रेलको झ्यालबाट छिरेर आए

बाइसे चौबिसे राज्यका पालामा पश्चिम नेपालका राजाहरु शक्तिशाली राज्यका रुपमा लिइन्थे । ती राज्यहरु यति शक्तिशाली थिए कि नेपालले आफ्नो रुपैयाँ निकाल्ने नेपाल राष्ट्र बैँक स्थापना गरिसक्दा समेत पश्चिम नेपालका केही राजाहरुले आफ्नो राज्यमा आफ्नै रुपैयाँ प्रचलनमा ल्याइरहेका थिए । २०१३ सालमा योजनावद्ध विकासका लागि पञ्चवर्षिय योजना सञ्चालन सुरु हुँदा समेत ती राज्यहरुले आफ्नो भूभागमा विकासका योजना सञ्चालन गरिरहेका थिए ।

२००७ सालमा नेपालमा प्रजातन्त्र आयो । २०१७ सालमा राजा महेन्द्रले प्रजातन्त्रको ‘कु’ गरे । त्यो बेला सम्म पश्चिम नेपालको बझाङ राज्य औपचारिक रुपमा नेपालमा गाभिएको थिएन । पछि २०१९ सालमा मात्र राजा महेन्द्रको सेनाले बझाङ्गी राजा ओमजङबहादुर सिंहको सेनासँग लडाइ लड्यो । २०१७ सालदेखि २०१९ सालसम्म राजा ओमजङलाई आत्मसर्पण गर्न कैयौँ पटक आग्रह गर्दा समेत आफ्नो राज्य नछाड्ने उनले घोषणा गरेपछि पहिलो चरणमा २०१९ साल फागुनमा गएको राजा महेन्द्रको सेनाले ओमजङको सेनासँग जित्न सकेन र पछाडि हट्यो ।

पछि चैतमा थप सेना जाँदा तत्कालिन बझाङ्गी राजा चैनपुर दरबार छाडेर आफ्नो सेना सहित दार्चुलाको मार्मा क्षेत्रमा पुगिसेकका थिए । राजा महेन्द्रको सेनाले बझाङ्गी राजा ओमजङगलाई घेरा हाली मार्माको जंगलमा मारेपछि मात्र बझाङ राज्य २०१९ सालमा नेपाल देशमा गाभिएको हो । पश्चिम नेपालका पाल्पा,दैलेख, अछाम, डोटी, बझाङ राज्य त्यतिबेलाका अस्तित्वमा रहेका शक्तिशाली राज्य थिए । त्यसैले पश्चिम नेपालका मानिसका बीच काठमाडौँलाई ‘नेपाल’ भन्ने बढी प्रचलन थियो । राजारजौटाले चलाएको भाषालाई सर्वसाधारणले पनि चलन चल्तीमा ल्याउँदा अहिलेको काठमाडौँ त्यतिबेलाको ‘नेपाल’ कहलिएको थियो । पश्चिमेलीका लागि काठमाडौँ भनेको नेपाल भन्ने बुझिन्थ्यो ।

काठमाडौँदेखि निकै पर रहेको सुदुरपश्चिमबाट काठमाडौँलाई बोलाउनु पर्दा ‘नेपाल’ भनेर प्रष्टयाउनु पर्ने बेलामा त्यो सुदूरबाट काठमाडौँ आउँदाको पीडा, रहर, बाध्यता, उत्सुकता अनि जागरुकतालाई कम आँकलन गर्न सकिदैन्थ्यो । त्यो भेगका सबैले ‘नेपाल’ आउने आँट गर्दैनथे, आँट गरेपनि आउने क्षमता र सामर्थ हुँदैनथ्यो ।

