कसरी जालमा पर्यो बर्दियाका गाउँमा घुमफिर गर्ने डुलुवा बाघ ?

बर्दिया । सामान्यतया बाघको गास, बास कपास जंगलमै हुनु पर्ने हो । तर बुद्धि बिग्रेर गाउँ गाउँ डुल्न थालेपछि बर्दियामा एक डुलुवा बाघ जालमा परेको छ । जंगल छाडेर सानो कोठामा कैद भएको छ ।

उमेर पाको भइसकेको बाघ । झण्डै १२/१३ वर्ष उमेरको । बाघको औसत आयु १५ वर्षको मानिन्छ । बुधवार बिहानै बर्दिया राष्ट्रिय निकुञ्जभित्र मंगलबार एक महिलालाई आक्रमण गरेको जंगल क्षेत्र वरीपरी त्यही डुलुवा बाघ झुल्कियो । दुई दिनदेखि निकुञ्ज तथा राष्ट्रिय प्रकृति संरक्षण कोषको डार्ट गर्ने टोली ढुकेर बसेको थियो त्यही क्षेत्रमा ।

त्यहाँ जडान गरिएका स्पाइस क्यामरामा जब त्यो बुढो बाघ देखियो । त्यहाँ खटिएका प्राविधिकले बाघको पहिचान गर्न थाले । उसको शारिरीक अवस्था, उसको हिडाई, डुलाई हेर्दा सधैँ गाउँ गाउँ डुल्ने बाघसँग मिलेपछि टोली ‘मुभ’ भयो डार्ट गर्नका लागि । बुधवार बिहाना १२ बजेदेखि सुरु भएको डार्टको कार्य दिउँसो करिब ४ बजेसम्म सम्पन्न भयो । तीन वटा हात्ती, २४ जना प्राविधिक तथा सुरक्षा जनशक्तिको प्रयोग गरेर बाघलाई जालमा हाल्न सफलता मिलेको हो ।

बिष्णु प्रसाद श्रेष्ठ
प्रमुख संरक्षण अधिकृत, बर्दिया राष्ट्रिय निकुञ्ज

बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत बिष्णुप्रसाद श्रेष्ठका अनुसार बाघलाई अहिले रम्भापुरको वन्यजन्तु उद्धार घरमा राखिएको छ । हाल सदर चिडियाखानामा बाघ राख्ने ठाउँको अभावले तत्काल यो बाघलाई उद्धार घरमा राखिने भएको छ । केही महिना पहिले यस्तै समस्याग्रस्त भएको अर्काे बाघलाई निकुञ्जभित्रको उद्धार घरमा राखिएको छ ।

महिला खाने बाघ नै हो त ?

गेरुवा क्षेत्रमा विगत एक महिना यता हरेक साँझ जस्तो बाघ देखिन थालेको हो । बाघ देखिएपछि गाउँमा त्रासमय वातावरण हुँदा साँझ नपर्दै मानिसहरु घरभित्र पस्नु पर्ने अवस्था थियो । गाउँलेहरुले दैनिक जसो बाघ आउने गरेको सूचना पाएपछि निकुञ्ज र प्रकृति संरक्षण कोषको टोलीले क्यामरा राखेर बाघको अनुमगन गर्दै आएको थियो । क्यामरामा कैद भएको फोटो र बाघको पञ्जाको अध्ययन गर्दा एउटै बाघ नियमित रुपमा गाउँ पस्ने गरेको स्पष्ट भइसकेको थियो ।

डा. रबिन कडरिया
प्रमुख, प्रकृति संरक्षण कोष बर्दिया

कोषका बर्दिया प्रमुख डा. रबिन कडरियाका अनुसार विगत एक/दुई महिना यता यो बाघले गोठबाट गाई, गोरु, बाख्रा तानेर खाने गरेको थियो । गाई, गोरु, बाख्रा खाएको गोठ वरीपरीको बाघको पञ्जाको अध्ययन गर्दा र क्यामरामा फोटो हेर्दा एउटै बाघले गाउँलेका ४०/५० गाई, गोरु र बाख्रा खाइसकेको थियो ।

