सडक विभाग सडकमा देखिएपछि …( भिडियो सहित )

काठमाडौँ । सोमवार बिहान सडक विभागको एउटा गाडी सिँहदरबार छेऊमा देखियो । जुन गाडी धेरै पहिले विभागले खरिद गरेको हो । तर यो गाडी कहिल्यै सडकमा देखिदैन्थ्यो । विभागका आँगनमा थन्किदै खिया लागि सकेको यो गाडी विभागले सडक सफा गर्ने उद्धेश्यले खरिद गरेको थियो । यो गाडीलाई ब्रुमर भनिन्छ ।

जब काठमाडौँ महानगरपालिकाले सडकको धुलो सफाईका लागि ब्रुमर खरिद गर्यो र ठाउँ ठाउँमा ब्रुमरले काम गरेको देखियो अनि बल्ल विभागको आँखा खुल्यो र सिँहदरबार वरीपरीको सडक सफाईमा ब्रुमरलाई चलाउन सुरु गर्यो ।

ब्रुमर सञ्चालन गर्दा सोमवार अनामनगर क्षेत्रमा भेटिएका विभागका कर्मचारीलाई नेपालकथाले सोध्यो, सडक विभागको ब्रुमर त बल्ल पो देखियो, यो भन्दा पहिले कता थियो यो ब्रुमर ? ती कर्मचारीको जवाफ यस्तो थियो, यो मेसिन ल्याएको त वर्षाै भइसक्यो नि । नचलाएर थन्क्याएपछि सडकमा कसरी देखिन्थ्यो ? यो मेसिनले नै सडक बल्ल देखिरहेको छ ।

अहिले किन चलाएको त ? भन्ने जिज्ञासामा ती कर्मचारीले भने, सडक विभागमा सामान खरिद हुने मात्र हो । मन लागे चल्छ, मन नलागे चल्दैन । अहिले विभागको ठूलो मान्छेलाई मन लाग्यो होला अनि चलायो ।

अनि अहिले कसरी मन लाग्यो त ? नेपालकथाले सोध्दा ती कर्मचारीले भने, ल कस्तो कुरो नबुझेको तपाईले ? महानगरपालिकाले यस्तो मेसिन चलाउन थालेपछि हाम्रो हाकिमलाई गाह्रो भो होला नि । यस्तो मेसिन के थन्क्याएर बस्नु भन्ने लाग्यो होला अनि हामीलाई दगुरायो ।

यो मेसिन कता राख्ने गरिएको छ ? हाम्रो जिज्ञासामा उनले भने, यो मेसिनको काम छैन भन्दै थन्क्याउने त हो नि । कमाउने ठाउँमा आँखा भाको मान्छेले यस्तो धुलोमाटो उठाउने काममा ध्यान जान्छ र ? कता ठेक्का पट्टा छन ? कताबाट पैसो आउन्छ भनेर आउने हाकिमले यस्तो कुरामा ध्यान दिन्न के । अहिले त गाह्रो भएर पठाएको होला नि ।

हुन त हो है, तपाईले भनेको सही होला, हाकिमलाई पैसा आउने ठाउँमै ध्यान होला …..उनले ब्रुमरतिर हिड्दै हामीसँग भने, यो देशमा कुन हाकिमलाई पैसा चाँहिदैन र ? जति आए पनि उही हो ….. । जात, अनुहार मात्र फरक हो । कोही मोटो हुन्छन् कोही पातलो हुन्छन्, फरक त्यति मात्र हो, खाने मुख सबैको एउटै नै हुन्छ ।

ती कर्मचारीका अनुसार अब सिँहदरबार वरीपरीको सडकमा बिहान ६ बजेदेखि ९ बजेसम्म सधैँ यो ब्रुमरले सफा गरिने भएको छ । उनले भने, मेसिनको बुरुस पुरानो भएकाले राम्रोसँग धुलो समात्न सक्दैन । बुरुस किन्नु पर्यो भनेको धेरै समय भैसक्यो, खै अहिलेसम्म किन्ने सुरसार छैन । अब यो बुरुसले धेरै काम गर्न सक्दैन होला ।

कसरी सफा गरिँदैछ, सडक विभागको ब्रुमरले ( भिडियो )

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here