काठमाडौँ । शुक्रवार वन तथा वातावरण मन्त्रालयका एक सहसचिवले भने, कोही मन्त्री एक्सन ओरिन्टेड हुन्छन् काम गर्नुको मजा नै बेग्लै हुन्छ । अहिलेका मन्त्री भाषण मात्रै छाँट्छन् । काम गर्नु भन्दा जहिले पनि मन्त्रीको एउटै कुरो सुन्दा अहिले त के जागिर खाइए जस्तो लाग्छ ।
यो टिप्पणी वर्तमान वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेत प्रति उनकै मन्त्रालयका कर्मचारीले गरेको हो । नगरुन पनि किन ? काम भन्दा वर्ष भरी गोष्ठी, सम्मेलन मात्र गरेर सरकारी बजेट खर्च गर्न तर्फ मन्त्रीको ध्यान गएपछि ।
मन्त्रीको निर्देशनमा आज र भोली (असार १३ र १४ गते) जलाधार सम्बन्धी गोष्ठी राजधानीको सुविधा सम्पन्न होटलमा आयोजना भइरहेको छ । मध्य असार देशभरका भूसंरक्षण अधिकृतलाई बोलाएर काठमाडौँमा संघीय संरचनामा राष्ट्रिय जलाधार व्यवस्थापन नाम दिइएको दुई दिने गोष्ठी बोलाएका छन् मन्त्रीले । फुर्सदका बेला हिउँद भरी आँखा चिम्लेर बसेका मन्त्री बस्नेतले बोलाएको गोष्ठीमा बर्खा अघि डुवानमा पर्ने क्षेत्रमा नदी तटबन्धका काम छाडेर देश भरका भूसंरक्षण अधिकृतहरु पनि दुई दिने गोष्ठीका लागि राजधानी प्रवेश गरिसकेका छन् । काम गर्ने बेला गोष्ठीमा बोलाएर के गर्न खोजेका हुन मन्त्रीले ? ती सहसचिवले भने ।
बेला न कुबेला गरेका यस्ता गोष्ठीको उपलब्धी शून्य हुने देखिन्छ । जिल्लाका हाकिमहरुले काम गर्ने बेलामा गोष्ठीमा बोलाएर छलफल गर्नु औचित्यहिन काम हो । वन तथा भूसंरक्षण मन्त्रालयबाट सचिवबाट अवकाश प्राप्त सचिवले भने, आकाशमा बादल मडारिँदै गर्दा फिल्डमा आमनागरिक कति बेला डुवानमा पर्ने भन्ने चिन्तामा परिरहेका अवस्थामा देशभरका भूसंरक्षण अधिकृतहरु कसरी जलाधार व्यवस्थापन गर्ने भन्ने गोष्ठीमा व्यस्त बनाउनु भनेको कुन बेला के काम गर्ने भन्ने पनि थाहा नपाएको जस्तो बुझ पचाएर कामर्यक्रम आयोजना गरेको देखिन्छ । फिल्डमा काम गर्ने बेला सारा कर्मचारीलाई राजधानी बोलाएर मन्त्रालयले यो औचित्यहिन काम गरेको हो ।
दार्चुला देखि ताप्लेजुङ सम्मका भूसंरक्षण अधिकृतहरुको काठमाडौँमा दुईदिने कार्यशाला गोष्ठीमा आउन जान चार दिन अरु खर्च हुने देखिन्छ । गोष्ठीमा सहभागी सहभागीका भने, कम्तिमा एक हप्ता हाम्रो काममा डिष्टर्ब हुने भयो । फिल्डमा कामगर्ने बेला गोष्ठीमा किन बोलाएको होलान् ? बर्खाको बेला आउन जाननि निकै गाह्रो । काठमाडौँमा घर हुनेलाई त ठिकै हो । हाम्रो त न घर छ, न परिवार छन् ।
