काठमाडौँ । नेपालको जलविद्युत्को इतिहास झण्डै एक शताब्दी नाघि सकेको छ । तर विकास भने एक हजार ५०० मेगावाट भन्दा बढी हुन सकेको छैन । नेपालको जलस्रोतमा राजा, राणा तथा पछिको भुरे टाकुरे महाराजा मन्त्री तथा सचिवले रजाई गरेकै कारण नेपालको जलविद्युत्को विकास हुन नसकेको सर्वविदितै छ । नेपालमा जलविद्युत् उत्पादन गर्ने एउटा मात्र सरकारी निकाय नेपाल विद्युत् प्राधिकरण हो । त्यसको कार्यकारी निर्देशक हुन राजादेखि प्रधानमन्त्रीको सोर्सफोर्स लिएर आउनु पर्ने बाध्यता थियो एकताका । कार्यकारी निर्देशक क्षमताले भन्दा पनि सोर्सफोर्स र चाकरीले निर्धारण हुने जमाना पनि थियो । यसको मतलब सबै क्षमता नभएका हुन भन्न खोजको होइन । क्षमता भएकाले पनि त्यही चाँकरीको ढोका खोलेर आउनु पथ्र्याे ।
पञ्चायत, प्रजातन्त्र, लोकतन्त्र हुँदै गणतन्त्र आएपछि पनि प्राधिकरणलाई दुहुनो गाई बनाउने प्रवृति कायमै थियो । सतिले सरापेको देशमा एउटा उत्पात्को एउटा घटना भयो । त्यो हो, प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान आउनु । उनी पनि विगतको प्रवृतिमा लागेको भए, आज लोडसेडिङको तालिका सायद दैनिक १२ घण्टा भन्दा तल आउँदैन्थ्यो होला आजको दिनमा तर कुलमान सच्चा नेपालीको सपुत भएर निस्के । कमाउ धन्दा होइन देशलाई उज्यालो पार्न उनले ध्यान दिए । आज यस्तो देश यस्तो अवस्थामा पुग्यो । देशलाई अन्धकार बनाएर खेती गर्नेहरुको जग्गा बाँझो रहने स्थिति आयो । अनि भित्रै भित्रै दलाल र तस्करी गर्ने अनि बाहिरी आवरणमा टाई, सुट र बास्नादार फरम्युम हालेर महंगा गाढी चढ्नेहरुका दिन गएपछि कुलमानलाई सराप्नेहरुको संख्या बढ्दै गएको छ । तत्कालिन ऊर्जा सचिव अनुप उपाध्याय र त्यसको नेतृत्व जनार्दन शर्माले गरे । कार्ययोजना कुलमानले बनाए, मन्त्रालयले सक्दो सहयोग गरे । हुन त त्यही मन्त्रालयमा तत्कालिन माओबादीका पोष्टबहादुर बोगटी र टोपबहादुर रायमाझीले पनि राज गरेकै हुन । चाहेको भए बोगटी र रायमाझीले पनि गर्न सक्थे । तत्कालिन एमालेका गोकर्ण विष्ट र राधा ज्ञवाली पनि मन्त्री भएकै हुन । विष्टले पनि गर्न सक्ने ठाउँ हुँदा हुँदै पनि खासै गतिलो काम गरेको त नेपाली जनताले देख्न सकेनन् । लाइन काट्ने काम बाहेक विष्टका हातबाट पनि खासै माखो मर्न नसकेको इतिहास अब मेटेर, छोपेर छोप्न सकिदैन । गर्न खोजे जनार्दनको नेतृत्वले र आम नेपालीलाई देखाउन सकेपनि ।
यही रिसमा मुरमुरिएका केही दलालले कुलमानलाई सक्ने सम्मको गाली होटल, रेष्टुरेन्टमा त गर्दै आएका थिए । तर केही तथाकथित प्रवुद्ध सञ्चारकर्मीहरुले समेत ती दलालका भाषा बोल्न थालेपछि कुलमान सोमवार पत्रकार सम्मेलन गर्न बाध्य भएका हुन । उनलाई अर्बाैँ रुपियाँ लुट मच्चाएको लेख्ने सञ्चारमाध्यामलाई नियमित बिजुली दिने पनि तिनै कुलमान हुन । तर दलालको कैँडीमा तौलिने प्रवृतिले जब कुलमानको विषयमा विना आधारको हल्ला हुन थाल्यो अनि बाध्य भएर कुलमान पत्रकार सम्मेलन गरेको बताएका छन् ।
सोमवारको पत्रकार सम्मेलनमा कुलमानले पुनः देशलाई अन्धकारमा भास्ने खेल भएको स्पष्ट पारेका छन् । तर कसबाट त्यस्तो खेल भइरहेको छ भन्ने कुरा भने उनले खुलाएका छैनन् ।
