लुम्बिनीमा पंक्षी विज्ञको महाकुम्भ सुरु

भैरहवा । पंक्षीका अध्येता, अनुसन्धानकर्ता, प्राध्यापक तथा पंक्षी संरक्षणसँग सरोकार राख्नेहरुको तेस्रो राष्ट्रिय कार्यशाला गोष्ठी लुम्बिनीमा सुरु भएको छ । यस अघि सन् २००७ मा पहिलो गोष्ठी लुम्बिनीमा र सन् २०१२ मा दोस्रो राष्ट्रिय कार्यशाला गोष्ठी चितवनको सौराहामा सम्पन्न भएको थियो ।

जलपंक्षी संरक्षण सम्बन्धी तेस्रो राष्ट्रिय गोष्ठीमा जलपंक्षी गणनामा सहभागी स्थानीय संयोजक, पंक्षीविद् तथा पंक्षी संरक्षण सम्बन्धी संस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको छ ।
जलपंक्षी गणना व्यवस्थित र वैज्ञानिक बनाउन सहयोग पु¥याउने उद्देश्यले आयोजित गोष्ठीमा पंक्षी गणनाका नयाँ विधि तथा प्रविधि र अनुभव साटासाट गरिने र आगामी कार्ययोजना बारे छलफल हुने बताइएको छ ।

संघीयताको कार्यान्वायनसँगै हरेक गाउँ बस्तीमा डोजर आतंकले सिमसार क्षेत्र, पानीको घोल तथा मूल, नदी तटीय क्षेत्रहरु अतिक्रमणको चपेटामा परिरहेका बेला हिमाली प्रकृति नामक संस्थाको आयोजनामा भएको राष्ट्रिय गोष्ठीले नेपालका सिमसार संरक्षण तथा वातावरणमैत्री विकास निर्माणका लागि सरोकारवालाहरुलाई उपर्युक्त र ठोस मार्गदर्शनको बाटो सुझाउन सक्ने विश्वास गरिएको छ ।

विकासका नाउँमा जथाभावी खनजोत, औद्योगिक ग्राम स्थापनाका नाउँमा जलाधार क्षेत्रको प्रवाह नगरी गरिएको ठाउँको छनोटले आगामी दिनमा विशेष गरी जलपंक्षीको बासस्थान, आहार तथा समग्र अस्तित्व माथि चुनौती थपिदै गएको छ ।

भगवान गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा सुरु भएको सो कार्यक्रममा लुम्बिनी विकास कोषका उपाध्यक्ष अवधेशकुमार त्रिपाठीले लुम्बिनी क्षेत्र चरा पर्यटनको स्वर्ग भएको दावी गरे । पानी, सिमसार र घाँसे मैदानमा बस्ने ४०० भन्दा बढी चरा लुम्बिनी आसपास देख्न पाईने हुँदा चरा पर्यटनको उत्कृष्ट गन्तब्य लुम्बिनी भएको उनको भनाई थियो ।

सारसलाई नगर पंक्षी घोषणा गरेको लुम्बिनी सांस्कृतिक नगरपालिकाका नगर प्रमुख मनमोहन चौधरीले चराकै महत्व बुझाउन नगरपालिकाले यस्तो घोषणा गरेको जानकारी दिए । लुम्बिनीमा अरु पंक्षी भन्दा सारसको दृश्यावलोकन गर्न निकै मनमोहक मानिन्छ ।

डा. हेमसागर बराल

जलपंक्षी गणनाका राष्ट्रिय संयोजक वरिष्ठ पंक्षीविद् डा. हेमसागर बरालले विश्वमा चरा पर्यटनको आकर्षण र भविष्य निकै राम्रो रहेकोले चरा हेर्नका लागि नेपाल आउने पर्यटकको संख्या
दिनप्रतिदिन बढ्दै गएको चर्चा गर्दै लुम्बिनीमा पर्यटकको बसाँई लम्ब्याउन पंक्षी पर्यटन सहयोग सिद्ध हुनेमा जोड दिए ।

कार्यक्रममा शिबपुरी नागार्जुन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत लक्ष्मण पौड्याल र हिमाली प्रकृतिका कार्यक्रम निर्देशक डा. तुल्सी सुवेदी लगायतले सिमसार क्षेत्र संरक्षण गरेर चरा संरक्षण गर्न खेल्नु पर्ने भूमिकाका बारेमा चर्चा गरेका थिए ।

नेपालमा प्रत्येक वर्ष मध्य हिउँदमा जलपंक्षीको गणना हुने गरेको छ । जसको संयोजन गर्ने काम हिमाली प्रकृतिले गर्दै आएको छ । पंक्षीसँग सरोकार राख्ने व्यक्तिका लागि महाकुम्भ मानिने यो गोष्ठीमा कैलाली, पोखरा, कोशी टप्पु, कपिलवस्तु, रुपन्देही, हेटौडा, बर्दिया, दाङ, चितवन, जनकपुर, नवलपरासी, र कंचनपुर लगायतका ठाउँमा कार्यरत पंक्षीविज्ञहरुको सहभागिता रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here