सुदूर पश्चिमको बैतडी जिल्लामा जन्मिएर तत्कालिन अवस्थामा ‘नेपाल’ आएर लेखपढ गरी मुलुकको संरक्षण क्षेत्रमा लामो अनुभव बटुलेका शिबराज भट्टसँग यसपटक आत्म मन्थन स्तम्भ सुरु गरेका छौँ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागमा लामो समय जागिरे जीवन बिताएका भट्टसँग अन्तर्राष्ट्रिय संस्थामा पनि काम गरेको लामो अनुभव रहेको छ । नेपालकथाको यस स्तम्भको पहिलो पाहुना शिबराज भट्टसँगको गरिएको आत्म मन्थन उनकै शब्दमा यहाँ प्रस्तुत गरेका छौँ ।

हाम्रो गाउँ बैतडी सदरमुकामबाट अलि टाढा पर्छ । अहिलेको दार्चुला जिल्ला जाने सडकको छेउको लिस्किटा गाउँ मेरो जन्मथलो हो । मेरो गाउँ सतबाँझको नजिकै छ । हाम्रो अर्काे घर गडागाउँमा पनि थियो । मेरो सालनाल बैतडीको माटोमा गाडिएको हो । घर नजिकै विद्यालय थियो । मैले एसएलसीसम्म बैतडीमा पढे । मेरो परिवार अलि ठूलो थियो । चार ÷पाँच जना दाजुभाई अनि दिदीबहिनी घरभित्र पस्दा त ठूलै जमघट हुने परिवार थियो ।

बुबाको आर्थिक अवस्था राम्रै थियो । छोराछोरीलाई लालन पालन र पढाउने सक्ने हैसियतको थियो । मेरो ठूल्दाईले पिथौरागढ भारतमा आइएस्सी पढ्नु भयो, त्यसपछि बिएस्सी पढ्न काठमाडौँ आउनु भयो । मेरो माइल्दाईले पनि काठमाडौँ पढ्नु भयो । म भन्दा ठूला दुई दाईले भारत र काठमाडौँ पढ्न सुरु गरिसकेकाले मलाई एसएलसी पास गरेपछि कता पढ्ने जाने भन्ने खासै समस्या भएन ।

एसएलसीको फाराम भर्दा पिथौरागडमा खिचेको पहिलो तस्विर र हालको तस्बिर ।

पढाउन सक्ने क्षमता र छोराछोरीलाई पढाउनु पर्ने सचेतना मेरो बुबामा जागिसकेकोले मलाई थप अध्ययनका लागि काठमाडौँ पठाइयो । हाम्रो गाउँघरबाट पढ्न जाने अधिकांश मानिसहरु इण्डिया जान्थे । इण्डिया नजिक थियो, आउन जान सजिलै थियो । मेरो कान्छु बुबाले ऋषिकेश, देहरादुन पढ्नु भएको हो । ठूल्दाईले काठमाडौँको बाटो खोलिदिनु भयो । अनि भारत तर्फ हामी जान परेन ।

मेरो बुबाको घ्यूको व्यापार थियो । गाउँघर वरपरको घ्यू किनेर इण्डिया पठाउने काम गर्नुहुन्थ्यो बुबाले । पछि झुलाघाटमा कपडाको पसल राख्नुभयो । बुबाले घ्यूको व्यापार गर्दा हाम्रो पसललाई त्यतिबेला गाउँघरका मानिसले कम्पनी भन्ने गर्थे । बझाङ, दार्चुला र बैतडीमा त्यतिबेला प्रशस्त गाई भैँसी पालन हुने, गाउँघरमा आम्दानीको स्रोत नै त्यही घ्यू थियो । घ्यू बेच्ने अनि नून, तेल, लत्ता कपडा किनेर गुजरा चलाउने त्यति बेलाको प्रचलन थियो । त्यतिबेला जुन घरमा धेरै गाई भैँसी हुन्थे त्यो घरलाई धनी मान्ने चलन थियो । घर त सबैको हुन्थे नै, खाने खेत सबैसँग हुन्थ्यो र धनी हुनलाई घोडा, भैँसी घरमा पालेको हुनु पर्ने उतिबेलाको अवस्था थियो ।