उनले पत्रकार सम्मेलनमा गलत लाञ्छना लगाएर पुनःप्राधिकरणलाई असफल बनाउन सकिन्छ कि भन्ने मनसाय राखिएको बताएका छन् ।
उपभोक्तालाई सहजरुपमा विद्युत् सेवा उपलब्ध गराउन प्राधिकरण सक्रिय रहेको भन्दै उनले हुँदै नभएका विषयमा अफवाह फैलाएर प्राधिकरणको नेतृत्वलाई असफल बनाउने सोच कोही कसैले राखेको भए त्यो पूरा हुन नदिने समेत उनले स्पष्ट पारे । उनले आफु प्राधिकरण आएपछि लोडसेडिङको नाउँमा खेलो गर्नेहरुको अन्त्य भएको पनि बताए ।
प्राधिकरणका हरेक काम कारवाही स्पष्ट र पारदर्शी रहेको उल्लेख गर्दै उनले पछिल्लो दुई वर्षदेखि संस्था नाफामा गएको, मुलुकभर विद्युत् सेवा पुगेका स्थानमा विद्युत्भार कटौतीको अन्त्य भएको विषयलाई नजरअन्दाज गर्न नहुने बताए ।
केही सञ्चारमाध्यामले कुलमानले सेवा सुविधान भन्दा बढी रकम लिएको पनि विना आधार हल्ला चलाएको थिए । जलविद्युत् आयोजना बनाउन सक्ने क्षमता नभएका तर आफुलाई जलविद्युत् प्रवद्र्धक तथा विज्ञ भन्न रुचाउने दलाललाई बोकेर जाने सञ्चारकर्मी प्रति निकै रुष्ट भएका कुलमानले पत्रकार सम्मेलनमा भने आफुले नियमानुसारको सेवा सुविधा मात्र लिएको दावी गरे ।
प्राधिकरणको नेतृत्वको हिसाबले आफूले नियमानुसार पाउने भत्ता तथा अन्य सुविधा मात्रै लिएको भन्दै कार्यकारी निर्देशक घिसिङले तथ्य नै नबुझी गलत प्रचार गर्नेप्रति रोष प्रकट गरे । प्राधिकरणलाई सबल, सक्षम बनाउने लक्ष्यका साथ आफू प्रयासरत रहेको भन्दै उनले नियमितरुपमा सबल र विश्वसनीय विद्युत् सेवा उपलब्ध गराउने प्रतिबद्धताबाट विचलित नहुने उल्लेख गरे।
प्राधिकरणमा कार्यरत कर्मचारीको साझा टे«ड युनियनको निर्वाचन गराउन प्राधिकरणको व्यवस्थापन प्रयासरत रहेको भन्दै सञ्चालक समितिको बैठकमा आमन्त्रित रहेका व्यक्तिले प्राधिकरणको मर्यादामा आँच पुग्ने गरी प्रचार गर्दै हिँडेकामा समेत उनले आपत्ति जनाए ।
पत्रकार सम्मेलनमा निकै आक्रोशित भएका प्राधिकरण्का कार्यकारी निर्देशक कुलमानले भने ‘प्राधिकरण प्रणालीमा चल्छ, विगतमा जस्तो कमाइ खाने भाँडो बनाउन दिइँदैन, यो नेपाली जनताको सम्पत्ति हो, यसको आफ्नै पदसोपान रहेको छ, त्यसविरुद्ध जाने जो कोहीलाई पनि कारवाही हुन्छ, आधिकारिक टे«ड युनियनका नाममा गलत गर्दै हिँड्ने माथि स्पष्टीकरण सोधिएको छ, त्यस्ता व्यक्तिलाई कारवाहीको दायरामा ल्याइन्छ’ । बरु म कारवाही सहन तयार छु । प्राधिकरणका आडमा देश र जनतामाथि आघात गर्नेलाई मैले कुनै हालत पनि छाडिदन ।
विगतमा प्राधिकरणको व्यवस्थापनसँग मिलेर विद्युत् कटौती गर्ने, नागरिकलाई अँध्यारोमा राख्ने नै पुनःसल्बलाउन खोजेको भन्दै उनले त्यस्ता प्रवृत्तिलाई पाखा लगाउन प्राधिकरणका ग्राहक तथा सञ्चारकर्मीको सहयोगको अपेक्षा राखे ।
उहाँले देशका सबै पेशागत समुदायले आ आफ्नो दायरामा बस्नु पर्ने पनि भन्दै विना आधार अनियमितता गर्यो भनेर लेख्ने सञ्चारकर्मी तथा विना आधार लान्छना लगाउने व्यक्तिलाई चुनौती दिँदै भने, म आएपछि प्राधिकरण भित्र थिति बसाउन खोजेको हुँ । थिति बसाल्न खोज्दा गलत गर्यो भन्दा मलाई निकै दुखित बनायो ।