वन तथा भूसंरक्षण विभागका उपसचिव डा. प्रेम पौडेलका अनुसार विभागसँग १० लाख रुपियाँ गोष्ठी गर्नका लागि पैसा भएकाले यो गोष्ठी गर्न थालिएको हो । अर्काे वर्ष सार्न नमिल्ने भएर असारमै भएपनि गरौँ भन्ने निर्देशन भएपछि विभागले तयारी गरेको हो उनले भने ।
काठमाडौँको बुढानिलकण्ठ स्थित होटल पार्क भिलेज रिसोर्टमा गोष्ठी राखिएको छ । गोष्ठीमा मन्त्री बस्नेतले प्रवचन दिने कार्यक्रम रहेको छ । फिल्डमा हेर्दा कुनै गतिलो काम गर्न नसकेको, सरकारी ढुकुटी आफ्ना मन परेको व्यक्तिको संस्थालाई बाँड्ने काम गरिरहेको राष्ट्रपति चुरे कार्यक्रमका अध्यक्ष बीरेन्द्र यादवले पनि सम्बोधन गर्ने कार्यक्रम राखिएको छ ।
जलाधार व्यवस्थापनको गोष्ठीमा प्रशासनिक अदालतका अध्यक्ष काशी राज दाहाललाई समेत विशेष अतिथि बनाइएको छ । तिनै दाहालको समितिले नेपालको सबै भन्दा पुरानो भूसंरक्षण जलाधार विभागलाई वन विभाग सँग गाभेर विभागको अस्तित्व नै नामेट गरेको कुरा ताजै छ ।
मन्त्री बस्नेतको तारे होटलका गोष्ठी मोहले हाल मन्त्रालयको ब्यूरोक्रेसी निकै आतंकित छ । केही दिन अघि मात्रै मन्त्रीले आफ्नो गृह क्षेत्र नेपालगञ्जको होटल सोल्टीमा जलवायु परिवर्तन सम्बन्धी राष्ट्रिय गोष्ठी गरेर झण्डै ५० लाख राज्यको ढुकुटी खर्च गरेका छन् । सो गोष्ठीमा जलवायु परिवर्तन विज्ञका नाउँमा नेकपाका व्यक्तिहरुलाई छानी छानी सहभागी गराइएको आरोप लागेको थियो । अरु पार्टी नजिक मानिने फरेष्टर, जलवायु परिवर्तनका क्षेत्रमा काम गरेका विज्ञ व्यक्तिको सहभागिता नदेखिए पछि मन्त्री बस्नेतले सरकारी रकममा आफ्नो क्षेत्रमा दबदबा देखाउन सो कार्यक्रम आयोजना गरेको टिप्पणी कर्मचारी वृतमाचलेको थियो ।
काम भन्दा गोष्ठी, सम्मेलनमा बिना तयारीका साथ उपस्थित हुने मन्त्री बस्नेतले बर्दियाको वार्डेन सम्मेलनमा हरेक वार्डेनका पछाडि आफ्नो सुराकी रहेका र वार्डेनका काम कारवाहीका बारेमा छुट्टै र छिट्टै सूचना आफु कहाँ आइपुग्ने गरेको बताएपछि कर्मचारी निकै त्रसित भइरहेका छन् ।
गोष्ठी मोह भएकामन्त्री बस्नेतले केहीदिन अघि बुढानिलकण्ठ स्थित होटल पार्क भिलेज रिसोर्टमा आयोजना भएको वन्यजन्तु अपराध नियन्त्रण इकाईको राष्ट्रिय गोष्ठीमा निकै बिबादस्पद अभिव्यक्ति दिए । आगामी निर्वाचनमा संरक्षित क्षेत्र बिरुद्ध एजेण्डा उठाउने उम्मेदवारले चुनाव जित्न सक्नेछन् भन्ने अभिव्यक्ति नेपालका संरक्षणकर्मी, संरक्षण साझेदार संस्था तथा दातृ निकायका बीच निकै चर्चाको विषय बन्यो । मन्त्री बस्नेतले निकुञ्ज भित्रका प्राकृतिक सम्पत्तिको पनि दोहन गर्न पर्छ भनेर धेरै ठाउँमा भाषण दिदै आएका छन् ।