वन्यजन्तुलाई पानी अभाव, निकुञ्ज भित्र पोखरी निर्माण

काठमाडौँ । गर्मी तथा सुख्खा याममा पानीको अभावले निकुञ्जको दक्षिणी भेगतर्फ वन्यजन्तु आउन थालेपछि बाँके राष्ट्रिय निकुञ्जले निकुञ्जको सुख्खा क्षेत्रमा पोखरी निर्माण गर्न थालेको छ ।
निकुञ्जको चुरे क्षेत्रमा पानीको अभाव हुँदा वन्यजन्तुहरु पूर्व पश्चिम राजमार्ग भएर दक्षिणी भेगमा आउँदा सडक दुर्घटना हुने, चोरी शिकार बढ्ने सम्भावनालाई दृष्टिगत गरी त्यस्ता सुख्खा क्षेत्रमा पानी पोखरी निर्माण गर्न थालेको हो ।

महानिर्देशक डा. दिपक खराल
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग

बाँके लगायत पर्सा, चितवन, बर्दिया तथा शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पनि पोखरी निर्माण भइरहेको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक डा. दिपक खरालले जानकारी दिएका छन् ।

बाँके राष्ट्रिय निकुञ्जका अनुसार निकुञ्जभित्र सोलारसहितको डिप बोरिङ गरेर यो वर्ष मात्रै पाँचवटा पोखरीको निर्माण भइसकेका छन् भने अरु तीन वटा ठाउँमा पोखरी निर्माणको अन्तिम चरणमा पुगेको छ ।

श्यामकुमार साह
प्रमुख संरक्षण अधिकृत

निकुञ्जका प्रमुख संरक्षण अधिकृत श्यामकुमार साहका अनुसार हाल पोखरी निर्माण भएका क्षेत्रमा पानीका लागि वन्यजन्तुलाई सहज भएको छ । जसले गर्दा वन्यजन्तु राजमार्ग भएर दक्षिणी भेगमा आउने क्रम रोकिएको छ ।

प्रमुख संरक्षण अधिकृत साहले जनाए अनुसार बर्खाको पानी जम्मा गर्नका लागि निकुञ्जभित्र ३० वटा पोखरी खनिएका छन् ।

निर्माण सम्पन्न भइसकेका गोठेरी, गन्धैली, शमसेरगञ्ज नजिक, बुच्चापुर र निकुञ्ज पोस्ट नजिक सोलार डिप बोरिङबाट पानी सञ्चालन हुँदा वन्यजन्तुको लागि पानी खान सहज भएको छ ।
विशेष गरी पाटे बाघ संरक्षणका लागि स्थापना गरिएको बाँके राष्ट्रिय निकुुुञ्जमा छोटो समयमा बाघको संख्या निकै राम्रो देखिएको छ । अघिल्लो बाघ गणनामा निकुञ्जमा २१ वटा बाघ रेकर्ड गरिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here