जनकपुरधाम । चुरे लगायतका क्षेत्रमा हाल भइरहेको प्राकृतिक स्रोतको दोहन रोक्न माग राख्दै सप्तरी–काठमाडौं पदयात्रा सुरु गरिएको छ । चुरे क्षेत्र संरक्षणलगायत विभिन्न ११ बुँदे माग राखेर गत वैशाख १६ गते सप्तरीको भारदहबाट पदयात्रा सुरु गरेर अभियानकर्ताहरुले काठमाडौँ पुग्ने लक्ष्य लिएका छन् ।
सप्तरीको भारदहबाट सुरु गरिएको पदयात्रा बर्दिवास, पथलैया, चितवन हुँदै काठमाडौंसम्म पुग्ने चुरे तथा वनजङ्गल संरक्षण अभियानका अध्यक्ष सुनिलकुमार यादवले बताए । चुरे दोहन रोक्नु पर्ने लगायतका मागहरु राखेर काठमाडौंमा अन्न, जल त्याग गरी अनशनमा बस्ने उनले जानकारी दिए ।
विगतमा पनि पर्यावरण संरक्षणको माग राख्दै अनशन बस्दा मधेश सरकारले सम्झौता गरेको सात बुँदे सहमति कार्यान्वयन नगरेको बताउँदै अध्यक्ष यादवले यो अभियानलाई अब काठमाडौँ केन्द्रित पार्ने पनि उनले बताए ।
चुरे क्षेत्रको अतिक्रमित जग्गा खाली गराएर वन क्षेत्रमा बनाउनुपर्ने, सङ्घीय सरकारले ल्याइएको ढुङ्गा, गिट्टी र बालुवा निकासी गर्ने विधेयक तत्काल खारेज गर्नुपर्ने, लगायतका मागहरु ऋभियानकर्ताले राखेका छन् ।
त्यसैगरी, मधेश प्रदेशको सप्तरीदेखि पर्सा जिल्लामा पर्ने नदीनालाई प्रदूषण, अतिक्रमण र अवैध उत्खननमुक्त बनाउनुपर्ने, ओमप्रकाश महतोलाई पर्यावरण सहिद घोषणा गरी उनका परिवारका सदस्यलाई रोजगार दिनुपर्ने, विभिन्न परियोजना तथा विकासका नाममा चुरे तथा वन,जङ्गल मास्ने कार्य बन्द हुनुपर्ने, मधेश प्रदेश वन तथा वातावरण मन्त्रालयको विभिन्न योजनामा भएको भ्रष्टाचारको छानबिन हुनुपर्नेलगायतका मागहरु रहेको अध्यक्ष यादवले बताए ।