काठमाडौँ । कोरोनाको कहरलाई हेरेर नेपाल सरकारले तीन पटक लकडाउनको घोषणा गरिसकेको छ । आम नागरिक कोरोनाको त्रासमय वातावरणमा घरको चौघेरामा लुक्न बाध्य भएका छन् । ओछ्यान, कोठा, छत, बाथरुम, कौशी अनि सानोतिनो आँगनभित्रै खुट्टा सिमित भएका छन् । उकुसमुकुसको जीन्दगी अनि दिक्दारको दैनिकीमा आम नागरिकको जीवन गुज्रिरहेको छ ।
समाजको ध्यान एकातिर गइरहको बेला तस्करहरुले विशेष गरेर निकुञ्ज भित्रका वन्यजन्तुमाथि आँखा लगाउने रोग पुरानै हो । चुनाव हुँदा होस् वा राजनीतिक आन्दोलन, प्राकृतिक स्रोतको दोहान दिन दोगुना रात चौगुना हुने गरेको विगतमा हाम्रो इतिहास छ ।
आम सज्जन नागरिकका लागि अहिले कठिनको घडी हो । कसरी बाँच्ने ? कसरी आफन्तलाई बचाउने चिन्ता हुने बेला हो । तर यस्तै समयलाई तस्करले उपयोग गर्ने गरेका विगतका इतिहासलाई हेर्ने हो भने केही पेशा र व्यवसायका मानिसले सतर्क हुनु जरुरी छ । आम नागरिक कोरोनाका त्रासमा घरभित्र खुम्चिरहेका बेला वन्यजन्तुको शिकार गर्ने, काठ काट्ने जस्ता गतिविधि देशैभर भइरहेका घटना बाहिर आइरहेका छन् ।
राष्ट्रिय निकुञ्ज भित्र प्रवेश गरेर अवाञ्छित गतिविधि गर्ने व्यक्ति पक्राउ पर्ने दर निकै बढीरहेको छ । निकुञ्जभित्र अग्र मोर्चामा रहेर काम गर्ने रेञ्जरहरुले हाल देखिएका चुनौतीलाई फेस गर्न कसरी आफ्ना दैनिकीलाई अगाडि बढाएका छन् ? उनीहरुका रणनीति कस्ता छन् ? त्यो विषयमा ‘नेपालकथा’ अनलाइनले खोतल्ने प्रयास गरेको छ । जसलाई यहाँ प्रस्तुत गरेका छौँ ।
बर्दियाको जंगलमा छापामार सिँह
रेञ्जर हुनु अघि जिल्ला वन कार्यालयमा फरेष्टर भएर जागिर खाँदा वनजंगलमा हुने अपराधका बारेमा जान्ने बुझ्ने मौका पाएका बर्दिया राष्ट्रिय निकुञ्जका रेञ्जर हर्षबहादुर सिँह बर्दिया राष्ट्रिय निकुञ्जमा गएको तीन वर्ष भयो । यो तीन वर्षमा उनले दर्जनौँ अपराधीको कठालो समातेका छन् । बर्दिया राष्ट्रिय निकुञ्जको बित्ता बित्तामा टेकेका छन् । निकुञ्जको मध्यवर्ती क्षेत्रको कुन ठाउँमा कुन समुदायका मानिस बस्छन् ? त्यो समुदायभित्रका कुन व्यक्तिको संरक्षण प्रतिको धारणा के हो ? भन्ने सम्मको जानकारी उनले आफ्नो मगजमा राख्न सकेका छन् । त्यसैले त अणनाथ बराल प्रमुख संरक्षण अधिकृत भएर गएपछि सिँहको दक्षता र क्षमता हेरेर नै ‘एन्टी पोचिङ युनिट’ हेर्ने जिम्मा दिएका छन् । रेञ्जर सिँह जंगल धेरै घुम्ने कर्मचारीमा पर्छन् । अनि त उनले जंगलको राजा बाघसँग निकै पटक भलाकुलारी पनि गरिसकेका छन् । उनले बुधवार ‘नेपालकथा’ सँग टेलिफोनमा भने, म अहिले जंगलमा गस्तीमै छु । फोन काटी काटी आइरहेको छ । एक छिन है….म गाडी रोकेरै भएपनि कुरा गर्छु नि त ।
