पिउँ भने पानी छैन, गाउँ छाड्दै छौँ

गाईघाट । उदयपुरको कटारी नगरपालिका–१४ लेखानीका आसपासका एक दर्जन जति मूल सुकेपछि खानेपानीको अभाव खेप्न नसकेपछि स्थानीय बासिन्दा धमाधम गाउँ छाड्न थालेका छन् ।

गाउँमा वितरण गरेको खोपानीको धाराको मुहानसहित कुवा तथा धाराका स्रोत समेत केही वर्षयतादेखि सुक्दै जान थालेपछि अहिले यस क्षेत्रका सयौं मानिसले गाउँ छाडिसकेका छन् भने केही छाड्ने क्रममा रहेका स्थानीय शिक्षक विष्णु मगरले बताउनुभयो । अभिभावकले गाउँ छाडेसँगै विद्यालयमा विद्यार्थीको संख्या पनि निकै कम हुँदै गएको चिन्ता शिक्षक मगरको छ ।

लेखानीका चनौटे, रमाइलाडाँडा, विन्दुडाँडासहित भदौरेमा पानीको स्रोत सुक्दै जान थालेपछि पानीको अभाव हुन पुगेको स्थानीय सेबक थापाले बताउनुभयो । उहाँका अनुसार आफ्ना आफन्त पानी खान नपाएकै कारणले बसाई सराई गरेर तराई झरे अघिल्लो वर्ष । आफु स्थानीय एक प्राथमिक विद्यालयमा लेखापाल भएकाले मात्र बस्नु पर्ने बाध्यता भएको उहाँले बताउनुभयो ।

चनौटेका स्थानीय रमेश विश्कर्माले गाउँको पानीका धाराको मुहान नै सुकेपछि अहिले आफूहरु सात किलोमिटर तल सुनकोशीबाट ट्र«्याक्टरमा ड्रममा पानी भरेर ल्याई खान बाध्य भएका बताउनुभयो । उहाँले भन्नुभयो, पानीको मूलमा पानी कम आउने क्रम त पहिले देखि नै हुँदै आएको थियो । जब बस्ती माथिको भागमा डोजर चल्यो अनि पानी अचम्मैको तरिकाले सुक्यो । सुकेको मूलको पानी अन्यत्र पनि कहिँ देखिएन । खै के भाको हो ?

केही स्थानीयवासी पानीको साह्रै दुःख हुन थालेपछि गाउँछाडेर कटारी बजारतर्फ गईसकेका विश्वकर्माले जानकारी दिनुभयो । रमाइलोडाँडामा यसवर्ष कुवा, धारा, नालाको पानीको स्रोत नै पूर्ण रुपमा सुकेपछि अहिले पुरै गाउँ पानीको अभावमा रहेको स्थानीय गोविन्द मगरले बताउनुभयो ।

रमाइलोडाँडाका १५० घरमध्ये पानीको दुःखका कारण दुई वर्षभित्र पचास परिवार गाउँ छाडेर कटारी बजार तथा जिल्ला सदरमुकाम गाईघाटतर्फ बस्न थालेका स्थानीयवासी रुद्र मगरले बताउनुभयो ।

लेखानीमा खानेपानीको दुःख हुन थालेपछि त्यहाँका बासिन्दाले गाउँ छाड्न थालेका कटारी–१४वडाध्यक्ष तेजबहादुर आलेमगरले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “खानेपानीको मुहानै सुक्यो, खानेपानी वितरण गरेको धाराको मुहानै सुकेपछि अर्को पानी वितरण गर्ने विकल्प पनि छैन, यसै कारण गाउँमा खानेपानीको कष्टका कारण यहाँका बासिन्दा गाउँ छाड्न बाध्य भएका छन् ।”

नगर प्रमुख ज्ञानेन्द्रकुमार श्रेष्ठले लेखानी क्षेत्रमा खानेपानीका स्रोत नै सुकिसकेका बताउनुभयो । उहाँले भन्नुभयो, “विगतमा वितरण गरिएका धाराको पानीको स्रोत नै सुक्यो, अन्य विकल्पमा पानीको धारा वितरण गर्ने, निर्माण गर्ने पानीको स्रोत र स्थान पनि नहुँदा के गर्ने र कसरी पानीको आपूर्ति गर्ने भन्ने समस्या देखिएको छ ।”

उहाँले सुनकोशीबाट लिफ्ङि गरेर लेखानीमा ठूलो खानेपानी योजना सञ्चालन गरेर अथवा ट्याङ्करमा बोकेर वितरण गर्नुको विकल्प नरहेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here