हेटौडा । मकवानपुरको भीमफेदी गाउँपालिका दोभानमा निर्माण गरिएको बागमती साना जलविद्युत् आयोजनाले व्यावसायिक उत्पादन गर्न थालेको छ ।
२२ मेगावाट क्षमताको आयोजना निर्माण सम्पन्न हुँदासम्म चार अर्ब २५ करोड रुपियाँ लागत लागेको छ । मान्डु हाइड्रोपावर लिमिटेड प्रवद्र्धक रहेको आयोजनाको चिनियाँ कम्पनी सिइच्वाङ हेइच्वाङले २०७२ वैशाखदेखि निर्माण थालेको होे ।
चैत १ गतेबाट परीक्षण उत्पादन थालेको आयोजनाबाट उत्पादित विद्युत् कुलेखानी जलविद्युत् आयोजना प्रथमको धोर्सिङस्थित सवस्टेसनबाट राष्ट्रिय प्रसारण लाइनमा जोडिएसँगै व्यावसायिक उत्पादन सुरु गरेको हो ।
गत मंसिर महिनामा नै विद्युत् उत्पादन गर्ने लक्ष्य लिएको आयोजनाको पेनेस्टक पाइप जडानमा भएको ढिलाइले विद्युत् उत्पादन चार महिनापछि धकेलिएको थियो ।
आयोजनाको परीक्षण उत्पादन सफल भई व्यावसायिक उत्पादन सुरु गरेको आयोजनाका प्लाण्ट ईञ्चार्ज दीपक शाहले जानकारी दिनुभयो ।
वागमती र कोगटेको पानी प्रयोग गरी विद्युत उत्पादन गरिने आयोजनाको इपापञ्च कन्याको दोभानमा बाँध निर्माण गरी सुरुङमार्फत पानी पावरहाउसमा पु¥याइएको छ ।
बाँध हुँदै सुरुङबाट प्रतिसेकेन्ड १२ दशमलव चार क्युसेक पानी बग्ने गर्छ । बागमतीमा निर्माण गरिएको बाँधबाट विद्युत् गृह २ हजार ४२४ मिटरको दूरीमा छ ।
उक्त आयोजनाको सिभिल वर्कको निर्माण कार्य, सुरुङ खन्ने, बाँध निर्माण गर्ने र पावर हाउसको सिभिल वर्कको कार्य पनि नेपाली कम्पनी साउथ एसियन इन्फाइस्टक्चर प्रालिले गरेको थियो ।
मान्डु हाइड्रो पावर कम्पनीले नेपाल विद्युत् प्राधिकरणसँग वर्षायाममा प्रतियुनिट ४ रुपियाँ ४० पैसा र हिउँदमा ८ रुपैयाँ ४० पैसामा बिक्री गर्ने सम्झौता गरेको छ ।
हाल नदीमा पानीको सतह कम रहेकोले आयोजनाबाट हाल सरदर १० मेगावाट विद्युत उत्पादन भईरहेको बताइएको छ ।
आयोजनाको पावर हाउसबाट कुलेखानी प्रथमको सवस्टेसन साढे १३ किलोमिटरको दूरीमा रहेकोले यहाँबाट उत्पादित विद्युत राष्ट्रिय प्रसारणमा जोड्न ४४ वटा टावर निर्माण गरिएका छन् ।
कुलेखानी प्रथमबाट ६० मेगावाट, दोश्रोबाट ३२ मेगावाट र बागमती जलविद्युत आयोजनाबाट २२ मेगावाट गरी ११४ मेगावाट विद्युत उत्पादन भई राष्ट्रिय प्रशारणमा जोडिएको छ भने १४ मेगावाट क्षमताको कुलेखानी तेश्रो भीमफेदी गाउँपालिकाको निबुवाटारमा निर्माणाधीन अवस्थामा रहेको छ ।