काठमाडौँ । विश्वमा दुर्लभ मानिएको हिउँ चितुवा सम्बन्धी पछिल्लो अवस्था सार्वजनिक भएको छ । पछिल्ला दिनमा नेपालमा हिउँ चितुवाको संख्या बढेको अनुमान गरिएको छ ।
वन्यजन्तु सप्ताहको अन्तिम दिन राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले नेपालमा हिउँ चितुवाको अनुमानित संख्या ३९७ रहेको तथ्याङ्क सार्वजनिक गरेको छ।
विभागले आइतबार राष्ट्रिय हिउँ चितुवा सर्वेक्षण प्रतिवेदन २०२५ सार्वजनिक गरेसँगै यो संख्या प्रकाशमा आएको हो । सो प्रतिवेदनमा नेपालमा हिउँ चितुवाको संख्या ३३१ देखि ४७६ सम्म रहेको समेत उल्लेख छ।
हिउँ चितुवा सम्बन्धी अध्ययन अनुसन्धान गर्ने व्यक्ति तथा संस्थाको संख्या वृद्धि भएसँगै यसको बासस्थानका बारेमा पनि नयाँ खोज पत्ता लाग्न थालेका छन् । यस अघि नेपालको पूर्वी भेग कञ्चनजंगादेखि पश्चिम गौरीशंकर हुँदै अन्नपूर्ण क्षेत्रमा मात्र हिउँ चितुवा पाउने गरिएको अध्ययनले देखाएको थियो । पछिल्ला दिनमा यसको अध्ययन अनुसन्धान गर्दै जाने क्रममा पश्चिमको हुम्ला, बझाङ र दार्चुला समेत हिउँ चितुवा देखिएको बताइको छ ।
विशेष गरी हिउँ चितुवा पाउने सात वटा क्षेत्र पहिचान भएका छन् । प्रतिवेदनमा उल्लेख भए अनुसार कञ्चनजङ्घा ८ वटा, गौरीशंकर ८ वटा, मनास्लुअन्नपूर्ण कलष्टरमा ३४ वटा हिउँ चितुवा रहेको अनुमान गरिएको छ । त्यसैगरी पूर्वी डोल्पा र आसपासका क्षेत्रमा २४ वटा, शेफोक्सुण्डो ६२ वटा र हुम्ला र त्यसको आसपास क्षेत्रमा १६ वटा हिउँ चितुवाको अनुमान विभागले गरेको छ ।
यसैबीच विभागले एक विज्ञप्ति प्रकाशित गरी नेपालमा हिउँ चितुवा बारे थप अध्ययन अनुसन्धान गर्नुपर्ने आवश्यकता भएको बताएको छ ।
हिउँ चितुवाको राष्ट्रियस्तरको सर्वेक्षण प्रतिवेदन तयार गर्न भनेर राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले गत असार ९ गते विभागका वरिष्ठ इकोलोजिष्ट हरिभद्र आचार्यको संयोजकत्वमा एउटा समिति गठन गरेको थियो ।
सो समितिमा वन तथा भूसंरक्षण विभाग सहित बिभिन्न संरक्षण साझेदार संस्थाको सहभागिता रहेको थियो । जसमा डब्लुडब्लुएफ नेपाल, जेडएसएल नेपाल, राष्ट्रिय प्रकृति संरक्षण कोषका प्राविधिक प्रतिनिधि र हिउँ चितुवासम्बन्धी अध्ययन, अनुसन्धानमा संलग्न व्यक्ति सदस्य रहेका थिए ।
