नयाँ औद्योगिक क्षेत्र स्थापनाको तयारीमा


काठमाडौँ ।  चालु वर्षलाई उद्योग वर्ष घोषणा गरेको प्रदेश ३ सरकार नयाँ औद्योगिक क्षेत्र स्थापनाको तयारीमा जुटेको छ ।

हाल सञ्चालनमा रहेका औद्योगिक क्षेत्रहरु प्रदेशअन्तर्गत दिन माग गर्दै आएको प्रदेश सरकारले संघीय सरकारको जवाफ नपाएपछि औद्योगिक क्षेत्र स्थापनाको तयारीमा जुटेको हो । औद्योगिक क्षेत्रको लागि जग्गा खोजीको क्रममा प्राविधिक टोलीले मकवानपुरको मनहरी गाउँपालिका ८ र ९ स्थित ज्यामिरे र सिमपानी क्षेत्रमा रहेको जग्गाको स्थलगत अध्ययन गरेको छ ।

प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलसहितको प्राविधिक टोलीले स्थलगत सर्वेक्षण गर्दा औद्योगिकका लागि उपयुक्त हुने ६ सय हेक्टर जमिन रहेको पाइएको प्रदेश ३ को उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको योजना महाशाखाका हेम पाठकले बताएका छन् ।

चिनियाँ कम्पनीले लगानी गर्न तत्परता देखाएपछि मुख्य मन्त्री पौडेलले प्रदेश सरकारको लगानीमा नयाँ औद्योगिक क्षेत्र स्थापनाका लागि चासो देखाउनु भएको हो । स्थलगत सर्वेक्षण गरिएको जग्गाको भोगाधिकारको अवस्थाका बारेमा वास्तविकता अध्ययन गरी पहिचान गर्न मन्त्रालयले नापी र मालपोत कार्यालय हेटौँडालाई पत्राचार गरेको छ ।

नापी र मालपोत कार्यालयले भोगाधिकारको अवस्था स्पष्ट गरेपछि राप्ती र मनहरी खोला किनारमा रहेको उक्त जग्गाको संरक्षण गरी औद्योगिक क्षेत्र बनाउने अवधारणा ल्याइएको रेन्जर पाठकले बताउनुभयो । उहाँका अनुसार मनहरी गाउँपालिका ८ र ९ मा रहेको जग्गाको भोगाधिकारको अवस्था स्पष्ट भएपछि औद्योगिक क्षेत्रको विस्तृत परियोजना प्रस्ताव (डिपिआर) तयारीको काम अगाडि बढाइने भएको छ ।

प्रदेश ३ मा हाल सञ्चालनमा रहेका चार औद्योगिक क्षेत्रमा चारहजार ९३५ औद्योगिक क्षेत्र रहेका छन् । साना उद्योग एकहजार १३३, मझौला उद्योग ८०१ र ठूला उद्योग तीनहजार एकवटा रहेका छन् । तीमध्ये उर्जामूलक उद्योग ११६, उत्पादनमूलक उद्योग एकहजार ५७७, वन पैदावरमा आधारित उद्योग २५४, खनिज उद्योग नौ, पर्यटनमा आधारित उद्योग एक हजार १७२, सूचनामा आधारित उद्योग २८ र सेवामूलक उद्योग एक हजार ७३४ छन् ।

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here