जन्मस्थल गडागाउँ बैतडीमा भट्ट ।

हाम्रो पसलको घरलाई कम्पनीको घर भन्दा हामीलाई बडो खुसी लाग्थ्यो । बुबाको व्यापारले गर्दा कम्पनीको घरको छोरा हुन पाउँदा । सानो छँदा बुझेर वा नबुझेर रमाउने न हो । घ्यू बेच्न टाढा टाढाबाट मानिसहरु सधैँ हाम्रो घरमा आउने गर्थे । बुबाले घ्यूूलाई कन्टर (टिनको भाँडो) मा राखेर पारी भारत बेच्न लिनुहुन्थ्यो । २० किलोको टिनको भाँडो हुन्थ्यो ।

त्यतिबेला खानको समस्या हँुदैनथ्यो तर पैसाको ठूलो खाँचो हुन्थ्यो मान्छेलाई । पैसा कमाउने बाटो थिएन । के गरेर पैसा कमाउने ? मन भएर पनि पैसा नहुँदा पढाउन सक्ने स्थिति कतिपय मानिसको हुन्थेन । बुबाको व्यापारले गर्दा हामीलाई लेखपढ गर्न सहज भयो । भनेको बेला हामीले पढ्न पाउनु नै हाम्रो भाग्य हो ।

मैले एसएलसी दिएपछि रिजल्ट आएको त कति महिनापछि थाहा पाए । त्यति बेला बैतडीमा गोरखापत्र कहाँ जानु र ? गोरखापत्रमा रिजल्ट आउन्थ्यो । जिल्लामा एउटा आवा सेट हुन्थ्यो । जिल्लाभरीका शिक्षक गएर लाइन बसेर आवा सेटमा आआफ्ना विद्यालयका पास भएका विद्यार्थीको रोलनम्बर टिपेर ल्याउन्थे । हाम्रो स्कुलको सरले पनि कति दिन पछि टिपेर ल्याउनु भयो अनि त थाहा भयो, म पास भएर भनेर । पास हुँदा त भूईमा खुट्टा थिएन नि । त्यति बेला एसएलसी पास हुँदा जिल्लाभरी हल्ला हुन्थ्यो, फलानाको छोरा पास भयो रे भनेर ।

पाटन क्याम्पसका आईएस्सी पढ्ने बेला टुर जाँदा ।

मेरो कान्छु बुबा द्धिजराज भट्ट विद्यालयको हेडमास्टर हुनुहुन्थ्यो । बुबाले कान्छु बुबा र दाईहरुसँग सल्लाह गरेर काठमाडौँ पठाउने आमासँग भनेको सुनेपछि खुबै खुसी भए म । नेपाल (काठमाडौँ) पढ्न पाउने सबैको भाग्यमा हुँदैनथ्यो, त्यतिबेला । मसँग पास गरेका साथीभाई कतिले थप पढ्न पाएनन् पनि । बुबाले पढ्न पठाउने भन्ने बित्तिकै मैले काठमाडौँ पुगिसकेको जस्तै अनुभूति गरी खुसी भएको थिए । त्यति बेला त सायद सबैभन्दा बढी रमाएको केटो मै थिए हुँला ।

काठमाडौँ जानका लागि साइत सारियो । दुख्ख नै थियो, त्यतिबेला हिडडुल गर्नलाई । बाटोघाटो थिएन । काठमाडौँ भनेर दुरको लंका जस्तै मानिन्थ्यो । घरबाट एक दिनभरी हिडेर झुलाघाट बसियो । अर्काेदिन टनकपुर पुगियो । अर्काेदिन लखनऊ पुगियो । अर्काे दिन बल्ल गोरखपुर । सानो उमेरमा पहिलो पटक घर, बाआमा छाडेर हिड्नु । बाटो कता हो कता ? चार दिन लागेर त बल्ल गोरखपुरमा । अनि अर्काे दिन गोरखपुरबाट भैरहवा आइपुगियो । भैरहवामा मिनिबस चढेर पाल्पाको बाटो हुँदै नेपाल (काठमाडौँ) को छिरियो ।

