धनगढी । सुदूरपश्चिम प्रदेशका ईट्टा व्यवसायीहरुका लागि इसिमोडका सहयोगमा नेपाल इट्टा उद्योग महासंघले बिहीवार धनगढीमा आधुनिक प्रविधिको विकासका लागि प्रशिक्षण कार्यक्रम आयोजना गरेको छ ।
कार्यक्रममा कैलाली र कञ्चनपुर जिल्लामा सञ्चालित ईट्टा उद्योगी, व्यवसायीहरुको सहभागिता रहेको छ । महासंघका सचिव मदन पनेरुका अनुसार दुई जिल्लामा सञ्चालित ८० वटा उद्योग व्यवसायीहरुको सहभागिता रहेको छ ।

कार्यक्रममा नेपाल ईट्टा उद्योग महासंघका वरिष्ठ उपाध्यक्ष शंकरबहादुर चन्दले नेपालका इट्टा व्यवसायीहरु आधुनिक प्रविधिमा गइसकेकोले अब ईट्टा उद्योग व्यवसायीले वातावरण बिगार्छन् भन्ने कुरा गलत हुने उल्लेख गरे ।
अधिकांश ईट्टा व्यवसायीहरु आधुनिक प्रविधिमा गइसकेको र नेपालले हाल अवलम्बन गरेको प्रविधिको सिको पाकिस्तान, बंगलादेश तथा भारतका ईट्टा व्यवसायीहरुले अनुशरण गरिरहेको समेत उनले बताए ।

कार्यक्रमको सहयोगी संस्था इसिमोडका कार्यक्रम संयोजक श्रीमति विद्यावनमाली प्रधानले उद्योगधन्दा सञ्चालनको एउटा उद्धेश्य नाफा कमाउनु भएपनि नाफाको सँगसँगै वातावरणीय संरक्षण गर्नु पनि व्यवसायीको प्रमुख दायित्व भएको बताइन् ।
इसिमोडले इट्टा उद्योगलाई वातावरणमैत्री बनाउनका लागि प्रविधि र शिप सिकाउनका लागि सहयोग गरिरहेको जानकारी दिँदै इट्टा व्यवसायीलाई आधुनिक प्रविधि अवलम्वन गर्न उनले आग्रह पनि गरिन् ।

महासंघका सुदूरपश्चिम संयोजक बीरबल बिकले चिम्निबाट धुँवा आएपछि ईट्टा व्यवसाय सञ्चालन गर्यौँ भन्ने सोचले मात्र व्यवसायिक हित र वातावरणीय संरक्षण हुन नसक्ने भएकाले व्यवसाय सञ्चालनसँगै वातावरणीय संरक्षणका लागि लाग्नु पर्नेमा जोड दिए ।
ईट्टा उद्योग सञ्चालनका लागि आधुनिक जिकज्याक प्रविधिको विकास र विस्तार, पर्यावरणीय संरक्षणमा आधुनिक प्रविधिको योगदान, व्यवसायिक आचारसंहिता लगायतका विषयमा कार्यक्रममा प्रशिक्षण दिइने छ ।
(थप फोटो फिचर)






