भएर बाँके राष्ट्रिय निकुञ्जमा आएपछि त्यहाँको प्रमुख संरक्षण अधिकृत पद खाली थियो । लामो समयदेखि मन्त्रालय र विभागमा बसिरहेका उपसचिवस्तरका केही अधिकारीहरुले फिल्डमा हाकिम भएर जाने इच्छा जाहेर गर्दा तराईतिर ठाउँ खालि नहुने स्थिति आयो । अनि दुर्गम भएर नै होला, सगरमाथामा जाने खासै कसैले रुची देखाएनन् । अपी नाम्पा संरक्षण कार्यालयमा कर्मचारीसँगको बिबादमा मुछिएर विभाग तानिएका भूमिराज उपाध्याय विभागको अनुगमन शाखाबाट फिल्डमा जान पहिले देखि नै कोशिस गरिरहेको बेला उनलाई यो निकुञ्ज चिठ्ठा जस्तै पर्यो ।

विभागका तत्कालिन महानिर्देशक मनबहादुर खड्काले निकुञ्ज मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष लगायतका अन्य पदाधिकारीसँग पनि प्रमुख संरक्षण अधिकृतमा उपाध्यायलाई पठाउने कुरामा छलफल चलाएका थिए । उपाध्याय यस अघि यो निकुञ्जमा रेञ्जर र सहायक संरक्षण अधिकृत भएर बसिसकेका व्यक्ति हुन् । मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका पदाधिकारीले निकुञ्ज प्रमुख भएर आउन थालेका व्यक्ति पहिले पनि निकुञ्जमा बसिसकेकोले सकभर नयाँ अनुहार दिन विभागसँग आग्रह गरेका थिए । तर वन मन्त्री शक्तिबहादुर बस्नेतको सचिवालयका मानिसले डिजीको कुरा सुन्न सम्म आँट गरेरन् । उपाध्याय प्रमुख संरक्षण अधिकृत भएर गए ।

उपाध्याय प्रमुख संरक्षण अधिकृत भएर गएपछि पहिले बस्दाका कमीकमजोरी र पुराना मनमुटाव अनुसार आफुले काम नगर्ने प्रतिवद्धता व्यक्त गरेको कुरा अध्यक्ष शेर्पा यो घटना भएपछि सम्झने गर्छन् । अध्यक्ष शेर्पाले भने, हामीले त उहाँ आएपछि सहयोग गरिरहको छौँ तर पनि उहाँको काम अलि ढिला सुस्ती नै छ । प्रमुख संरक्षण अधिकृत उपाध्याय आफूले लकडाउनका बेला गस्ती बढाएको र समुदायसँग नजिक भएर काम गरिरहेको दावी गर्छन् भने मध्यवर्तीका अध्यक्ष शेर्पा गस्ती नै नभएको गुनाशो गर्छन् ।

कसरी छोडे त विना शिकारीले ?

लकडाउनका मौका पारेर शिकारीले निकुञ्जको त्यो क्षेत्रमा मात्र ७० वटा पासो थापेका पाइयो । मध्यवर्तीका अध्यक्ष शेर्पा भन्छन्, शिकारीले बेला बेला पासो चेक गर्न आउन्छन् । पहिलो पटक पासोमा परेको कस्तुरीमृगको ‘विना’ शिकारीले झिकेर लग्न भ्याए । पछिल्ला दिनमा पासोमा परेको कस्तुरीमृगको ‘विना’ लग्न नपाउँदै स्थानीयले देखेपछि कस्तुरीमृग मरेको भएपनि ‘विना’ लिन नपाएको हो ।

उनले भने, यो त चाँडो देखिएर सात वटा मात्र कस्तुरीमृग मरे । यति छिटो नदेखेको भए त हाम्रोमा निकै ठूलो क्षति हुने रहेछ । कति कस्तुरीमृत मर्थे कति अन्य जनावर पासोमा पर्थे ।

अब गस्ती बढाउनुपर्ने माग स्थानीय बासिन्दाले राखेका छन् । अध्यक्ष शेर्पाले भने, निकुञ्जले सुतेर हुदैन । अब यति ठूलो घटना भएपछि निकुञ्ज, नेपाली सेनाले गस्ती बढाउनु पर्यो । स्थानीय बासिन्दा पनि सक्रिय हुन्छौँ ।

मृगको मासु सहित पक्राउ

सिन्धुपाल्चोक जिल्लाको त्रिपुरासुन्दरी गाउँपालिकाका दुई जनालाई प्रहरीले मृगको मासुसहित पक्राउ गरेको छ । शनिबार समातिएका सोही पालिका वडा नं २ का उनीहरुलाई बाह्रबिसे इलाका प्रहरी कार्यालयले पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालयका अनुसार पक्राउ पर्नेमा ३९ वर्षीय हीराबहादुर गुरुङ र ३४ वर्षीय टपीन्द्रबहादुर गुरुङलाई घरेलु हतियारसहित पक्राउ गरिएको थियो । जङ्गली जनावर मारेको भनी जानकारी प्राप्त हुनासाथ सो इलाका प्रहरी कार्यालय बाह्रबिसेबाट गएको प्रहरी टोलीले पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक माधव काफ्लेले जनाकारी दिए ।

(स्थानीय बासिन्दा दावा नुरु शेर्पाले फेसबुकमा राखेको जानकारीमूलक सामग्री)

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here