दाईहरुको डेराडन्डा भएकाले म आएर डेरा खोज्नु परेन । आउनासाथ ज्ञानेश्वरमा दाईको डेरामा पसे । कान्छा हलुभाई पसल थियो तलपट्टी । माथि दाईहरुको डेरा थियो । त्यसपछि हामी कमलपोखरी सरयौँ । ठूल्दाई दिव्यदेव भट्टको पढाई साइन्स नै थियो, माइल्दाई राजेन्द्र भट्टले कानून पढ्दै हुनुहुन्थ्यो । माइल्दाईले पछि चिया विकास निगममा जागिर खानु भयो ।

त्रिचन्द्रमा बिएस्सी पढ्ने बेला टुर जाँदा ।

मैले २०३३ सालमा एसएलसी पास गरेको हुँ । म नौ कक्षामा पढ्दा पढ्दै एसएलसीको फाराम भर्नुपर्ने भयो । नेपालमा फोटो खिच्ने ठाउँ थिएन । अनि त्यतिबेला घरबाट धेरै टाढा गएको भनेको पिथौरागढसम्म फोटो खिच्न हो । त्यसपछि घरका बाआमालाई छाडेर काठमाडौँमा आएको हुँ । पिथौरागढमा पहिलो पटक बस गुडेको देख्दा कति खुसी भए म, त्यस्को सीमा छैन, अहिले भन्न सक्दिन, म त्यति सुखी थिए । बस चल्दा हेरेको हरयैँ भएँ म त कति बेरसम्म । त्यति बेलासम्म बस मात्र न देखेको थिए । रेलको बारेमा सुनेको थिए तर चढेको थिएन, देखेको पनि थिएन ।

काठमाडौँ आउँदा मलाई रेल हेर्ने र चढ्ने ठूलो रहर थियो । पिथौरागढबाट टनकपुरसम्म बसमा आइयो । त्यतिबेला बसमा हिड्दा लागेको रिँगटाको अनुभव र बान्ता भएको पीडाले अझै पनि याद आउन्छ । टनकपुरमा हामी पुग्दा रेल आइसकेको थिएन । रेलको बाटो हेरेर बसे । अरु साथीले के सोचिरहेका थिए, था भएन । मलाई भने रेल कति बेला आउला र हेर्ला भन्ने खुल्दुली क्या त्यो बेलाको । रेल आयो, फेरी सिट पाउला कि नपाउला भन्ने डर पनि । टनकपुरमा रेलमा बस्ने सिट मिल्यो, भाग्य नै भन्नुपर्छ ।

रेलको बाटो भएर लखनऊ आइपुग्यौँ । टनकपुर जस्तो सजिलो भएन लखनऊमा । लखनऊमा हामीले रेल चढ्न सकेनौँ । अनि कुल्लीले हामीलाई रेलभित्र फालिदिएको हो । कुल्लीहरुले सामान र मानिस भित्रि फालिएको पाँच रुपियाँ लिएको हामीबाट मलाई अझ याद छ । म त सानो थिए, ढोकाबाट भीडमा चढ्न नसक्ने भएपछि झयालबाट मलाई धकालेर भित्र फालेको हो ।

कलेजका साथीहरुसँग भट्ट ।

हामी चार जना साथीहरु आउँदै थियौँ । दाइहरुले घरबाट काठमाडौँ पुग्दासम्मको बाटोमा कहाँ के चढ्ने, कहाँ ओर्लिने भन्ने पूरै नक्सा त नभनौँ, तर पनि लेखेको चिट खल्तीमा बोकेर राखेको थियौँ । अलमल भयो कि भनेर खल्तिबाट चिट निकाल्दै ठाउँ सोध्दै आएको हौँ ।

काठमाडौँमा आएपछि कलेज कता खोज्ने भन्ने अरु केटाहरु जस्तै मलाई पनि चिन्ता त भयो नै । डाक्टर बन्नु पर्छ भन्ने रहर थियो । गाउँघरमा डाक्टर डाक्टर भनेर कुरा गरेको पनि सुनेको थिए । इज्जतदार पेशा भन्ने सम्म थाहा थियो । अनि त्यसका लागि साइन्स पढ्ने भन्ने भयो ।

