सौराहा । विश्वमै दुर्लभ मानिएको तर नेपालमा पाइने एक सिँगे गैँडाको राष्ट्रिय गणना सोमवारबाट सुरु भएको छ । यो गैँडाको छैठौँ राष्ट्रिय गणना हो ।
सन् १९९४ बाट सुरु भएको राष्ट्रिय गणनाको क्रममा पाँचौँ राष्ट्रिय गणनामा सन् २०१५ मा भएको थियो । एकसिँगे गैँडा पाइने तराईका शुक्लाफाँटा, बर्दिया, चितवन र पर्सा राष्ट्रिय निकुञ्जमा गणना गरिने छ । गणना कार्यमा एक महिना लाग्ने भएको छ ।
पर्सा राष्ट्रिय निकुञ्जको रमौली प्रतापुर फाँटामा सोमवार मन्त्री प्रेमबहादुर आलेले हात्तीमा चढेर गैँडा गणनामा प्रयोग गरिने तालिम प्राप्त हात्तीको लस्करलाई सिटी फुक्दै उद्घाटन गरेका छन् । सो अवसरमा वन तथा वातवारण मन्त्रालयका सचिव डा. विश्वनाथ ओली, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक डा. दिपककुमार खराल र राष्ट्रिय योजना आयोगका सदस्य डा.केपी ओलीले पनि हात्ती चढेर मन्त्री आलेलाई साथ दिएका थिए ।
सोमवारै पर्सा राष्ट्रिय निकुञ्जको रमौली प्रतापुर फाँटाबाट गैँडाको गणना गरिएको छ । पर्सा र चितवन राष्ट्रिय निकुञ्जलाई १९ वटा ब्लकमा बिभाजन गरिएको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका इकोलोजिष्ट हरिभद्र आचार्यले जानकारी दिएका छन् ।
उनका अनुसार यही चैत १७ गतेबाट बर्दिया राष्ट्रिय निकुञ्ज र १९ गतेबाट शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पनि गणनाको काम सुरु हुनेछ ।
गैडा गणना कार्यमा चितवनमा ४२ वटा, बर्दियामा नौ वटा र शुक्लाफाँटामा पाँच वटा हात्ती प्रयोग गरिने छन् । गणनामा एक करोड १० लाख रुपियाँ लाग्ने अनुमान गरिएको छ । सरकारले ८० लाख रुपियाँ बजेट विनियोजन गरेको थियो भने बाँकी संरक्षण साझेदार संस्थाहरुले सहयोग गरेका छन् ।
गैँडा गणनाका लागि संरक्षण साझेदार संस्थाहरु राष्ट्रिय प्रकृति संरक्षण कोष, विश्व वन्यजन्तु कोष, जेडएसएल, आइयूसिएन लगायतका संरक्षण साझेदार संस्थाहरुले सरकारलाई विगतदेखि नै प्राविधिक तथा आर्थिक सहयोग गर्दै आएका छन् ।
गैँडा गणना शुभारम्भ कार्यक्रममा संरक्षण साझेदार संस्थाका प्रतिनिधि, विभागका प्राविधिक टोलीको सहभागिता रहेको थियो ।
विभागको टोली चितवनमा
गैँडा गणना कामलाई प्रभावकारी रुपमा सञ्चालन गर्न विभागको इकोलोजिष्ट हरिभद्र आचार्यको नेतृत्वमा प्राविधिक टोली चितवनमा खटिएको छ । गणना कामलाई सहजीकरण गर्न राष्ट्रिय प्रकृति संरक्षण कोष, जेडएसएल लगायतका संरक्षण साझेदार संस्थाका प्रनिनिधिहरुको पनि सक्रिय सहभागिता रहेको छ ।
(थप फोटो फिचर)