बिहीवार नेपालकथासँग डा. कडरियाले भने, मंगलबार निकुञ्जभित्र महिलालाई खाएको घटना भएको स्थान नजिकै देखिएको बाघको स्थिति हेर्दा त्यही गाउँ गाउँ डुल्ने र गाई गोरु खाने बाघ हो भन्ने एकिन भएपछि डार्ट गरिएको हो । गाई, गोरु, बाख्रा खान पल्केको बाघ जंगलभन्दा बस्ती नजिकै घुम्ने, मौका छापेर जे भेटायो त्यही खाने गरेको पाइएपछि यो विधि अपन्याइएको हो ।

गैँडा विज्ञ डा. नरेश सुवेदी
प्रकृति संरक्षण कोष

कोषका गैँडा विज्ञ डा. नरेश सुवेदीका भनाईमा डार्ट गरिएको भाले बाघको अवस्था जंगलभित्र शिकार गरेर खान सक्ने छैन । नङग्रा र दाँत झरेका छन् । हातको पञ्जामा ठूलो चोट लागेको छ । निकै कमजोर अवस्थामा रहेको बाघ जंगलमा दौडिन नसक्ने अवस्थाको भएकाले आहारका लागि गोठ गोठमा पसेर गाई गोरु खाने गरेको देखियो ।

निकुञ्जका प्रमुख संरक्षण अधिकृत श्रेष्ठले भने, हामीले यो बाघको नियमित र सघन रुपले अनुगमन गरिरहेका थियौँ । शंकास्पद बाघ नै समस्याग्रस्त हो भन्ने एकिन भइसकेपछि डार्ट गरिएको हो ।

कति शिकार गर्यो होला यो बाघले ?

गेरुवा क्षेत्रमा आसपासका बस्तीमा पसेर गाई, गोरु तथा बाख्रा खाने सबै घटनामा यो बाघको संलग्नता रहेको पुष्टि भएको छ । मंगलबार पनि निउरो टिप्दै गरेकी महिलालाई झम्टेर महिलाको शब जंगलभित्र लगेर खाएको थियो । बुधवार त्यही ठाउँ वरीपरी पटक पटक देखिएको यो बाघले बर्दियामा अन्य क्षेत्रमा भएको घटना पनि गराएको हो कि भन्ने आशंका गरिएको छ ।

अब के गर्नुपर्छ यो बाघलाई ?

बाघले सकभर जंगलको शिकार गर्छ । तर बुढो भएर नसक्ने भएपछि जंगलको राजा मानिने बाघ पनि गाई, गोरु, बाख्राको शिकार तर्फ पल्किन्छ र मौका परे मानिसको रगतको स्वाद समेत लिने गर्छ । बाघ संरक्षणको अभियानमा यस्ता घटना सधैँ भइरहने गर्छन् । हाल उद्धार घरमा राखिएको बाघले मानिसको रगतको स्वाद लिइसकेको छ र शारिरीक अवस्था हेर्दा उसले जंगलमा शिकार गरेर खान सक्ने अवस्था पनि छैन । आँखा अगाडी चित्तल, हरिण आएपनि कुदेर शिकार गर्न नसक्ने अवस्थाको यो बाघलाई अब पुनः जंगलमा छाड्नु निकुञ्ज प्रशासनका लागि निकै आत्मघाती र चुनौतीपूर्ण हुने देखिन्छ । त्यसैले यो बाघलाई अब उद्धार केन्द्रमा राख्ने वा चिडियाखानामा पाल्नुको विकल्प देखिदैन ।

अब अर्काेको पालो

बर्दियाका बिभिन्न क्षेत्रमा यो वर्ष मात्रै १० जना व्यक्तिको ज्यान गइसकेको छ, बाघको आक्रमणबाट । निकुञ्ज र आसपासका क्षेत्रमा समस्याग्रस्त कति बाघ छन् भन्ने एकिन अझै हुन सकेको छैन । त्यसैले अरु समस्याग्रस्त बाघको खोजीमा निकुञ्ज र कोषको टोली अहिले पनि खटिइरहेको छ । कोष बर्दियाका प्रमुख डा. कडरियाले बिहीवार दिउँसो भने, म अहिले पनि जंगलमा छु । हाम्रो टोली अर्काे समस्याग्रस्त बाघको खोजीमा लागि रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here