काठमाडौँ । हातमा नङ्ग्रा, शरिरमा तागत हुन्जेलसम्म बाघको शिकारी भइरहने चरित्र हुन्छ । तर बानी बदलिदै जाने हो भने मान्छे जस्तै जंगली जनावरले समेत आफ्नै अनुबांशिक सबै चरित्र बदल्दा रहेछन् भन्ने उदाहरण बर्दियाको खाता जैविक मार्गमा बिहीबार समातिएको बयस्क बाघबा पुष्टि भएको छ ।
खाता जैविक क्षेत्रमा स्थानीयले गाई गोरुलाई छाडा रुपमा छाड्न थालेको चार/पाँच वर्ष जति भयो । जंगलमा छाडेको गाई, गोरु कति मरे, कति हराए, कति जिवित छन् भन्ने कुराको एकिन स्थानीयलाई हुने पनि भएन ।
खाता जैविक क्षेत्रमा बाघ नियमित रुपमा हिडडुल गरिरहने भएकाले बयस्क बाघले छाडा छाडिएका गाई, गोरु खान थाल्यो । आहारमा सहजता हुन थालेपछि उसको शिकार गर्ने बानी पनि बिस्तारै परिवर्तन हुन थाल्यो । सेकेण्डभरमा किलोमिटर कुद्न सक्ने बदेल, चित्तल, हरिण भन्दा त झयाप्पै पक्रेर खान सकिने गाई, गोरुको शिकार गर्दा गर्दै बयस्क बाघ पनि अल्छि हुन थाल्दा त्यो बाघ वस्तीमा पसेर गोठ फुटाएर गाई, गोरु, बाख्रा तानेर खान थाल्यो । वनजंगलमा घाँस, दाउरा गर्न गएका तथा गाई, गोरुका गोठालालाई समेत ढुकेर बस्न थाल्यो र त्यही क्षेत्रमा पाँच जना व्यक्तिको ज्यान बाघले लियो पनि ।
गाईवस्तु र मान्छेको रगत मासु खान स्वाद परेपछि शिकार गर्न सक्ने हट्टाकठ्ठा बाघ पनि अल्छि भएर बस्तीमा पस्ने बानी हुँदो रहेछ । यो समस्याका लागि स्थानीय बासिन्दा सचेत र सजग हुनु जरुरी देखिएको छ ।
विगत दुई महिना यता यो बाघले दर्जनौँ गोठबाट गाई, गोरु तथा बाख्रा खाइसकेको छ । एकै रात पाँच घरको गोठ पसेर गाउँभरी आतंक मच्चाएपछि बर्दिया राष्ट्रिय निकुञ्ज, राष्ट्रिय प्रकृति संरक्षण कोषको टोलीले सीसी क्यामराद्धारा सघन रुपमा अनुगमनमा राखेको थियो । एउटा त्यही बाघ धेरै पटक क्यामरामा कैद भइसकेको थियो ।

विगत एक हप्तायता खाता जैविक क्षेत्रमा सघन रुपमा बाघको अनुगमन भइरहेको थियो । मंगलबार निकुञ्जभित्रै एक महिलालाई बाघले आक्रमण गरेपछि खाता क्षेत्रमा झन निगरानी बढाइएको थियो ।
कसरी फन्दामा पर्यो ?
बुधवार दिउँसो निकुञ्ज,कोष तथा स्थानीय प्रशासनको संयुक्त टोलीले एउटा समस्याग्रस्त बुढो बाघलाई नियन्त्रण लिएपछि ध्यान खाता जंगलको समस्याग्रस्त बाघतिर सोझिइसकेको थियो । बुधवार साँझ जंगलमा राखेको आहार बाघले खाइसकेको थियो । क्यामरामा त्यही बाघ परेको थियो । बिहीवार बिहानै देखि निकुञ्ज, प्रकृति संरक्षण कोष, वन कार्यालय, शसस्त्र, नेपाल प्रहरी, नेपाली सेनाको टोली त्यो बाघलाई नियन्त्रणमा लिन कस्सियो । नभन्दै आहारा खाएको ठाउँ नजिकै हात्तीहरुले रेकी लगाउँदा बाघ फेला पर्यो । डार्ट गर्ने टोलीले नियन्त्रणमा लियो । तीन वटा हात्ती, नेपाली सेना, निकुञ्ज, कोष तथा वन कार्यालयका प्राविधिक, नेपाल प्रहरी, शसस्त्र प्रहरी, स्थानीय जनप्रतिनिधि लगायतका टोलीले डार्ट गर्न सकेको हो ।
समस्या छैन त अब बर्दियामा ?
बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत बिष्णु प्रसाद श्रेष्ठका अनुसार तत्कालका लागि दुई वटा समस्याग्रस्त बाघ नियन्त्रणमा आएपनि मानव वन्यजन्तुबीचको द्धन्द्ध सदाका लागि निमिट्यान्न भएको भन्ने होइन । एउटा बाघ त बुढो भएर शिकार गर्न नसकेर गाउँघरमा डुल्दै फिर्दै मान्छे पाए,मान्छे, पशुवस्तु पाए पशुवस्तु खाएर हिड्न थालेपछि समस्या भएको थियो । तर खाता क्षेत्रको बाघ त शिकार गर्न नसक्ने पनि होइन, बस्ती नकिजैको जंगलमा गाई, गोरु तथा बाख्रालाई सहजै आहार पाउन थालेपछि यो बाघ समस्याग्रस्त भएको हो । स्थानीय बासिन्दा यस्ता सानातिना कुरामा सचेत भएन भने यो समस्या फेरी अर्काे बाघमा पनि देखिन सक्छ ।
शारिरीक अवस्था तथा उमेर हेर्दा यो समस्याग्रस्त नहुनु पर्ने बाघ पनि समस्याग्रस्त भयो । यसको प्रमुख कारण स्थानीय बासिन्दाका आनीबानी तथा व्यवहार पनि जिम्मेवार छन् । वनजंगलमा गाई गोरु छाडा छाड्ने, अनि जतिबेला पनि जंगल छिर्ने बानीले यो बाघको बानी बिग्रदा बाघ गाउँ बस्तीमा आएर आक्रमण गर्ने तहसम्म पुगेको देखिन्छ ।
राष्ट्रिय प्रकृति कोष बर्दियाका प्रमुख डा. रबिन कडरियाले नेपालकथासँग भने, बर्दियामा बाघ छन् । बाघ हिडडुल गर्ने ठाउँमा मानिसले सचेत भएर नजाने, छाडा गाईवस्तु नछाड्ने लगायतका सचेतना नअपनाएमा फेरी पनि यस्ता समस्या देखा परिरहन्छन् । त्यसैले स्थानीय समुदायको सचेतना नै बाघको समस्या समाधान गर्ने एक उपाय हो ।