यो लकडाउनका बेला उनी मानसिक रुपमा सधैँ भन्दा तनावमा छन् । उनले भने, हिजोका दिनमा तस्करी गरेर भागेका मानिस पनि घरमा आएका छन् । अपराधी मानसिकताका मानिसले हात बाँधेर घरमा बस्दैन । त्यस्ता व्यक्तिले त यस्तो सुनौलो मौका छापेर कति बेला कस्तो घटना घटाउने हुन भन्ने चिन्ता लागि रहन्छ । दैनिक पाँच पटकसम्म गस्तीमा निस्कने गरेको बताउने सिँहको भनाईमा लकडाउन पछि कति पटक र कति टाढा गस्ती जाने भन्ने टुंगो छैन ।
बझाङमा जन्मेका सिँहलाई बर्दियामा ‘छापामार रेञ्जर’ भनेर पनि चिन्ने गरिएको छ । किन होला त्यस्तो भनेको ? उनकै शब्दमा, अपराधिक घटना हुने बित्तिकै वा घटना हुँदै छ भन्ने सूचना पाउने बित्तिकै प्रायजसो म फिल्डमा जाने गरेको छु । अनि अभियुक्तलाई समात्ने, पक्रने, घेरा हाल्ने, कतिपय ठाउँमा दोहोरो पनि पर्छ, त्यस्तो मौकामा परीहाल्दा गोद्ने सम्मको काम गर्नुपर्छ ।संरक्षण गर्छु भनेर जागिर नै यस्तै खाइयो, अनि वन्यजन्तु मार्ने, रुख काट्ने निर्दयीहरु देख्दा साह्रै रिस उठ्छ, चित्त पनि दुख्छ ।
अनुसन्धान गर्दै जाँदा गाउँ बस्तीमा जानुपर्छ । घरभित्र गएर खानतलासी गर्नुपर्छ । सुरक्षाका साधन हामीसँग केही छैनन् । सरकारले हामी जस्ता काम गर्ने मान्छेलाई हेरी दिए त हुन्थ्यो नि । कुन मान्छे कस्तो छ ? थाहा हुँदैन । सामान्य मास्क लगाएर घेरा हाल्नुपर्ने, अभियुक्तलाई घरबाट समातेर कार्यालयसम्म पुर्याउने काम गर्दा कति बेला कोरोनाले समात्ने हो भन्ने डरले सताइरहन्छ ।
रेञ्जर सिँहका बारेमा प्रमुख संरक्षण अधिकृत अणनाथ बराल भन्छन्, एन्टिपोचिङको लागि उनी साँच्चै सिँह नै हुन् । समुदायको सूचना राख्ने र अपडेट हुने बानी राम्रो छ ।
ड्यान्जर छ है, चिसापानीको लेडिज रेञ्जर
चिटिक्कको जीउडाल । गोरो फेस, हसिली अनि झट्ट हेर्दा दयालु मायालु लाग्ने । तर अपराधी भेट्यो कि चड्कन दिइ हाल्ने । बाँके राष्ट्रिय निकुञ्जको चिसापानी रेञ्जरपोष्टको गाडी हिड्ने बित्तिकै अगाडीको सिटमा बस्ने महिला हुन् रेञ्जर निलम कार्की ।
केही दिन अघि गर्मी निकै बढीरहेको थियो । चित्तलको मासु बोकेर केही मानिस आइरहेको सूचना पाएपछि एम्बुस थापेर बसेकी रेञ्जर कार्कीले दुई घण्टाको पर्खाईमा झ्याप्प दुई वटा साइकिल समातिन् । खानतलासी गरिन्, बोरामा मासु भेटियो । के को मासु हो ? खसी काटेको घर अनि आफन्तलाई दिन आएको । कार्कीले पत्याउने कुरै भएन, कडीकडाउन गरिन् । नेपाली सेनालाई थप सहयोगका लागि कल गरिन् । आखिर बर्दिया राष्ट्रिय निकुञ्जभित्रबाट अघिल्लो दिन चित्तल मारेर ल्याएको र लकडाउनका बेला आफन्तलाई ‘उपहार’ दिन शिकारीले बोेकेर ल्याएको भेद खुल्यो ।
