लालीगुराँस जंगलमा सड्दै, सदुपयोग नहुँदा लाखौँ रुपैयाँ नोक्सान

डडेल्धुरा । यो समय वन जंगलभरी लालीगुराँस फूलेर डाँडाकाँडा राताम्मे हुने समय हो । जता हेरेपनि लालीगुराँस नै फुलेको देखिन्छन् ।

केही वर्ष पहिले डडेल्धुरामा लालीगुराँसको फूलको जुस उत्पादन हुने गरेको थियो । कतिपय मानिस गुराँसको जुसको महत्व बुझेर जुस पसलमा झुम्मिएका देखिन्थे कतिपय मानिस लहलहैमा लागेर भएपनि गुराँसको जुस पिउन टाढा टाढाबाट पनि आउने गर्थे तर पछिल्ला चार वर्षदेखि जुस उत्पादन गर्ने काम बन्द भएको छ ।

जिल्ला सदरमुकाममा रहेको ऋषि खोला सामुदायिक वनले तत्कालिन जिल्ला वन कार्यालय डडेल्धुरासँगको सहकार्यमा लालीगुराँसको जुस उत्पादन गर्ने गरेको थियो । जुस राम्रो उत्पादन भई वनस्रोतबाट राम्रै आम्दानी भइरहेका बेला सामुदायिक वन भित्रका उपभोक्ताबीच विवाद भएपछि जुस उत्पादन गर्ने कार्य बन्द भएको छ । यो कार्य भएसँगै बार्षिक लाखौँ रुपियाँ आम्दानी दिने लालीगुराँसका फूल वन जंगलमा सडेर जान थालेका छन् ।

लालीगुराँसको फूलको जुस स्वास्थ्यका लागि लाभकर मानिन्छ । जुसको प्रचार प्रसार भएसँगै डडेल्धुरामा उत्पादन हुने लालीगुराँस फूलको जुस सुदुरपश्चिम प्रदेशका अन्य जिल्लासहित बुटवलदेखि काठमाडौँसम्म निर्यात हुने गरेको थियो । डडेल्धुरासहित सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा प्रयाप्त रुपमा लालीगुराँस फूल फुल्ने भएकाले उद्योग सञ्चालन गरे आम्दानी हुनुका साथै स्थानीय बासिन्दाले रोजगारी पाएका थिए त्यतिबेला ।

डडेल्धुरा जिल्लामा प्रवेश गर्ने बेला सडकका दाँयाबाँया लालीगुराँसले ढकमक्क भएका डाँडाकाँडा देख्दा अझै पनि प्रशस्त जुस उत्पादन गर्न सकिने र स्थानीय तहमा प्रशस्त रोजगारी सिर्जना गर्न सकिने सम्भावनाको आँकलन गर्न सकिन्छ । सिजनल रुपमा लालीगुराँसको फूलको जुसाबाट लाखौँ रुपियाँ कमाइ गर्न सकिने अवसरलाई खेर फालेको उद्योग वाणिज्य सङ्घ डडेल्धुराका महासचिव द्धिजराज भट्टले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here