अछाम । विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) बनाउने परामर्शदाता कम्पनीको लापरवाहीले गर्दा बुढीगंगा जलविद्युत् आयोजना निर्माणमा झन अन्यौलता छाएको छ ।
काम लिनका लागि विदेशी कम्पनी देखाउने, उच्च तहको राजनीतिक नेतृत्वको दवावमा काम लिने तर निर्धारित समयमा काम दिन नसक्ने प्रवृतिको नेपाली परामर्शदातहरुमा विद्यमान भएकाले बुढीगंगा जलविद्युत् आयोजनाको निर्माण अझै अनिश्चित देखिएको हो ।
नेपाली परामर्शदाताको कामको विषयमा एक जना पूर्व ऊर्जा सचिवले नेपाकथालाई भने, काम नपाउन्जेल नेताहरुका ओछ्यानसम्म पुग्ने परामर्शदाता भन्ने पनि नसुहाउँने बेइमानहरुले गर्दा नेपालको जलविद्युत् क्षेत्र निकै बदनामी भएको हो । यिनले जलविद्युत् क्षेत्रलाई आफ्नो कमाई खाने व्यापारको क्षेत्र बनाएर ध्वस्त पारे ।
आयोजनाका अनुसार पटक पटक म्याद थप्दा पनि परामर्शदाता कम्पनीले हालसम्म पनि प्रतिवेदन बुझाउन सकेको छैन । यद्धपी आयोजनाको जग्गा अधिग्रहण गर्ने कार्य सम्पन्न भएको छ भने आयोजना कार्यालय भवन निर्माणको कार्य करिब ८० प्रतिशत जति सम्पन्न भएको छ ।
बाजुराको बुढीगङ्गा नगरपालिका वा न १० सिगाडाको लामाखडिक र अछामको बुढाबगरको क्षेत्रमा निर्माण हुने यो आयोजनाको डीपीआर पनि अन्तिम चरणमा पुगेको दावी परामर्शदाता कम्पनी उदयले गरेको छ ।
तर ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालयका उच्च अधिकारीहरु भने परामर्शदाता कम्पनीको बदमासीले आयोजना अघि बढ्न नसकेको बताइ रहेका छन् ।
यो आयोजना २०५२ सालमा आयोजनाको पहिचान भएको हो । आयोजना निर्माणका लागि आउँदो असोज महिनाभित्र बोलपत्र आह्वान गर्ने कार्यक्रम रहेको छ । २०७७ साल भित्रै सम्पन्न गर्ने लक्ष्य राखेको भएपनि विस्तृत परियोजना प्रतिवेदन बनाउन भएको ढिलाइले गर्दा आगामी २०८० मा आयोजनाको काम सम्पन्न हुने संशोधित लक्ष्य रहेको छ ।
२० मेगावाट क्षमताको आयोजनाका लागि साउदी अरब विकास कोषले ३ अर्ब २० करोड र कुवेत विकास कोषले १ अर्व ८० करोड क्रृण लगानी गर्ने भएको छ भने अपुग हुने बाँकी रकम नेपाल सरकारले लगानी गर्ने भएको छ ।
२०७३ साल असार १४ गते अस्टेलिएन कम्पनी स्मेक र नेपालको उदय कन्सल्टेनसीले १८ महिना भित्र डिपीआर तयार गरिसक्ने सम्झौता गरेका थिए । तर कामको ढिलाई र उदय कन्सलटेन्सीका स्थानीय प्रतिनिधिको लापरवाहीले डीपीआर समयमै बन्न नसकेको हो ।