लकडाउनकै समय थियो, साँझ खाना खाने तयारी भइरहेका बेला कसैले सूचना दियो, काठ तस्करी हुँदै छ भनेर । रेञ्जर कार्कीले आफ्नो टीम तयार पारिन् । आउने बाटोमा एम्बुस थापेर बसिन् । सर्लक्क परेको काठ बोकेर केही नौजवान केटालाई काठ सहित जालोमा पारिन् ।
नर्मल अवस्थामा पनि उनको बानी गस्तीमा रमाउने खालका छ । अहिले त लकडाउन छ, हाम्रा मध्यवर्ती क्षेत्रका चोरी शिकार नियन्त्रणसँग सम्बन्धित सयन्त्र पनि सक्रिय हुन सकेका हँुदैनन् । उनले भनिन्, यस्तै बेलामा ‘दाउ’ हेरेर बसेका गलत मानिसहरु निकुञ्ज छिर्छन्, काठ, दाउरा अनि शिकार जे भेटायो लिएर टाप कस्छन् अनि अहिले बढी सक्रिय हुनु परेको छ ।
गाउँ बस्तीका शिकारी कुकुरले यही बेला कति वन्यजन्तु मारिसकेको छ भने कतिलाई घाइते बनाएको छ । कार्की भन्छिन्, यो बेला त मानिस मात्र होइन, कुकुर पनि अपराधी भएका छन् । लकडाउनकै बेला अघिल्लो हप्ता गाउँमा पसेकी कार्कीले सुराकी परिचालन गरी चौकाका बच्चा पालिरहेको घरमा छापा मारिन् र चौकाको बच्चाको उद्धार समेत गरिन् ।
कोरोना भाइरसको डर छ, तर हामी त बिना मास्क, स्यानीटाइजर, पञ्जा तस्करलाई समात्न निस्किनु पर्छ । खै, त्यै भएर निकै डर लागि रहन्छ तर पनि काम त गर्र्नै पर्यो ।
एकातिर कोरोनाका डर अर्काेतिर अपराध गर्नेको अपराधीका धम्कीको डर । कार्की महिला भएर पनि होला, चोर, फटाहाले पनि कहिले काँही थर्काउने गर्छन् । केही दिन अघि काठ सहित समातेको एउटा केटाले निकुञ्जभित्र पसेर काठ काटेकोमा निकै आत्मग्लानी भएको भन्दै छोडि दिन आग्रह गर्यो तर कार्कीले छाड्ने कुरा भएन । अनि उसले रिसले भन्यो, म पहिलो पटक यसरी काठ काट्न आएको हो, म बिद्यार्थी हो, मेरो कुरा पनि सुन्नु भएन, कस्तो महिला रेञ्जर ? साँच्चै रेञ्जर त ड्यान्जर हुँदा रहेछन् ।
रेञ्जर कार्कीका बारेमा प्रमुख संरक्षण अधिकृत प्रमोद भट्राई भन्छन्, महिला हुन तर उनको जोश जाँगर पुरुषको भन्दा कम छैन । आँटिली छिन्, साहसी पनि छिन् ।
भेट्यो कि समात्यो, कोरोना होस् कि सोरोना
तीन वर्ष अघि रेञ्जरको जागिर खाएका केशव ढोडारीले शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जका सबै कुना कन्तुरामा पदचाप फैलाएका छन् । काभ्रेमा जन्मेका केशवले राजधानीसँगको निकुञ्जमा जागिर खाने अवसर प्राप्त गरे । युवाको जोश जाँगर केशवमा देखिन्छ, निकुञ्जको हेडक्वाटरमा योजना बनाउने काम पनि गर्छन् उनले । अनि निकुञ्जमा अलि दरो दलबल सहितको टिम मोबिलाइज हुनु पर्यो भने नेतृत्व गर्न पनि पछि पर्दैनन् ।
