२४ औँ वन्यजन्तु सप्ताह : दिनरात खट्नेलाई पुरस्कार

काठमाडौँ । सरकारले यस पटकको २४ औँ वन्यजन्तु सप्ताह बिभिन्न कार्यक्रमका साथ सम्पन्न गरेको छ ।

बदलिँएको पछिल्लो अवस्थालाई दृष्टिगत गरी बिभिन्न सरोकारवाला निकायसँगको समन्वय र सहकार्यमा यस पटक राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले बिभिन्न सिर्जनात्मक र रचनात्मक क्रियाकलापहरु सञ्चालन गरेर सप्ताह मनाएको छ ।

सप्ताहन्तको दिन शनिवार विभागद्धारा आयोजना गरिएको कार्यक्रममा विभागीय मन्त्री शक्तिबहादुर बस्नेत र सचिव डा. विश्वनाथ ओली नदेखिएपनि कार्यक्रम भने विगतका कार्यक्रम भन्दा फरक र रोचक देखिएको थियो ।

यस पटकको कार्यक्रममा संरक्षणमा फिल्डमा दिनरात खटिने, मिहिनेती कर्मचारी, संरक्षणलाई सेवाको रुपमा लिने समुदायस्तरका व्यक्तिलाई सम्मान गरियो । विगतमा बढी जसो उपल्ला तहका कर्मचारीलाई सम्मान र दोसल्ला ओढाउने प्रचलन भएपनि यस पटक उपल्ला कर्मचारी र राजधानीमा बसेर संरक्षणका गफ हाँक्ने व्यक्ति छनौटमा कम परेका छन् ।

कार्यालय सहयोगी देखि लिएर विश्वविद्यालयमा पढाउने विज्ञसम्मलाई सम्मान र पुरस्कृत गरेर संरक्षणमा साना देखि ठूला सबैको उत्तिकै महत्व र योगदान रहेको हुन्छ भन्ने कुरालाई प्रमाणित गर्न खोजिएको जस्तो देखिन्थ्यो ।

यस वर्षको सकारात्मक कुरा यही नै हो, कार्यक्रममा स्थलमा एक पूर्व महानिर्देशक ले भन्नुभयो, मेरो पालामा पनि ग्राउण्ड लेवलमा काम गर्नेलाई बढी सम्झन खोजको थिए तर के के नमिलेर गर्न सकिएन, यसपटकको सम्मान गरेको देख्दा खुसी लाग्यो । गर्न त मेरो पालामा धेरैलाई सम्मान गरियो तर पहुँचवाला नै धेरै परेका थिए ।

यस पटकको सम्मान पाउनेमा शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जका कार्यालय सहयोगी गोपाल बस्नेत, कोशी टप्पुका गेम स्काउट देबबहादुर बस्नेत, चितवनका गेम स्काउट कौशिला मोक्तान, पर्साका सवारी चालक मेघबहादुर पोखरेल, विभागका कार्यालय सहयोगी धनमाया खत्री र श्यामकृष्ण श्रेष्ठ, तराई भू परिधी कार्यक्रमका वरिष्ठ समुदाय परिचालक माया योगी, चितवनका खरिदार नविन भण्डारी, पर्साका नायब सुब्बा मनीपुरन चौधरी हुनुहुन्छ ।

त्यसैगरी सम्मान पाउनेमा बर्दियाका नायब सुब्बा देवीराम पोखरेल, जेडएसएलका प्रचण्ड महर्जन, राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहाका पशु स्वास्थ्य सहायक किरण रिजाल चितवनका रेञ्जर प्रतिभा कक्षपति हुनुहुन्छ ।

त्यसैगरी कोशी टप्पु मध्यवर्ती क्षेत्रका रविन घिमिरे, चितवनका पत्रकार नारायण अधिकारी, लामटाङ मध्यवर्ती क्षेत्रका कर्माजित छिरिङ तामाङ, डब्लुडब्लुएफका तिलकबहादुर ढकाल र मकालु बरुण राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत बद्री विनोद दाहाललाई सम्मान प्रदान गरिएको छ ।

यस वर्षको वन्यजन्तु संरक्षण पुरस्कार कञ्चनपुरका पुस्करबहादुर सिँहलाई ५१ हजार १०५ रुपियाँ नगद र राष्ट्रिय वन्यजन्तु संरक्षण पुरस्कार प्रा.डा. मुकेशकुमार चालिसेलाई १ ला १ हजार १०५ रुपियाँ नगद सहित प्रदान गरियो ।

कार्यक्रममा राष्ट्रिय योजना आयोगका सदस्य डा. कृष्णप्रसाद ओली, विभागका महानिर्देशक मनबहादुर खड्का, उपमहानिर्देशक गोपालप्रकाश भट्टराई, विभागका संस्थापक महानिर्देशक विश्वनाथ उप्रेती लगायतका वक्ताहरुले नेपालमा हाल संरक्षणका क्षेत्रमा भइरहेको कार्यको प्रशंसा गर्नुभयो ।

विभागका सूचना अधिकारी एवम् उपसचिव बिष्णुप्रसाद श्रेष्ठद्धारा सञ्चालित सो कार्यक्रममा लामङटाङ राष्ट्रिय निकुञ्ज तथा मध्यवर्ती क्षेत्रका चराहरु, बर्दिया राष्ट्रिय निकुञ्ज तथा मध्यवर्ती क्षेत्रका चराहरु, नेपालमा संरक्षित क्षेत्रहरुमा जैविक विविधता संरक्षण तथा व्यवस्थापन र अपिनाम्पा संरक्षण क्षेत्रको जैविक विविधताको प्रोफाइल विमोचन गरिएको थियो ।

कार्यक्रममा वन्यजन्तु सप्ताहका बिभिन्न कार्यक्रममा भाग लिएर बिजेता बनेका बिभिन्न विद्यालय तथा क्याम्पसका विद्यार्थीहरुलाई पुरस्कार वितरण गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here