इन्ट्रान्स दिएर पाटन क्याम्पसमा भर्ना पाइयो । कमलपोखरी डेराबाट पाटन क्याम्पस पढियो । बिएस्सी त्रिचन्द्रमा भर्ना भयो । त्रिचन्द्रमा दिउसो मात्र पढाई हुन्थ्यो तर हाम्रो व्याज देखि बिहानाको पढाई हुन थाल्यो । दुई वर्षे बिएस्सी पास गरिसकेपछि नेपालमै वन विज्ञान पढाइ हुन थालेको थाहा पाएपछि धेरै जसो साथीहरुले अहिलेको नयाँ विषय वन विज्ञान पढ्नु पर्ने बताएपछि लहलहैमा लागेर साइन्समा बिएस्सी गरेको मान्छे बिएस्सी फरेष्ट्रीतिर धकेलियो भन्नु पर्यो । डाक्टर हुने कुरा त्यति बेला कता हरायो हरायो ।

कलेजका साथीहरुसँग भट्ट ।

अँ, बिचमा तीन महिने क्याप्सुल कोर्ष पनि पढियो । त्यो कोर्ष भनेको रेञ्जर जागिर खाएर बिएस्सी पढ्न आउने र हामी बिएस्सी साइन्सबाट पढ्न गएकालाई समान लेबलको ज्ञान दिनलाई त्यो कोर्ष राखिएको हुन्थ्यो । त्यो बेला हेटौडामा थियो पढाई । फरेष्ट्री पढ्दापढ्दै वाइल्ड लाइफमा मलाई बढी इच्छा भयो । मेरो ठूल्दाई पनि फरेष्ट्रीकै । उहाँसँग पनि सल्लाह लिए । ठूल्दाईले पनि वाइल्ड लाइफ नै पढ भने पछि झन रुची जाग्यो । साइन्स पढेर जाने धेरै जना साथीहरु थियौँ तर म एक्लै भए वाइल्ड लाइफ पढ्ने । हामी २० जना साइन्सबाट गएका विद्यार्थी थियौँ । १९ जनाले अरु विषय लिए । रेञ्जरबाट आएका केही साथीहरुले वाइल्ड लाइफ पढे । वाइल्ड लाइफमा दुर्गम दुर्गम जागिर खानुपर्छ, डिएफो हुन पाइदैन भनेर वाइल्ड लाइफ नपढ्ने रहेछन् जस्तो लाग्छ ।

हेटौँडामा पढ्दा डा.रामप्रसाद लम्साल मेरो रुम मेट हो । उहाँलाई हामीले गुमायौँ । निक्कै दुख्ख लागेको छ । तपाईसँग यो कुरा भन्नु पर्ने अबस्था आयो । लम्सालजी, नरेन्द्रबाबु र म त त्रिचन्द्रबाट बिएस्सीसँगै पढेका साथी हौँ । नरेन्द्रबाबु प्रधान, हेम अर्याल, राकेश कर्ण, राजेन्द्र काफले, सामदेन शेर्पा, चन्द्र गिरी लगायतका साथीहरुलाई तपाई चिन्नु पनि हुन्छ होला । अरु त बाहिर बाहिर छन्, त्यो भएर तपाईको नोटिसमा नआएको पनि हुन सक्छन् । थुप्रै साथीहरु थिए ।

यस्तै हो हेर्नुहोस् जीवन, बाल्यकाल अनि कलेजको ती दिन सम्झिँदा त कस्तो कस्तो फिल हुन्छ, आजकल । (मुसुक्क हाँस्दै ..) अब त बुढो पनि भइयो कि जस्तो पनि लाग्छ ।

(भट्टसँग आत्म मन्थनको दोस्रो भाग अर्काे अंकमा प्रकाशित गर्नेछौँ ः सम्पादक )

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here