काठमाडौँ । नेपालका कानून अनुसार नेपाल विद्युत् प्राधिकरण एक स्वायत्त संस्था हो । यसको आफुले सम्पत्ती खरिद बिक्री गर्न पाउने कानूनी अधिकार छ । आफ्नो सम्पत्ती आफ्नो संस्थाको हितमा लागि प्रयोग गर्न पाउन्छ । तर प्राधिकरणलाई दुहुनु गाई बनाउनेको कमी कुनै कालखण्डमा पनि कमी भएन ।
पञ्चायतको कुरो नगरौँ । प्रजातन्त्रका कालमा महेन्द्र नारायण निधिको पालादेखि पशुपतिशम्शेर राणासम्म हेर्दा र राणादेखि राधा ज्ञवालीसम्मको कालखण्ड अध्ययन गर्ने हो भने कि आँखा प्राधिकरणका गाडीमा कि आँखा खोलाको लाइसेन्समा मात्र गएको देखिन्छ । धेरै पार्टीका धेरै भूगोल र जातिलाई प्रतिनिधित्व गर्ने मन्त्री आए, सचिव आए । सबैको पहिलो आँखा प्राधिकरणका गाडीमा नै पर्ने गर्छ ।
पूर्व प्रधानमन्त्री झलनाथ खनालको कुरो होस् वा पुष्पकमल दाहालको कुरो । देउवाको कुरो होस् वा माधब नेपालको प्रधानमन्त्री कालमा होस् सबैको आँखा चमेलियाका गाडीमा लागे । प्राधिकरणको गाडी प्रयोग गरिएको भन्दै प्राधिकरण भित्रका ट्रेड युनियनहरुले बिरोध गरे । विद्यार्थी सडकमा ओर्लिए ।
राजनीतिक परिवर्तन जति भए पनि यो देशमा थिति बस्न सकेन । जुन जोगि आएपनि कानै चिरिएका । भाषण क्रान्तिकारी तर भित्रि रुप बुझ्न टाढा जानै नपर्ने । वर्तमान ऊर्जा मन्त्री वर्षमान पुन हेर्दा शालिन, भद्र र बोल्दा निकै क्रान्तिकारी देखिनु हुन्छ । तर भित्रि व्यवहार हेर्दा अरु विगतका अगतिला मन्त्री भन्दा फरक छैनन् । उनले भाषणमा जति क्रान्तिकारीता छाँटेपनि आखिर तीन वटा गाडी प्राधिकरणका लगि छाडेका छन् ।
उनी सरकारको मन्त्री हुन । सरकारले मन्त्रीलाई र उनका सचिवालयलाई सवारी साधनको व्यवस्था मिलाउने गरेको छ भने किन चाहियो फेरी प्राधिकरणका गाडी ? यो नै आजको मूल प्रश्न हो उनको क्रान्तिकारीतासँग जोडिएको ।
उनले विद्युत् प्राधिकरणबाटै ३ वटा गाडी लिएको पाइएको छ । तीनमध्ये एउटा गाडी उनी स्वयं चढ्ने गरेका छन् भने दुईवटा गाडी सचिवालयको नाममा लिएका छन् ।
मन्त्री पुनले मन्त्रालयकै अर्को एक गाडी पनि चढ्छन् । यो सहित उनको प्रयोजनमा प्रयोग भइरहेका गाडीको संख्या चार पुग्छ ।
विद्युत् प्राधिकरणले उपलब्ध गराएको विवरणमा मन्त्री पुनले बा१३च ५७९३ नम्बरको प्राडो चढ्ने गरेको देखिन्छ । यस्तै ऊर्जा मन्त्रालयबाट प्राप्त विवरणमा बा२झ १३७७ नम्बरको गाडी माननीय मन्त्रीज्यूको प्रयोजनमा भनेर लेखिएको छ । एउटा मन्त्रीलाई किन यति महंगा र सुविधा सम्पन्न गाडी चाहिन्छ होला ? आजको प्रमुख प्रश्न नै यहि हो ।
विद्युत् प्राधिकरणबाट लिएका २ गाडी मन्त्रीको सचिवालयले प्रयोग गर्छ । बा१ञ २४५२ नम्बरको प्राडो र बा२०च ४१५ नम्बरको इलेक्ट्रिक कार मन्त्रीको सचिवालयले प्रयोग गर्ने गरेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।
सचिवलाई पनि प्राधिकरणको गाडी
ऊर्जा सचिव दिनेश घिमिरेले पनि विद्युत् प्राधिकरणको गाडी चढ्ने गरेका छन् । उनले बा२०च १४ नम्बरको इलेक्ट्रिक कार चढ्ने गरेको प्राधिकरणले उपलब्ध गराएको विवरणमा उल्लेख छ । मन्त्री, मन्त्रीको सचिवालय र सचिवले चढ्ने प्राधिकरणका सबै गाडी रातो प्लेटमा छन् ।