लकडाउन चलिरहेको छ । योजना फाँटको काम खासै छैन । नेपाली सेनासँगको संयुक्त गस्तीमा म कुदिहाल्छु । उनले भने, अहिले यो निकुञ्जमा निकै चुनौती थपिएका छन् । बिना इजाजत निकुञ्ज प्रवेश गर्ने, काठ दाउरा काट्ने अनि पाए शिकार पनि गर्ने नियतका मानिसको प्रवेश दर्जनौँ ठाउँबाट हुने गरेको छ ।उनले भने, अहिले वन्यजन्तु सप्ताह चलिरहेको छ । हामीले कोरोना भाइरसको प्रभावलाई हेरेर सरसफाई कार्यक्रमलाई मात्र बढी फोकस गरेका छौँ । अस्ति एउटा अन्तक्रिया पनि भयो तर सेना र निकुञ्जका कर्मचारीबीच मात्रै । लकडाउनका बेला निकुञ्ज प्रवेश गर्नेको संख्या अधिक हुन थालेपछि अस्ति तीन दिन त जंगलमै रात बिताएको स्मरण गरे उनले ।
शिवपुरीमा लकडाउनको बेला काठ, दाउरा काट्ने व्यक्ति पक्राउ गर्दा दण्ड जरिवानाबाट मात्र ५० हजार रुपियाँ संकलन भएको छ । गत हप्ता मात्रै, नुवाकोट क्षेत्रबाट शिकार खेल्न आएका चार जनालाई पक्राउ गरियो । केशव भन्छन्, अब त कति बेला कता शिकारीले बन्दुक पड्काउने भन्ने चिन्ता लागि रहन्छ । अनि अफिसमा बस्ने भन्दा चिफ वार्डेनसाफलाई गस्तीमा जान्छु भन्छु र बढी जसो गस्तीमै जाने गरेको छु ।
ओख्रेनी, मूलखर्क, चिल्याउने र पुने गाउँ गरी चार वटा वस्ती अहिले पनि निकुञ्जभित्र परेका छन् । बस्ती स्थानान्तरण अझै हुन सकेको छैन । अनि मानिसलको ‘मुभमेन्ट’ बढी छ । उनले भने, हुन त कोरोनाको डर छ, मैले त बदमासी गरेको भेटायो भने कोरोना न सोरोना । झ्याप्प फटाहाहरुलाई समातेर गाडीमा हाल्ने हो अनि अलि पछि ओहो … केही थियो कि भनेर सम्झने बानी भइसकेको छ ।
निकुञ्ज वरीपरिको तामाङ बस्तीहरुबाट यो लकडाउनका अवधिमा बढी चुनौती थपिएको उनको अनुभव छ । घरभित्र बस्ने अनि लोकल रक्सी बनाउने प्रवृतिले दाउराको खाँचो पर्दा निकुञ्ज भित्र छिर्ने ती वस्तीका मानिसदेखि केशवको ठूलो गुनाशो रहेको छ । उनी भन्छन्, संसार कोरोनाका डरले बाहिर निस्किेको छैन तर यहाँका तामाङ बस्तीका मानिसले जंगल छिर्न छाडेका छैनन् ।
रेञ्जर केशवका बारेमा प्रमुख संरक्षण अधिकृत दिल पुनमगर भन्छन्, केशवलाई यहाँको धेरै वस्तुस्थिति थाहा छ, ऊ निडर र जिम्मेवार बोध गर्न सक्ने रेञ्जर हो ।
पर्साको हिरो प्रकाश, अपराधीसँग भिड्छ
