तीन सय ७४ प्रजातिका वनस्पति नेपालमा मात्रै

काठमाडौँ । वन तथा वातावरण मन्त्रालय, वनस्पति विभागका अनुसार ३७४ प्रजातिका वनस्पतिहरु नेपालबाहेक अन्य मुलुकमा पाइँदैनन् ।

विभागका कर्मचारीद्वारा आज अङ्ग्रेजीमा प्रकाशन गरिएका दुई पुस्तक ‘फ्लावरिङ प्लान्ट्स डिस्कभर्ड फ्रम नेपाल’ र ‘अ हयान्डबुक अफ द फ्लावरिङ प्लान्ट्स अफ नेपाल’ नामक फूल फुल्ने पुस्तक विमोचन कार्यक्रममा उक्त कुराको जानकारी गराइएको हो ।

विभाग र ‘हर्वेरियम’ मा कार्यरत छ कर्मचारीद्वारा लिखित सो पुस्तकमा नेपालमा मात्र पाइने यी प्रजातिबारे उल्लेख गरिएको राष्ट्रिय हर्वेरियम तथा वनस्पति प्रयोगशाला गोदावरीका अनुसन्धान अधिकृत तथा कृति लेखकमध्येका एक गङ्गादत्त भट्टले जानकारी दिनुभयो ।

‘फ्लावरिङ प्लान्ट अफ नेपाल’ नामक ५२७ पृष्ठको पुस्तक एक हजार प्रति छापिएको छ”, भट्टले भन्नुभयो, “यस पुस्तकमा ६७ वनस्पति परिवारका एक हजार ४८० प्रजातिहरुको सूची पहिचान र नामकरण गरी यसका बारे व्याख्या गरेका छाँै ।”

उक्त पुस्तकले नेपालमा फ्लोरा लेखनको साथसाथ वनस्पतिक सम्पदाको उपयोग र दिगो व्यवस्थापनमा मद्दत पुग्ने बताइएको छ ।

विभागका महानिर्देशक तथा लेखकमध्येका एक सञ्जीवकुमार राईले सन् १८०५ देखि सन् २०१९ सम्म नेपालमा पहिलोपटक एक हजार ६५८ फूल फुल्ने वनस्पति प्रजातिहरु पत्ता लागेको तथा नेपाललगायत विश्वका १७ राष्ट्रका ५९ वटा हर्वेरियममा उक्त वनस्पतिहरु संरक्षित रहेको जानकारी दिनुभयो ।

विभागले सार्वजनिक गरेको तथ्याङ्कअनुसार नेपालका ४५ जिल्लाबाट उक्त वनस्पति सङ्कलन गरिएका हुन् । ‘फ्लावरिङ प्लान्ट्स डिस्कभर्ड फ्रम नेपाल’ पुस्तकका लेखकमा नेपालका वरिष्ठ वनस्पति विज्ञ डा केशवराज राजभण्डारी, विभागका महानिर्देशक राई, उप महानिर्देशक मोहनदेव जोशी, राष्ट्रिय हर्वेरियम तथा वनस्पति प्रयोगशाला गोदावरीका वरिष्ठ अनुसन्धान अधिकृत सुभाष खत्री, भट्ट र रिता क्षेत्री तथा ‘अ हयान्डबुक अफ द फ्लावरिङ प्लान्ट्स अफ नेपाल’ पुस्तकका लेखकमा राजभण्डारी र राई हुनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here