वन मन्त्रीलाई बाँदरको चिन्ता

काठमाडौँ । वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतले आगामी निर्वाचनमा संरक्षित क्षेत्रका बिरुद्धमा नारा लाग्न सक्ने बताएका छन् ।

आफ्नै मन्त्रालयले आयोजना गरेको वन्यजन्तुको चोरी शिकार तथा अवैध कारोवार नियन्त्रणमा संलग्न सरोकारवाला निकायको दुई दिने प्रथम राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै बाँदर, बनेल जस्ता वन्यजन्तुले समुदायलाई निकै पीडा दिएको भन्दै आगामी निर्वाचनमा संरक्षण क्षेत्र हटाउने एजेण्डा उठाउने उम्मेदवारले जित्न पनि सक्ने जिकिर गरे । यस्तो भएमा आश्चर्य चकित नहुन पनि आग्रह गरे ।

भाषणको पूर्वार्धमै मुसुक्कै हाँस्दै उनले भने, म गौरीशंकरमा पुगे, बाँदर र बनेलले निकै सताएको रहेछ । आगामी निर्वाचनमा गौरीशंकर हटाउनुपर्छ भन्ने एजेण्डा बोक्ने उम्मेदवारलाई बढी भोट आउने सक्ने देखिएको छ ।संरक्षणका बिरुद्ध नाराजुलुस हुन सक्ने देखिएको छ । त्यहाँका बासिन्दासँग अन्तक्र्रिया गरेर मैले भ्रमणबाट यही सन्देश लिएर फिर्ता भए ।

उनले संरक्षण गर्दा स्थानीय समुदायलाई पीडै पीडा भएको भाषण सुनाए । उनले भने, मेरो कुरा तपाईहरुलाई कति मन पर्छ कतिलाई मन पर्दैन होला तर यथार्थ यही पाए । म बर्दिया गए, कोशी टप्पु गए, वन्यजन्तु संरक्षण प्रति समुदायले सकारात्मक कुरा गरेनन् ।

उनले पर्सा राष्ट्रिय निकुञ्जको प्रसंग कोट्याउँदै भने, पर्सामा यो निलगाई भन्ने जनावरले निकै दुख्ख दिएको रहेछ । यो निलगाई भन्ने नाम कसले राखेको होला ? गाईले त यति दुख्ख नदिनु पर्ने हो ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागद्धारा आयोजना गरिएको सम्मेलनमा वन्यजन्तु अपराध नियन्त्रण इकाई गठन भएको जिल्ला स्थितका डिभिजनल वन अधिकृत, प्रमुख संरक्षण अधिकृत, नेपाली सेना, नेपाल प्रहरी, शसस्त्र प्रहरी लगायतका सरोकारवाला निकायका प्रतिनिधिहरुको सहभागिता रहेको थिए । मन्त्रीको यस्तो भाषण सुनेपछि सहभागीहरुले अचम्म परे ।

नेपाल सरकारको कार्य विभाजनमा संरक्षणको प्रमुख जिम्मा दिएर स्थापना भएको वन तथा वातावरण मन्त्रालय सम्हालेका मन्त्रीले संरक्षण बिरुद्ध नारा जुलुस हुन सक्ने र आगामी निर्वाचन संरक्षण बिरुद्ध एजेण्डा बोक्ने उम्मेदवारले जित्न सक्ने धारणा राखेपछि आफ्नो करिअर नै संरक्षणमा बिताएका मन्त्रालयका अधिकांश बरिष्ठ अधिकृतले मुखा मुख गर्नु स्वभाविक पनि थियो ।

मन्त्री बस्नेतले सहभागीलाई प्रति प्रश्न गर्दै भने, संरक्षणलाई तपाईहरुले आफ्नो ढंगले हेरि रहनु भएको होला तर मेरो हेराई अलि फरक छ । यहाँहरु लामो समयदेखि संरक्षणमा लागि राख्नु भएको छ तर संरक्षणले समस्या सिर्जना गरिरहेको तर्फ हामी किन सचेत हुन सकेनौँ ?

वन्य जन्तुको चोरी शिकार र अवैध व्यापार नियन्त्रण सम्बन्धी भएको सम्मेलनमा आफ्नो भाषणका बाँकी समय वैज्ञानिक वन व्यवस्थापनको विषयमा खर्च गरेका मन्त्री बस्नेतले भाषण गर्ने क्रममा धेरै पटक प्राकृतिक स्रोतको सदुपयोग जरुरी भएको कुरा दोहोर्याई तेहेर्याई बोले । मन्त्री बस्नेतले अन्तमा भने, समय सन्दर्भ अनुसार तपाईहरु पनि चेञ्ज हुनुपर्छ । होइन भने संरक्षण मात्र भनेर केही हुने बाला छैन ।

उहाँको यो भनाईको आशय हाल कार्यान्वयन भइरहेको संरक्षण पद्धति नै बदल्नु पर्ने भन्ने हो वा संरक्षण क्षेत्र भित्रको प्राकृतिक सम्पदाको पनि सदुपयोग गर्नुपर्छ भन्ने हो । समुदायको गुनाशो र असहमति भएमा संरक्षण क्षेत्र माथि पनि वहस गर्नुपर्छ भन्ने हो ? सम्मेलनमा एक सहभागीले भने, आज मन्त्रीज्यूले के बोल्नु भएको हो ? बुझि नसक्नु भयो ।

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here