रुकुममा जन्मेका प्रकाश पुनले जागिर सुरु गरेका हुन् पर्सा राष्ट्रिय निकुञ्जबाट । कलेज सकिनै लाग्दा जागिर सुरु गरेका प्रकाशले पर्साको फिल्ड देखि लिएर हेडक्वाटरसम्मको अनुभव बटुलेका छन् । घटना जब कहि हुन्छ अनि प्रकाशको टोली त्यही पुग्छ । युवा तातो रगत भएका उनी हाकिमले लाए, अह्राएको सबै काम फत्ते पारेर मात्र फर्किन्छन् ।
लकडाउनमा बढी प्रेसर परिरहेको छ, बुधवार टेलिफोनमा प्रकाशले भने । अब गस्ती जाने तयारीमा छु । जाँदा जाँदै बाटोमा के भेटिन्छ अनि कता मुडभेड हुन्छ र कति बेला फर्किने हो सर, खासै टुंगो हुदैन । लकडाउनकै बेला अघिल्लो हप्ता पर्सा राष्ट्रिय निकुञ्जमा शिकारी र नेपाली सेनाबीच दोहोरो गोली हानाहान हुँदा एक जना शिकारीको मृत्यु भएको छ भने एक जना सेनाका जवान गोली लागेर घाइते भएका छन् ।
निकै रिस्क छ है प्रकाश ? नेपालकथाको जिज्ञासामा उनले भने, हो नि, दोहोरो रिस्क छ । भारतबाट कोरोना लागेको मानिसको प्रवेश भइरहेको सुनिन्छ । ती मानिसको निकुञ्जसम्म इजि एक्सेस छ । गस्ती गर्दै जाँदा निकुञ्ज भित्र पसेको मानिसलाई समात्नै पर्यो, हामीसँग त न मास्क छ, न हातमा पञ्जा । एकातिर त्यसको डर छ भने अर्काेतिर अस्ति मात्रै दोहोरो भिडन्त भयो, कति बेला शिकारी ढुकेर बसेका हुन्छन् भन्ने पनि डर त भइहाल्छ नि ।
लकडाउनकै अवधिमा उनी धेरै पटक बदमासी गर्ने व्यक्तिसँग भिडिसकेका छन् । राम्रोरी भन्दा गाडीमा बस्न नमानेपछि झ्याप्प समात्नै पर्छ । उनी भन्छन्, कस्तो अचम्म छ, नजुधेसम्म त अपराधी पनि लाइनमा आउँदैन । अनि नजुध्नुको विकल्प छैन ।
बदमासी गर्ने व्यक्तिले आफ्नो अपराधसँग गणतन्त्रलाई जोडेर धम्की दिएका देख्दा उनको मन कुटुक्क दुख्ने गर्छ । उनी भन्छन्, अपराध घरभित्र लुकाएर बसेका व्यक्तिले गणतन्त्रमा पनि तपाई हामीलाई कारवाही गर्ने भनि उल्टो धम्क्याउन गर्छन् । हामी त सानो कर्मचारी, फिल्डमा खट्नै पर्छ । बदमासीलाई खल्तीमा लुकाएर बच्न खोज्ने व्यक्तिले उल्टै जागिर खाइदिने, सरुवा गरिदिने सम्मको धम्की दिएको देख्दा पारो तातेर पो आउन्छ ।
सज्जन स्वभावका प्रकाश आफै भन्छन्, हुन त हामीले उनीहरुलाई सम्झाउन पनि नसकेको हौला तर कतिपय मानिस त बुझ पचाएर हामीले गल्ती गर्न पाउनै पर्छ भन्ने नियतका साथ पेल्नै खोज्छन् । तर अहिलेसम्म चिफ वार्डेन, सहायक वार्डेनसाफले कसैको धम्कीका अगाडि मलाई झुक्न दिनुभएको छैन । अपराध गर्नेलाई मैले पनि छाडेको छैन ।
रेञ्जर प्रकाशका बारेमा पर्सा राष्ट्रिय निकुञ्जका सहायक वार्डेन अशोककुमार राम भन्छन्, प्रकाश यहाँको हिरो हो, उसले आफ्नो जिम्मेवारी फत्ते गरेर मात्र फर्कने गरेको छ ।