को हुन् सचिवमा बढुवा भएका डा.राजेन्द्रप्रसाद मिश्र ?

काठमाडौँ । सरकारले कृषि तथा वन समुहबाट डा. राजेन्द्रप्रसाद मिश्रलाई सचिवमा बढुवा गरेको छ । बिहीबार बसेको मन्त्रीपरिषदको बैठकले उनलाई लोकसेवा आयोग बढुवा सिफारिस समितिको सूचीका आधारमा बढुवा गरेको हो । उनी सहित कृषि मन्त्रालयका सहसचिव सञ्जिवकुमार कर्ण र सवनम शिवाकोटी पनि बढुवा सूचीमा परेका थिए ।


रेवतीरमण पौडेलले कृषि मन्त्रालयको सचिवबाट बैशाख २८ गते अनिवार्य अवकाश लिएपछि खाली भएको सिटमा बढुवाका लागि डा. मिश्र सहित कर्ण र शिवाकोटी नाम सिफारिस भएको थियो ।


हाल बढुवा भएका डा. मिश्र सहित कृषि तथा वन समुहमा डा.गोबिन्दप्रसाद शर्मा र डा.दिपककुमार खराल तीन जना सचिव भएका छन् । २०२७ साल कात्तिक १० जन्मेका डा. शर्मा र २०२४ साल चैत १५ गते जन्मेका डा. खराल मध्य अब कृषि तथा वन समुहबाट सबैभन्दा छिटो २०८२ साल चैत १५ गते खराल सेवा निवृत हुनेछन् ।


वन मन्त्रालयबाट पशु सचिवमा सरुवा भएका खराल यस अघि पनि पशु सचिवको जिम्मेवारीमा थिए । सचिवमा पदोन्नती भएपछि करिब अढाई वर्ष कृषि सचिव भएर काम गरेका डा. शर्मा पहिलो पटक वन मन्त्रालयको जिम्मेवारीमा रहेका छन् ।

किसानका असल साथी डा. मिश्र


डा.मिश्रको पदोन्नतीको घटनालाई कृषि मन्त्रालयका कर्मचारीहरुले कामको मूल्याङ्कन भएको टिप्पणी गरेका छन् । कामप्रति इमान्दार रहने र निकै सरल स्वभावका डा. मिश्र कर्मचारी र किसानका सरल साथी मानिन्छन् ।


कमोडिटी मूल्य श्रृंखला विश्लेषण र विकासमा विशेषज्ञता हासिल गरेका डा. मिश्रले कृषि अर्थशास्त्रमा विद्यावारिधि गरेका छन् । कृषि प्रणाली व्यवस्थापनमा स्नातकोत्तर गरेका मिश्रको जागिर अवधि कृषि मन्त्रालयमा निकै लामो समय बितेको छ ।
२८ वर्षको सेवा अवधि पुरा गरेका मिश्रले कृषि विस्तार व्यवस्थापन परियोजना, कृषि विस्तार तथा अनुसन्धान परियोजना, बाली विविधीकरण परियोजना, सिँचाइ तथा जलस्रोत व्यवस्थापन परियोजना, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, कृषि क्षेत्र विकास परियोजनामा रहेर काम गरेका छन् ।


सुदूरपश्चिमको दार्चुला जिल्ला मालिकार्जुन गाउँपालिकामा २०२७ साल मंसिर २९ गते जन्मिएका मिश्रले सरकारी सेवामा २०५२ साल साउन २२ गते प्रवेश गरेका हुन् । विशेष गरी कृषि बजारीकरण, मूल्य श्रृंखला विश्लेषणका दक्षता राख्ने गरेका डा. मिश्रसँग मन्त्रालय र मन्त्रालयका मातहतका बिभिन्न विभागमा रहेर योजना निर्माण, कार्यान्वयन र परियोजनाहरूको अनुगमन र नीति विश्लेषण र कृषि, खाद्य सुरक्षा र सिंचाई व्यवस्थापनको क्षेत्रमा संस्थागत विकासमा प्रभावकारी ढंगले काम गरेको अनुभव छ ।


२०७१ साल माघ २० गते सहसचिवमा बढुवा भएका मिश्रले यस अघि कर्णाली प्रदेशमा कृषि सचिव भएर काम गरिसकेका छन् । डा. मिश्र जलवायु परिवर्तन, खाद्य असुरक्षा लगायतका विषयमा राष्ट्रिय, अन्तर्राष्ट्रिय सम्मेलनमा नेपालका तर्फबाट प्रतिनिधित्व गरिसकेका छन् । डा. मिश्रले नेपालको कृषि व्यवसाय र आपूर्ति प्रणालीको नीति निर्माण, नेपालको कृृषि विकास प्रणालीमा लैङ्गिक अवस्थाको अध्ययनमा प्रत्यक्ष सहभागिता दिएका छन् ।


कृषि मन्त्रालयमा ‘किसानका असल साथी’ भनेर डा. मिश्रलाई चिन्ने गरिन्छ । उनी जहाँ जहाँ जिम्मेवारीमा बसे, किसान केन्द्रित मुद्धालाई अघि सारेका कुरा उनका सहकर्मीहरुले बताउने गरेका छन् । किसानको नाउँमा प्रवाह भएको सेवा, सुविधा जस्ताको तस्तै किसानको घरआँगनामा पुग्नु पर्छ भन्ने अभियानका पक्षपाती डा. मिश्र काममा सम्झौता नगर्ने स्वभावका छन् । हालकै निजामति ऐन अनुसार उनले कृषि तथा वन मन्त्रालयमा बसेर २०८५ साल मंसिर २९ गतेसम्म सचिवका जिम्मेवारीमा रहेर काम गर्ने अवसर प्राप्त गर्ने छन् ।


सचिव बढुवा भएपछि उनले नेपालकथासँग प्रतिक्रिया दिँदै भने, सरकारले दिएको जिम्मेवारी गम्भीर ढंगले पुरा गर्नेछु । सबै सरोकारवालहरुको प्रभावकारी र प्रत्यक्ष सहभागितामा काम गर्दा प्रतिफल पाइन्छ भन्ने मान्यतालाई अझ सशक्त ढंगले व्यवहारमा मैले उतार्ने कोशिस गर्नेछु । सहभागिता र सामुहिकतामा मैले विश्वास गर्छु ।

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here